
काठमाडौं । हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका चार जनाको ज्यान गएको छ । घटना आइतबार दिउँसोको हो । चंखेली गाउँपालिका-६ को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनका अनुसार ज्यान गुमाउनेहरू देउच्या सार्कीका परिवारका सदस्य हुन् ।
पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र ३ जना घाइते भएका छन्। प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ । चारजनाको शव भने पुरिएकै अवस्थामा घरभित्र रहेको परियारले बताइन्। लगातार वर्षा भइरहेका कारण शव निकाल्न नसकिएको उनले जानकारी दिइन् ।
पछिल्लो समय लगातारको वर्षाका कारण पहिरो जाँदा एकसाताको अवधिमा प्युठान, कालिकोट, काठमाडौं र हुम्लामा गरी १८ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया