बेनी–जोमसोमको पीर ‘काभ्रेभिर’

गलेश्वर । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभिर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको सो सडक खण्ड भएर नियमितरूपमा जोमसोम–बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताए । हिउँद याममा स्तरोन्नति गरिएको सडक बर्खायाममा बिग्रदा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ ।
उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभिर लगायतका सडकमा वर्षाले दुःख दिने गरेको छ । बर्खायामको लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताए ।

गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ । यहाँ सामान्य वर्षा हुनासाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीय श्याम खत्रीले बताए । सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुंगे भिरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका– ६ का कृष्ण बरुवालले बताए ।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डकोे विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको भए तापनि काभ्रेभिर भौगोलिक रूपमा नै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताए ।

पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका उनको भनाइ रहेको छ । बेनी–जोमसोम खण्डमा चार÷पाँच ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (१ सय १० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ । त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्र हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटक अप्ठेरोमा परेका छन् । सडक खण्डअन्तर्गत तातोपानीको पोखरी, नागढुंगा, दानाको गुइँठे, काभ्रेभिर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूवनोट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एक मात्र राजमार्गको आधादर्जन ठाउँमा तल र माथिबाट खसेको पहिरोले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन ।

भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डमा करिब पाँच अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भइरहेको छ । २ अर्ब ४० करोड लागतको तल्लो खण्डमा विस्तार र कालोपत्र गर्ने र २ अर्ब ६० करोडको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया