चुनावी तालमेलका लागि साना दल बटुल्दै एमाले

कांग्रेसका असन्तुष्टहरूसँग एमालेको वार्ता ।

विन्दुकान्त घिमिरे

आमनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिकदलहरू आआफ्नो चुनावी रणनीतिमा व्यस्त देखिएका छन् । सत्तारूढ पाँच दल आपसी तालमेलद्वारा चुनावमा होमिने निश्चित भइसकेको छ । यस्तो अवस्थामा नेकपा एमाले बाहेकका साना दलहरूले एक्लै चुनावमा जाँदा प्राप्त हुने परिणामको हिसाबकिताब गरिरहेका छन् । गत स्थानीय निर्वाचन मात्रै होइन त्यसअघिका सबै निर्वाचनको परिणाम हेर्ने हो भने पाँच दलीय साझा उम्मेद्वारविरुद्ध लडेर चुनाव जित्न सानादलहरूका लागि असंभव जस्तै छ । सानादलमध्ये पनि मधेस केन्द्रित लोसपाले एक÷दुई सिट जित्ला, तर राप्रपा, नेपाली कांग्रेस बिपी, अहिले चर्चामा आएको रवी लाछिानेको स्वतन्त्र, समीक्षा बाँस्कोटाको विवेकशील साझा लगायतका पार्टीहरूले एक्लाएक्लै लडेर एक सिटमा पनि चुनाव जित्ने अवस्था छैन । रविन्द्र मिश्रको राप्रपा प्रवेशपछि विवेकशील साझा पार्टी थप संंकटमा परेको छ ।

अरू साना दलको त कुरै छाडौँ सत्तारूढ दलबीचको चुनावी तालमेल कसिलो बन्यो भने अघिल्लो आमनिर्वाचनको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई समेत १०÷१५ भन्दा बढी सिटमा चुनाव जित्न हम्मेहम्मे पर्ने अवस्था छ । यस्तो अवस्थामा साना पार्टीहरूलाई १५ ÷२० सिट दिएर बृहत् चुनावी गठबन्धन बनाउने रणनीतिमा नेकपा एमाले देखिएको छ ।

समाचारमा आएअनुसार दुवै वटा राप्रपा, महन्थ ठाकुर नेतृत्वको लोसपा, नेपाली कांग्रेस बिपी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, रवि लामिछानेको स्वतन्त्र पार्टीसँग नेकपा एमालेले तालमेलका लागि कुरा अघि बढाएको छ । तर, राजेन्द्र लिङ्देनको राप्रपाले हैसियतभन्दा बढी सिट मागेका कारण कुरा मिलिरहेको छैन । अरू साना पार्टीहरूलाई भने एक÷दुई सिट दिने गरी कुरा मिलाएको छ ।

यता नेकपा एमालेले राजनीतिमा संलग्न पूर्वप्रहरी नेताहरूलाई पनि विश्वासमा लिने प्रयास गरेको छ । नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमि बोकेका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई तनुहँ क्षेत्र नं १ बाट कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध खडा गर्ने रणनीति एमालेले बनाएको छ । त्यसका लागि एमालेले विधिवत रूपमा पूर्वआइजिपी खनाललाई पार्टी प्रवेश गराइसकेको छ ।

कांग्रेसका असन्तुष्ट एमाले टार्गेट

अघिल्लो आमनिर्वाचन तथा गत स्थानीय निर्वाचनको मत परिणम हेर्ने हो भने राप्रपा र लोसपाभन्दा नेपाली कांग्रेस बिपीको हैसियत निकै तल छ । तर, एमालेले चुनावी तालमेलका लागि राप्रपा र लोसपालाई भन्दा बिपी कांग्रेसलाई प्राथमिकतामा राखेको छ । एमालेले राप्रपा र लोसपालाई भन्दा बिपी कांग्रेसलाई प्राथमिकतामा राख्नुको निश्चित कारण छ, त्यो कारण हो, ‘नेपाली कांग्रेसको भोट घटाउनु ।’ जसरी नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ, त्यसरी नै नेपाली कांग्रेसबाट फुटेर बिपी कांग्रेस बनेको हो ।

