तनहुँमा महिला र दलितलाई पुरोहित तालिम

तनहुँ । विश्वहिन्दु महासंघ शुक्लागण्डकी नगर समितिले महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । आठ जना दलित समुदायका सहभागीसहित पैतीस जनालाई समितिले तीन वर्षदेखि तालिम प्रदान गर्दै आएको हो ।

समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्वेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्वि हुन थालेको छ ।

कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच वृद्वि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त तालिममा विभिन्न समुदायका आठ महिलासमेत सहभागी भएका छन् । उनले भन्नुने, ‘यस कार्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।’ तालिममा सहभागि भएका जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताए ।

समुदायमा बाहुन पुरोहित नजाने, आफ्नै समुदायमा भएका केही पुरोहित नभ्याउने समस्याले पूजाआजामा विधि अनुरुप गर्न पाइएको थिएन । उनले भने, ‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिएको हुँ ।’

तालिममा सहभागी मध्येकी लक्ष्मी सिग्देलले स–साना कार्यमा पनि पुरोहित नै बोलाउनु पर्ने झन्झटले कठिनाई भोग्नुपरेको बताइन् । आफैले ज्ञान सीप सिकेको अवस्थामा परिवार र समाजमा सहज हुने उनको विश्वास छ । दुलेगौंडास्थित शिवालयमा सञ्चालित तालिममा सहभागि भएकाहरु मध्ये अधिकांशलाई धर्मको जगेर्नाप्रति चासो छ ।

प्रतिक्रिया