झापाको विर्तामोडमा सुविधासम्पन्न ‘सुगम’ र ‘हरिहर’ कोलनी निर्माण हुँदै

इलाम । विगतमा उपत्यकामात्रै केन्द्रित रहेको हाउजिङको विकास पछिल्लो समय मोफसलमा समेत सुरु भएको छ । व्यवस्थित आवासको विकास गर्ने उद्देश्यका साथ पूर्वी नेपालको झापास्थित विर्तामोडमा पहिलोपटक दुईवटा कोलोनीको निर्माण कार्य तीब्र रुपमा बढेका छन् ।

शिवम् हाउजिङ प्रालिले सुगम र हरिहर कोलोनी नामक दुई वटा व्यवस्थित कोलोनीको निर्माण कार्य तीब्र पारेको हो । कम्पनीले अर्बौंको लागानीमा ‘सुगम र हरिहर’ कोलोनी निर्माण कार्य अघि बढाएको छ ।

सुविधासम्पन्न कोलोनीमा आ-आफ्नै विशेषता रहेको छ । सुगम कोलोनी १ विघा १५ कठ्ठा ६ धुर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ २७ वटा घर बन्नेछ । प्रत्येक घर १५ धुर अर्थात ८ आनामा बन्ने घर दुई तल्लाको हुनेछ ।

जसमा सरकारको मापदण्डअनुसार खुल्ला क्षेत्र, ३५ फिटको फुटपाथसहितको बाटो, इलेक्ट्रिक, इन्टरनेट सम्पूर्णको अन्डरग्राउन्ड वायरिङ हुनेछ । कम्पनीले सो क्षेत्रमा सामूदयिक भवन पनि निर्माण गर्नेछ । जसमा स्वीमिङ पुल, मल्टिपरपोज कम्युनिटी हल, हेल्थ क्लब, कम्यूनिटी अफिस र लाइब्रेरी समेत हुनेछ । साथै, सुगम कोलोनीमा खुल्ला हरियाली क्षेत्र, पर्याप्त खानेपानी सुविधा, २४ घण्टा सिसिटिभी सर्भिलेन्स, भूकम्प प्रतिरोधी घर र ढलको राम्रो व्यवस्थापन, पर्याप्त पार्किङ हुने कम्पनीको व्यवस्था हुने कम्पनीले जनाएको छ ।

त्यससँगै कोलोनी रनिङ ट्रयाक, चिल्ड्रेन पार्क, ड्राई फाउन्टेन, गार्डेनसहितका सामूदायिक जमघट स्थल बन्नेछ ।

पूर्वपश्चिम राजमार्गको १.८ किलोमिटरको दूरीमा रहेको सुगम कोलोनी बिर्तामोडको हर्कलाल मार्गमा छ । कम्पनीले प्रत्येक घरको अढाई करोड रुपैयाँसम्म तोकेको छ ।

हालसम्म २३ वटा घर बुकिङ भएर घर नै बनिसकेको इलाममा आयोजित अन्तरक्रियामा शिवम् हाउजिङका संचालक सदस्य दिपेन्द्र पौडेलले जानकारी दिए । बाँकीको समेत बुकिङका लागि कुराकानी भइरहेको पौडेलले जनाए ।

त्यस्तै कम्पनीले विर्तामोड क्षेत्रका ५ विघा ५ कठ्ठा क्षेत्रफल जग्गामा ६२ युनिट घरसहित ‘हरिहर कोलोनी’ निर्माण गरिरहेको छ । कम्पनीले हरिहर कोलोनीमा भने परिवारको आकारअनुसार कोलानी निर्माण गर्ने जनाएको छ । बिर्तामोड ६ स्थित बुट्टाबारीमा निर्माण भइरहेको सो कोलोनी विभिन्न टाइपमा छुट्टाछुट्टै बन्नेछ ।

हरिहर कोलोनीमा पनि फुटपाथसहितका फराकिला सडक, कम्युनिटी हल, स्विमिङ पुल, फिटनेस सेन्टर र सामूदायिक कार्यालयको सुविधा हुनेछ । साथै, भूकम्प प्रतिरोधी हरेक घरमा पर्याप्त पार्किङ समेत हुनेछ । साथै, अन्डरग्राउन्ड केवलिङ र राम्रो ढल व्यवस्थापन गरिने कम्पनीको भनाइ छ ।

त्यहाँ ५२ वटा घर बुकिङ भई निर्माण कार्य धमाधम भइरहेको पौडेलले बताए । बाँकी घर बुकिङ नभएपनि कम्पनीले आफैं निर्माण गर्ने र पछि ग्राहकलाई एकमुष्ठ रकममा विक्री गर्ने उनले बताए । ‘सुरुमा नै बुकिङ गर्ने ग्राहकलाई हामी विभिन्न किस्तामा रकम लिएर घर निर्माण गरिरहेका छौं’ पौडेलले भने, ‘बुकिङ नभएको घर हामी आफ्नै लगानीमा बनाउँछौं । पछि एकमुष्ठ मुल्यमा बेच्छौं ।’ बुकिङ भएको घरभन्दा एकमुष्ठ निर्माण भएको घर खरिदमा केही महँगो पर्नेछ । अर्को वर्षसम्ममा घरधनीलाई हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढाएको पौडेलले बताए । कम्पनीले निर्माण भइरहेका ती घरको शुरुवाती मूल्य १ करोड २० लाख रुपैयाँदेखि साढे ४ करोडसम्म मूल्य तोकेको छ ।

तीन वर्षदेखि निर्माण कार्य शुरू गरिएको उक्त कोलोनी पूर्वी नेपालमा निर्माण हुन लागेको पहिलो हाउजिङ हो । मिक्स कल्चर भएको मानिसको बसोबास रहेको बिर्तामोडमा विभिन्न पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्ट भएको र दार्जलिङ, सिक्किमका मानिसहरू बिर्तामोड आएर ओभरनाइट स्टे गरेर गर्दै आएका छन् । सबैको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको उक्त क्षेत्रमा पहिलो चरणमै शिवम् कम्पनीले २ वटा हाउजिङ सुरु गरेको हो ।

प्रतिक्रिया