६५ विपद प्रभावितलाई तीन लाख बढी राहत

रुकुमपूर्व । सिस्ने गाउँपालिकाले विभिन्न प्राकृतिक विपदमा परेका ६५ जनालाई राहत वितरण गरेको छ । अविरल वर्षात, बाढीपहिरो र हावाहुरीका कारण घरबास, अन्नपात, जग्गाजमिन, खेतिपाती र घट्टमा क्षति पुगेका विपद प्रभावितलाई गाउँपालिकाले राहत स्वरूप नगद वितरण गरेको हो ।

गाउँपालिकामा विपद् प्रभावितले दिएको निवेदन, घटना स्थलको फोटो, प्रहरी मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस र विपद् पीडितको नागरिकतामाथि थप जाचँबुझ गरी राहत वितरण गरिएको गाउँपालिकाका प्रशासन सहायक पूर्णबहादुर बिएमले बताए ।

उनका अनुसार पूर्ण र आंशिक प्रभावितको वर्गीकरण गरी राहत वितरण गरिएको छ । ६ पूर्ण र ५९ आंशिक विपद प्रभावितलाई ३ लाख ३० हजार ५ सय रुपैयाँ राहत वितरण गरिएको बिएमको भनाइ छ । पूर्णले १५ हजार रुपैयाँ पाउँदा आंशिक प्रभावितले न्यूनतम दुई हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म पाएका छन् । उनीहरूलाई विपद्को प्रकृति हेरी राहत उपलब्ध गराइएको छ ।


बाढी, पहिरोबाट घरबास गुमाउन पुगेका, लगाएको बर्खेबाली, पाइप तथा विद्युतीय घट्टमा क्षति पुगेकालाई राहत वितरण गरिएको हो । उनीहरूलाई गाउँपालिका स्तरीय वन वातावरण तथा विपद् व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । उनका अनुसार समितिले विपद्बाट पूर्ण रूपमा घर गुमाएकालाई १५ हजार र आंशिक क्षति भएकालाई आठ देखि १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै बाढी पहिरोका कारण अन्य भौतिक संरचनाको क्षति भएमा दुई देखि पाँच हजार, हावाहुरीबाट अन्य कुनै अन्नबालीमा क्षति भएमा दुई देखि चार हजार, विपद्का कारण पानी र विद्युतीय घट्ट पूर्ण रूपमा क्षति भएमा पाँच हजार र प्राकृतिक प्रकोपका कारण मानवीय क्षति भई मृत्यु भएमा १५ हजार राहत दिने निर्णय गरेको थियो । सोहीअनुसार राहत वितरण गरिएको छ । सबैभन्दा बढी ५ र ६ नम्बर वडाका विपद् प्रभावितले गाउँपालिकाबाट राहत लिएका छन् । विपद्बाट गाउँपालिकामा मानवीय क्षति भने भएको छैन ।
राहतको लागि गाउँपालिकामा माग गरेका सबैलाई राहत उपलब्ध गराउने अध्यक्ष रेग्मीले बताए । ‘माग गरेका अधिकांशले राहत पाएका छन्’ रेग्मीले भने’, माग गरेका तर राहत नलिएकालाई पनि वितरण गर्छौं ।’

प्रतिक्रिया