दसैँमा मासुको अर्थतन्त्र

नेपालीहरूको महान चाड बडादसैँ भोलिदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु हुने बडादसैँ विजयादशमीका दिन देवी विसर्जन गरी समापन हुन्छ । १० दिनसम्म धुमधामका साथ मनाइने चाड भएका कारण पनि बडादसैँ भन्ने गरिएको हो । विजयादशमीका दिन देवी विसर्जन गरिए पनि टीका लगाउने चलन पूर्णिमासम्म हुन्छ । दसैँ पर्वको मुख्य आकर्षण भनेको मासु, रंगीचंगी लुगाफाटो र मान्यजनबाट आशिष लिने हो ।

बडादसैँ शक्ति प्राप्तीको लागि आराधना गरिने चाडपर्व भएका कारण पशु बलि लिने चलन छ । जसका कारण दसैँ र मासु एकअर्काका पर्याय जस्तै बनेका छन् । शाकाहारीका लागि बाहेक मासुविनाको दसैँ हुँदैन । मासु खानका लागि चाडपर्व नै पर्खनुपर्ने वर्गको जनसंख्या नेपालमा उल्लेख्य छ । जतिसुकै विपन्न भए पनि दसैँमा प्रसस्त मासु खाने तथा खुवाउने चलन छ । जसका कारण दसैँका अवसरमा मासुको खपत अत्यधिक बढ्ने गर्छ । नेपालमा वर्षभरी मासुको जति खपत हुन्छ त्यसको ३० प्रतिशत खपत दसैँका अवसरमा मात्रै हुने गर्छ ।

त्यसैले दसैँपर्वमा अर्थतन्त्रमा मासुको स्थान सबैभन्दा बढी छ । प्रायः सबै घरपरिवारको सबैभन्दा धेरै खर्च मासुमै हुन्छ । सरकारी तथ्यांकअनुसार दसैँको अवधिमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसी/बोका र च्याङ्ग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । प्रतिकेजी सरदर ७ सय रुपैयाँको हिसाब गर्ने हो भने पनि करिब ७० अर्ब रुपैयाँ हुन्छ । यो त बजारको मात्रै तथ्यांक हो । आफ्नै घरमा पारेका खसी/बोका आफैँले उपयोग गरेको तथ्यांक हिसाब गर्ने हो भने यसको दोब्बर हुन्छ ।

केही वर्ष अघिसम्म भारतबाट खसीबोका तथा तिब्बतबाट भेडा च्याङ्ग्रा आयात अत्यधिक हुन्थ्यो । जसका कारण नेपालबाट ठूलो परिमाणमा रकम बिदेसिने गथ्र्यो । तर पछिल्ला वर्षहरूमा खसीबोकामा नेपाल करिबकरिब आत्मनिर्भर छ । खसीबोकाको आन्तरिक व्यपारका कारण सहरको पैसा गाउँ जान थालेको छ । जसलाई सकरात्मक रूपमा लिनुपर्छ । विदेशबाट खसीबोका आयात गर्न कडाइ गरिएपछि नेपालका ग्रामीण भेकहरूमा बाख्रापालन फष्टाएको छ । तर, चोरी पैठारी नियन्त्रण हुन सकेको छैन । खुला सिमानाको फाइदा उठाएर चोर बाटोबाट भारतीय खसीबोका ल्याएर खोरमा पाल्ने र दसैँका बेला बेच्ने समस्या तराईमा देखिएको छ । यसरी आयात भएको खसीबोकाका कारण नेपाली किसान मारमा परेका छन् ।

खसीबोका बेचेर दसैँ मनाउन आवश्यक अन्य वस्तुको जोहो गर्नुपर्ने वाध्यतामा अधिकांश किसान छन् । दसैँका लागि भनेर दुई वटा पाठा हुर्काउने, एउटा आफैँले खाने र अर्को बिक्री गरेर अन्य खर्च जुटाउने चलन छ । किसानहरूको यो वाध्यतालाई दलालहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेका छन् । किसानहरू सस्तोमा खसीबोका बिक्री गर्न बाध्य छन् । उपभोक्ताहरू महँगोमा मासु किन्न बाध्य छन् । उदाहरणका लागि किसानहरूले जिउँदो खसी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्छन् । काठमाडौं उपत्यकामा खसीको मासुको बजार मूल्य प्रतिकेजी १४ सय रुपैयाँ छ । यो तथ्यांकले पनि किसान र उपभोक्ता के कसरी ठगिएका छन् ? आफ्नो जिम्मेवारीमा राज्य कहाँनिर चुकेको छ ? भन्ने स्पष्ट हुन्छ । हरेक दसैँमा मासुको मूल्य करिब २५ प्रतिशत महँगो हुने र वर्षभरी नै त्यही मूल्य कायम रहने गरेको देखिन्छ । तर, विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने मासुको मूल्यमा खासै वृद्धि भएको देखिन्न ।

कोभिडका कारण क्रय शक्ति घटेको र भेटघाट तथा आवतजावत कम भएका कारण दसैँमा मासुको खपत अप्रत्यासित बढेन, जसका कारण आकस्मिक मूल्यवृद्धि हुन पाएन । तर, यसपटक नेपालीहरू कोभिडमुक्त दसैँ मनाउँदै छन् । त्यसबाहेक पनि आमनिर्वाचन सन्निकट आएको छ । निर्वाचनको पूर्वसन्ध्यामा मासु र रक्सीको चलखेल हुने नै भयो । जसका कारण यो दसैँमा खसीको मासुको मूल्य अप्रत्यासित वृद्धि हुनसक्छ । सर्वसाधारण उपभोक्ता मारमा पर्न सक्छन् । त्यसैले राज्य संयन्त्रमा रहनेहरू चनाखो हुनु जरुरी छ ।

प्रतिक्रिया