डेंगुबाट एकै दिन चार जनाको मृत्यु

काठमाडौं । देशव्यापी रूपमा फैलिएको डेंगुको संक्रमणले पछिल्लो समय विकराल रूप लिँदै गएको छ । डेंगुका कारण एकै दिन चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा डेंगुका बिरामीको संख्या २७ हजार ५ सय ६९ पुगेको छ । यो वर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ५ सय ८९ जना डेंगुका बिरामी भेटिएका छन् । बागमति प्रदेशमध्ये पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी डेंगुका संक्रमित भेटिएका छन् ।

डेंगुको संक्रमण तीव्र रूपमा फैलँदै गएपछि उपत्यकाका अस्पतालहरूमा उपचार गराउन आउनेहरूको भिड बढेको छ । डेंगुका बिरामीको बढ्दो चापका कारण उपत्यकाका कुनै सरकारी अस्पतालमा बेड (शय्या) पाउनसमेत नसकिने अवस्था छ ।
गत साउन १ गतेदेखि हालसम्म प्रदेश–१ मा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकी प्रदेशमा ६ सय ५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ८ सय २१ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले नै लगाउँदै आएका छन् । उनीहरूले डेंगु नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

डेंगु संक्रमितको संख्या बढिरहेकाले आवश्यक सतर्कता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगुको बिरामी नेपालमा पहिलोपटक ०६१ सालमा भेटिएको थियो । त्यसयता पटकपटक नेपालमा डेंगुका विरामी भेटिएका छन् । तर, यो वर्ष भने डेंगुको संक्रमणले विकराल रूप लिएको छ ।
यसैबीच, सरकार संवेदनशील नहँुदा डेंगु रोग महामारीकै रूपमा फैलिएको विज्ञहरूले बताएका छन् । उनीहरूले डेंगु जोखिम बढ्दै गएको र यसले महामारीकै रूप लिन सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीले अहिलेकै गतिमा डेंगु फैलिए योभन्दा बढी भयावह अवस्था आउने बताए ।

सरकारले डेँगुलाई प्राथमिकतामा नराख्दा यस्तो स्थिति आएको उनले बताए । ‘बग्ने पानीमा लामखुट्टेले फुल पार्दैन । जमेको पानीमा फुल पार्छ । लामखुट्टे अत्यन्त चलाख प्राणी हो’, उनले भने, ‘जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौँ ।’ उनले डेंगु रोकथामका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिए । उनले डेंगुको संक्रमण मधेसका जिल्लामा अझ फैलन सक्ने चेतावनी पनि दिए ।

यसैगरी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्यविज्ञ डा.डिबी ठाकुरले डेंगु जनस्वास्थ्य समस्या बनेको बताए । उनले सरकारले तत्काल डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया