पैँयूमा डम्पिङ साइट बनाउँदै

पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले १० करोडमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो । पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा–५ मा स्थानीयवासीले निःशुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो ।


गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनको लागि करिब १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । जसका लागि गाउँपालिका–५ का वडावासीले जग्गा प्रदान गरेको उनले बताए ।

वडा–५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्नेे पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । फोहोरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहोरलाई मोहोरमा बदल्ने गरी कामअघि बढेको उनले बताए ।

यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी यसलाई व्यवस्थित बनाइने भएको छ । यो परियोजना लागू भएपछि स्थानीयवासीलाई रोजगारीसमेत हुने अध्यक्ष ठकुरीले बताए । गाउँपालिका फोहोरमैला व्यवस्थापनबारे गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत गरेको छ । गाउँपालिकाअन्तर्गत हातेमालोचोक, हुवारबजार, भोर्लेबजार, त्रिवेणी, सरौँ लगायतका क्षेत्रमा बजारीकरण बढ्दै गएको छ ।

प्रतिक्रिया