नेपाली कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ताहरू बिपी कांग्रेसमा लागेका छन्, तर बिपी कांग्रेस एक्लैले चुनाव जित्ने अवस्था नभएका कारण नेपाली कांग्रेसको जनमत बिपी कांग्रेसतिर खासै आवद्ध भएको छैन । जसरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दुई÷चार सिट जिताएर पार्टीको अस्तित्व जोगाउन नेपाली कांग्रेस अग्रसर भएको छ, त्यसरी नै बिपी कांग्रेसलाई दुई÷चार सिट जिताएर पार्टीको अस्तित्व जोगाइदिने रणनीतिमा एमाले देखिएको छ ।

बिपी कांग्रेसले दुई÷चार सिट जित्ने पूर्वानुमान हुनासाथ नेपाली कांग्रेसको उल्लेख्य जनमत बिपी कांग्रेसतिर आकर्षित हुने अवस्था छ ।
यता नेकपा एमालेलाई प्रतिस्पर्धा गर्न अप्ठेरो हुने भनेको नेपाली कांग्रेसका उम्मेद्वारसँग हो । बिपी कांग्रेस जगाएर नेपाली कांग्रेसको भोट घटाउने रणनीतिमा एमाले देखिनुको मुख्य कारण यही हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच पटकपटक भेटवार्ता भएको छ । एमाले र बिपी कांग्रेससँगै निर्वाचनमा जानेबारे व्यापक छलफल भएको वरिष्ठ उपसभापति मल्लले बताएका छन् । उनका भनाइ छ, ‘आसन्न निर्वाचनमा हाम्रो पार्टी र एमाले सँगसँगै जनताका बीचमा जाने कुरामा पनि व्यापक छलफल भयो । दुई वटै पक्षले एकआपसमा बसेर गृहकार्य गरी चाँडै टुंगो लगाउने सहमति पनि भएको छ ।’

बिपी कांग्रेसका वरिष्ठ उपसभापति मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस बिपीबीच चुनावी तालमेल भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले मतदान गरेको वडामा बिपी कांग्रेसले चुनाव जितेको थियो ।

समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सक्ने हैसियतमा बिपी कांग्रेस छ । तर, एमालेको सहयोगविना प्रत्यक्षतर्फ एक सिट पनि जित्न सक्ने हैसियतमा बिपी कांग्रेस छैन । प्रत्यक्षतर्फ एक सिट पनि नजिते समानुपातिक तर्फका भोट गोलखाडी हुन्छन् । त्यसैले गोलखाडीमा जाने गरी भोट हाल्न मतदाता तयार हुँदैनन् । बिपी कांग्रेसको मुख्य संकट भनेकै यही हो ।

बिपी कांग्रेस राष्ट्रिय पार्टी बन्छ भन्ने सन्देश प्रवाह हुनासाथ नेपाली कांग्रेसका उल्लेख्य परम्परागत मतदाताहरूले बिपी कांग्रेसलाई ह्वात्तै साथ दिने अवस्था छ । नेपाली कांग्रेसले यतिबेला आफ्ना परम्परागत मतदातालाई सन्तुष्ट बनाउन सकेको छैन ।

एमालेसँग राप्रपाको बार्गेनिङ

गत आमनिर्वाचनको मत परिणाम हेर्ने हो भने राप्रपा राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको सानो पार्टी हो । तर अहिले पनि राप्रपाले मुलुकको तीन वटा कित्तामध्ये एउटा कित्ताको प्रतिनिधित्व गरेको छ । मुलुकमा लोकतन्त्रवादी, कम्युनिस्ट र दक्षिणपन्थी गरी तीन वर्गको जनमत छ । यही तीन वटा वर्गमा नेपालको राजनीतिक विभाजित छ ।

जसमध्ये लोकतन्त्रवादी कित्ताको मूलधार नेपाली कांग्रेस हो, जसको पक्षमा करिब ३० प्रतिशत जनमत रहिआएको छ । कम्युनिस्ट कित्ताको मूलधार नेकपा एमाले हो, जसको पक्षमा करिब ३० प्रतिशत जनमत रहिआएको छ । दक्षिणपन्थी कित्ताको मूलधार राप्रपा हो, जसको पक्षमा करिब १० प्रतिशत जनमत रहिआएको छ ।

