सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान कुमाख गाउँपालिका– ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनलाई सामन्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसैवीच दुर्घटनमा परी गम्भिर घाइते भएकी एक सुत्केरी महिलालाई भने नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएकी सुनिता बोहरा पुन मगर र उहाँको ६ महिनाको छोरीको अवस्था जटिल भएपछि सल्यान अस्पतालमा उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

सुनिताको हात, घाँटी लगाएतमा गम्भिर चोट लागेको छ भने शिसुको अवस्था भने सामन्य रहेको छ । केही दिन अगाडी मात्रै सल्यानको कपुरकोट गाउँपालिका ३ मुलपानीमा जिप दुर्घटना हुदा ९ जनाको मृत्यु भएको थियो । जिल्लामा चाडपर्व नजिकिदै गर्दा जिल्लामा ठुला दुर्घटनामा बृद्धि हुन थालेको छ ।

प्रतिक्रिया