दुई करोड लागतमा बालसुधार गृहको भवन निर्माण

बाँके । डुडुवा गाउँपालिका–६ मा बाल सुधार गृहका लागि साढे दुई करोडको लागतमा सुविधासम्पन्न भवन निर्माण गरिएको छ । वडा–६ स्थित जयन्दु बालसुधार गृहका लागि नयाँ संरचना निर्माण गरिएको हो । सुधार गृहको तीन तले नवनिर्मित भवनको नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्घाटन गरेकी छन् । उक्त भवन ०७८ असार ३० गतेबाट निर्माण सुरु भएको थियो ।

भवनको निर्माण कार्य तोकिएको समयभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको बालसुधार गृहले जनाएको छ । यादव कन्स्ट्रक्सनले २ करोड २५ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरेको हो । उक्त अवसरमा मन्त्री रेग्मीले समयमै निर्माण कार्य सक्ने निर्माण कम्पनीलाई कार्यक्रममा मन्त्री रेग्मीले सम्मान गरेकी थिइन् ।
भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सुधार गृहलाई प्रभावकारी बनाउन तालिम तथा शिक्षाको व्यवस्थामा सुधार ल्याउने बताएकी छन् । सुधार गृहमा रहेका बालकहरूको बाँच्न पाउने, पढ्न पाउने हकको सुनिश्चित सरकारले गर्ने उनले बताएकी हुन् ।
तीन तले भवनमा १० ओटा कोठा छन् । डाइनिङ हल, स्टोर किचन, सेक्युरिटी रुम, अध्ययन कक्ष, पुस्तकालय, काउन्सिलिङ रुम, प्राथमिक उपचार कक्ष, मेडिटेसनहल छन् । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत युसेप नेपाल नाम गैरसरकारी संस्थाले व्यवस्थापन गरिरहेको सुधार गृहमा मात्र ७० जनालाई राख्ने क्षमता छ ।

तर, अहिले १ सय १२ जना बालक यहाँ बस्नुपरिरहेको छ । सुुधार गृहका इञ्चार्ज किमला काउयचाका अनुसार नयाँ बनेको भवनका पाँच वटा कोठामा मात्रै बालक राखिनेछ ।

सुधार गृहमा रहेको विद्यालयलाई स्वीकृति दिनुपर्ने, कर्मचारी तथा सुरक्षाकर्मी थप्नुपर्ने माग मन्त्रीसमक्ष गरिएको छ । कक्षा पाँचदेखि कक्षा ८ सम्म पढाइ हुने भनिएको विद्यालयलाई स्वीकृति नदिइएको र शिक्षकहरू पनि नदिइएको भन्दै सुधार गृहका जग्गादाता जयकेश सिंहले भवन उद्घाटन विद्यालयलाई स्वीकृति दिन कार्यक्रममा माग गरेका थिए ।

बालसुधार गृह रहेको जमिन नेपाल सरकारलाई दान गरेका जग्गा दातालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्मान गरेकी छन् । मन्त्री रेग्मीले सुधार गृहलाई चार बिघा दुई कठ्टा जमिन दान गर्ने नेपालगञ्ज–९ निवासी जयकेश सिंह र इन्दु सिंह दम्पत्तिलाई दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मान गरेकी हुन् ।

यसैगरी जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द्रप्रसाद पाण्डेले उक्त बाल सुधार गृहलाई पाँच सय थान पुस्तक हस्तान्तरण गरेका छन् । गृहमा आश्रित बालकलाई पढ्नका लागि सहयोग होस भन्ने उद्देश्यले पुस्तक संकलन गरेर सहयोग गरिएको पाण्डेले बताए । उनले आफ्नै समन्वयमा पुस्तक र सात वटा बुक दराज संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीमार्फत गृहमा रहेको पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । सामाजिक अभियान्तासमेत रहेका पाण्डेले बाल सुधारका गृहका लागि पुस्तक नामक अभियान नै चलाएका थिए ।

अभियानअन्तर्गत मदन पुरस्कार गुठीले सय थान, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सय थान पुस्तक सहयोग गरेको उनले बताए । सेन्चुरी कर्मसियल बैंक लिमिटेड नेपालगञ्जले सात थान दराज र ५० थान पुस्तक, माछापुच्छे« बैंक लिमिटेड नेपालगञ्जले दुई थान दराज र ५० थान पुस्तक सहयोग गरेको पाण्डेको भनाइ छ ।

यस्तै माछापुच्छे पुस्तक भण्डार नेपालगञ्ज, निमा पुस्तक पब्लिकेसन काठमाडौं र एभरेस्ट पुस्तक भण्डार काठमाडौंले समान ५०÷५० थान गरी कुल १ सय ५० थान पुस्तक सहयोग गरेको उनले बताएका छन् ।

प्रतिक्रिया