तर राप्रपामा व्यक्तिवादी नेताहरू हावी भएका कारण आफ्नो भागको १० प्रतिशत जनमत पनि राप्रपाले जोगाउन सकेको छैन । यही १० प्रतिशत जनमतको आडमा मधेसीदल र माओवादीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्, तर जनमतका हिसाबले उनीहरूकै हाराहारीमा रहेको राप्रपा व्यक्तिवादी चरित्रका कारण अस्तित्व रक्षाको संघारमा छ ।

यतिबेला एमाले तथा साना दलसँग बस्तुनिष्ठ तालमेल गर्न राप्रपा सफल हुने हो भने धेरै नै प्रगति गर्न सक्ने अवस्थामा छ । तर, तालमेलका लागि राप्रपाले निकै धेरै सिट दावी गरेको छ । समाचारमा आएअनुसार राप्रपाले २५ सिट मागेको छ , तर एमालेले पाँच सिटभन्दा बढी नदिने भनिरहेको छ ।

कतिपय जिल्लामा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि तालमेल गर्नुपर्ने वाध्यतामा नेकपा एमाले छ । तर लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपाबीच कुरा पानी बाराबार भएका कारण समस्या उत्पन्न भएको छ । उदाहरणका लागि मकवानपुर क्षेत्र नं १ लाई लिन सकिन्छ । यो क्षेत्रमा दुई वटा राप्रपा एक भई विष्णुबहादुर सिंह वा कमल थापा मध्ये एक जनालाई अघि सार्ने हो र एमालेको साथ लिने हो भने सजिलै चुनाव जित्न सक्ने अवस्था छ । तर विष्णुबहादुर सिंह र कमल थापा एक ठाउँमा उभिने संभावना छैन । मकवानपुरमा जम्मा दुई वटा मात्रै क्षेत्र छन् । एउटा क्षेत्र विष्णुबहादुर सिंह र अर्को क्षेत्र कमल थापालाई छाड्न एमालेका लागि सहज छैन ।

यदि राप्रपाले करिब १० सिटमा चित्त बुझायो भने एमालेको नेतृत्वमा साना पार्टीको बीच बलियो चुनावी तालमेल हुने अवस्था छ । मुलकका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा राप्रपाको सांगठनिक भोट भनेको सरदर तीन हजारको हाराहारीमा हो । तर, केही निर्वाचन क्षेत्रमा व्यक्तिगत जनाधार बलियो भएका नेताहरू छन् । एमालेको साथ सहयोग पाए भने ती नेताहरूले सजिलै चुनाव जित्न सक्छन् ।

एमालेको सहयोग पाउनासाथ झापामा राजेन्द्र लिङ्देन र भक्ति सिटौलाले सजिलै चुनाव जित्ने अवस्था छ । यसैगरी एमालेको सहयोग पाउनासाथ काठमाडौं क्षेत्र नं ७ बाट पनि मज्जाले चुनाव जित्न सक्ने अवस्थामा राप्रपाका उम्मेद्वार धु्रवविक्रम मल्ल छन् । काठमाडौं १ मा पनि राप्रपाका रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई हम्मे हम्मे पार्ने अवस्था छ ।

