सल्यानमा प्रकाश ज्वालाको उम्मेदवारी दर्ता, १६ जनाले गरे उम्मेदवारी

सल्यान । सल्यानमा एकीकृत समाजवादीका महाससचिव प्रकाश ज्वालाको उम्मेद्वारी दर्ता भएको छ । ज्वालाले सल्यानबाट प्रतिनिधिसभा सदस्यदका लागि सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका राजेन्द्र विक्रम रायले उम्मेदवारी दर्ता गराएका छन् । उनी केही दिन अगाडी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । यस्तै प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्रलाल श्रेष्ठ, नेकपा मालेबाट भीमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा र स्वतन्त्रबाट राजेन्द्रबहादुर शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रदेश ‘क’ बाट सत्तारूढ गठबन्धनबाट एकीकृत माओवादीका भीम प्रकाश शर्माले उम्मेदवारी दिएका छन् । शर्मा यस अघिको निर्वाचनबाट निर्वाचित कर्णाली प्रदेश मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थिए । यस्तै प्रदेश ‘क’ बाट एमालेका कुलबहादुर गिरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवबहादुर वली, स्वतन्त्रबाट एकराज डाँगी र तुले सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश ‘ख’ बाट सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट सुरेश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी यस ०७४ सालको स्थानीय निर्वाचनमा शारदा नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए । । यस्तै एमालेबाट गुलावजंग शाह, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट नारायण कुमार शर्मा र जनमुक्ती पार्टीबाट डण्डवीर पुनले उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्रबाट निर्मल सिंहले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसले आफूलाई दिएको मानसम्मान र हैसियत प्रदान गर्ने कांग्रेस आजकै मितिदेखि परित्याग गरेको उल्लेख गरेपछि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेश सह महामन्त्री एकराज डाँगीले पनि कांग्रेस परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूले गठबन्धनको नाममा वहुदलीय व्यवस्थामाथि नै प्रहार गरेको भन्दै विद्रोह गरेको जनाएका छन् । जिल्ला पार्टीमा कांग्रेसभित्र देखिएको आन्तरिक कलह भने साम्य भएको बताइएको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा व्यापक विरोधमा देखिएका नेपाली कांग्रेसका जिल्लास्तरका नेता भने आज एउटै मञ्चमा देखिएका छन् ।

प्रतिक्रिया