महामारीको रूप लिदैं डेंगु

काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ । भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।


सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिनाअगाडि नै सुरु गरेको भए अहिलेको अवस्था नआउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल आइपुगेपछि आफूले त्यति बेला नै घर–घरमा डेंगी संक्रमण पुगेको महसुस गरेको बताए । डा. पुनले अहिले आफूले एक दिनमा ७०÷८० जनासम्म डेंगीका बिरामी जाँच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या नेपालमा मात्र नभई विश्वभर नै भएको बताए ।

प्रतिक्रिया