यसैगरी भक्तपुरमा गणेशबहादुर खत्री, धादिङमा बुद्धिमान तामाङ, सिन्धुपाल्चोकमा पशुपति शमशेर राणा पनि एमालेको सहयोग पाउनासाथ चुनाव जित्ने अवस्थामा छन् । नवलपरासीमा ध्रुवबहादुर प्रधान, रूपन्देहीमा दीपक बोहोरा, बाँकेमा धवलशमशेर राणा पनि एमालेको साथ सहयोग पाउनासाथ चुनाव जित्ने अवस्थामा छन् । चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले एमालेको पूरा साथ पाए भने माओवादीका प्रचण्डलाई फलामको च्युरा हुने अवस्था छ । तर यी १० जना बाहेक पनि थप अरू सिटमा राप्रपाले बार्गेनिङ ग¥यो भने भुँइको टिप्न खोज्दा पोल्टाको पोखिने संभावना छ ।
यता मधेस केन्द्रित पार्टी लोसपा र एमालेबीच तालमेल हुँदा मधेस प्रदेशमा दुवै पार्टीको पोजिसन निकै राम्रो हुने अवस्था छ । मधेस प्रदेशको राजमार्ग साइडमा एमालेको पकड निकै बलियो छ, भारतीय सीमा क्षेत्रमा लोसपाको पकड पनि बलियो छ । राजमार्ग क्षेत्र र भारतीय सीमा क्षेत्रको मत एउटै उम्मेद्वारलाई खसाउन एमाले र लोसपा सफल भए भने सत्ता गठबन्धनका लागि निकै भारी पर्ने निश्चित छ ।

रामचन्द्र पौडेललाई चुनौती

पूर्व आइजिपी सवेन्द्र खनाल तनुहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने गरी एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध चुनाव लडाउन किन पूर्वआइजिपी खनाललाई नै रोज्यो त ? भन्ने प्रश्नको उत्तर निकै पेचिलो छ ।
पूर्वआइजीपी खनाललाई एमालेले हचुवाको भरमा अघि सारेको होइन । नेपाली कांग्रेसको भोट तान्न खनालबाहेक अर्को उपयुक्त पात्र नदेखेरै हो । पूर्वआइजिपी खनालका आठ जना दाजुभाइ छन् । उनका नजिकका खलक तथा निकट तानेदारको मात्रै तनहुँ क्षेत्र नंं १ मा करिब दुई हजार मत छ । त्यो मत अहिलेसम्म नेपाली कांग्रेसले एकलौटी रूपमा प्राप्त गर्दै आएको थियो । अब त्यो मत खनालले पाउने लगभग निश्चित छ ।

तनहुँमा कांग्रेसको संगठन बलियो बनाएको श्रीभद्र शर्मा, गोवर्धन शर्मा लगायतले हो । पूर्वआइजिपी खनालले त्यसैको लिगेसी बोकेका छन् । पछिल्लो समयमा तनहुँमा जातीय फ्याक्टरले पनि ठूलो भूमिका खेलेको छ । जैशी बाहुनबाहेक दायाँबायाँ हेर्न नसकेको आरोप कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलमाथि लाग्दै आएको छ । धेरै सिनियरहरू रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, धु्रव वाग्ले, पुष्प पराजुली लगायतलाई भित्तामा पु¥याएर आफ्नै जातभात भित्रका जुनियर शंकर भण्डारीलाई पौडेलले च्यापेको आरोप लागेको छ । तनहुँका युवा राजनीतिक विश्लेशक कर्णवीर आले भन्छन्, ‘रामचन्द्र पौडेल र शंकर भण्डारी नाम गरेका दुई जना जैशीहरूले तनहुँ कांग्रेसको राजनीति नियन्त्रणमा लिएको उपाध्याय बाहुन, कुमाई बाहुन र क्षेत्रीहरूले रुचाएका छैनन् । गुरुङ, मगर, नेवार र दलित समुदाय पनि रामचन्द्र पौडेल र शंकर भण्डारीको गठजोडबाट बिच्किएको छ ।’

यही फ्याक्टरलाई मध्यनजर राख्दै गोविन्दराज जोशीको डिजाइनमा चुतुर नेता केपी शर्मा ओलीले सर्वेन्द्र खनाललाई अघि सारेका हुन् । खनालको भाइ भैयाद तथा नातेदारको नेटवर्क मात्रै ठूलो होइन कि, उनका यजमानहरूको संख्यासमेत निकै ठूलो छ । सर्वेन्द्र खनाल राजनीतिक परिवारकै हुन् । प्रहरीमा भर्ती हुनुभन्दा पहिले पनि उनी नेविसंघको राजनीतिमा अग्रमोर्चामै थिए ।

प्रतिक्रिया