
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चाडपर्व नजिकिएसँगै सवारी साधनमा चेकजाँचलाई तीव्रता दिएको छ । लामो तथा छोटो दुरीका सवारी साधानहरूले चाडपर्वको समयमा बढी भाडा लिन सक्ने भएकाले यसलाई रोक्न लमजुङ प्रहरीद्वारा चेकजाँच कार्य सञ्चालन गरिएको हो । उक्त कार्य सञ्चालनका क्रममा बुधबार काठमाडांैबाट लमजुङ बेँसीसहरका लागि छुटेको तीन वटा माईक्रो बसले ७ सय १० भाडादर कायम भएकोमा प्रतिव्यक्ति एक हजार लिएको र बसले ६ सय ५० भाडादर कायम भएकोमा प्रतिव्यक्ती एक हजार लिएको हुनाले तीन वटा माइक्रोबस र एउटा बसलाई आवश्यक कारबाही गरिने भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार कारबाहीका लागि पूर्वाधार विकास कार्यालय र यातायात शाखा लमजुङमा पठाई प्रतिसवारी १० हजारका दरले दुई माइक्रो बस समितिलाई बुधबार नै जरिवाना गरिएको छ भने बाँकी दुई वटा सवारीलाई कारबाही गर्ने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदिश रेग्मीले बताए । उक्त प्रक्रिया ३१ भदौमा बसेको भाडा निर्धारण समितिको बैठकले निर्णय गरेको हो ।
बैठकले लमजुङबाट छुट्ने सवारी साधनहरूको भाडादर कायम गरे पश्चात चाडपर्वलाई विषेश ध्यानमा राखी यातायात व्यवसायीहरूद्वारा यात्रुहरूलाई बढी भाडा लिने, दुःख दिने गरेको गुनासो आएकोले यस्तो प्रकारको कार्यलाई नियन्त्रण र निर्मुल पार्नका लागि जिल्ला प्रहरीद्वारा कडाइका साथ चेकजाँच अभियान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

लमजुङ
प्रतिक्रिया