एलिजाबेथको अन्त्येष्टिमा राष्ट्रपति मुर्मु

लण्डन । भारतका राष्ट्रपति द्रौपदी मुर्मु बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा भाग लिन लण्डन पुगेकी छन् । भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलायतको औपचारिक भ्रमणमा आएकी हुन् । सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ ।

भारतका राष्ट्रपति महारानीको कफिनाई समाधिस्थ गरिनेस्थलमा उपस्थित हुने र बकिङघम दरबार नजिकस्थित ल्यान्कास्टर हाउसमा भारत सरकारको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन् । उनी सोमबार बिहान ११ बजे हुने अन्त्येष्टि सेवाअघि बकिङघम दरबारमा विदेशी नेताका लागि राजा चाल्र्स तृतीयद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।

त्यसपछि उनी बेलायतका विदेश, राष्ट्रमण्डल र विकास मामिलामन्त्री जेम्स क्लिभरलीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुने कार्यक्रम छ । बेलायतकी पूर्वराष्ट्रप्रमुख तथा राष्ट्रमण्डल प्रमुख महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा २३ भदौमा स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा निधन भएको थियो ।

बेलायत साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा तथा स्थिरताको प्रतीक उनी ७० वर्षसम्म राजसिंहासनमा रहिन् ।

प्रतिक्रिया