पहिरोले बास पुरिएपछि वृद्ध दम्पतीको बिचल्ली

बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिए, ढालानाथ ।

बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उनलाई यो घर छोड्न पटक्कै मन छैन । तर, ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सकेनन् । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो ।

बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो । ‘बैँशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा–आमाले छाडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बूढाबूढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु’, पर्खालको छेउमा बसेर पहिरोले अँठ्याउनै लागेको घर देखाउँदै पौडेलले भने, ‘मेरो पसिना यही थियो बाबु, कान्छा छोराले सहयोग गरेर बनाएको बास हो, पहिरोले नासियो ।’

केही दिनयता उनी ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आएका छन् । उनको मनले घर छाड्न मानिरहेको छैन । त्यसैले त दिनमै दश पटक त्यही घरको आँगनमा पुग्छन् । भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरो खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालनाथ गोठमा भैँसी दुहुँदै थिए ।

घरजस्तै थियो गोठ पनि । गाउँभरि धाँजा फाटेपछि सम्भावित जोखिमको आँकलन गरेर गाउँ पुगेका वडाध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उनलाई भैँसी दुहुँदादुहुँदै तानेर ल्याए ।

भैँसी फुकाए र सुरक्षित ठाउँमा पुर्याए । ‘उनीहरुले नतानेको भए म गोठमै पुरिने रहेछु, भैँसी बाँच्यो’, पहिरोले पुरिएको गोठ देखाउँदै उनले भने, ‘घर न गोठ, खेती न पाती भयो ।’ पहिरोले नजिकै रहेको पाखोबारी र खरबारी सबै पुरेको छ ।

पत्थर माथिको समथर जमिनमा कहिल्यै यस्तो पहिरोको जोखिम होला भनेर आफूले कल्पना नगरेको उनले सुनाए । ‘मैले जानेदेखि यहाँ ठूलो पहिरो खसेको देखेको थिइनँ, अहिले त के भएको हो, गाउँ नै उठाउने पहिरो आयो’, उनले भने ।

पहिरोबाट विस्थापित भएकामध्ये ढालानथको दम्पती सबैभन्दा धेरै समस्यामा छ । गाउँमा उनीजस्तै सात परिवारले आफ्नो घरगोठ छाडेका छन् । तल्लो रामतोलामा नै पहिरो खसेकोभन्दा केही तल बसाइँ सराइ गरेर गएकाहरुको खाली घरमा पीडित परिवार बसेका छन् ।

भदौ २२ गते गाउँमाथि रहेका पानीको ट्यांकीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अडिएको पहिरोको माटोले रामतोलाका घर पस्ने जोखाना हेरिरहेको छ । ‘ठूलो आवाज आयो, अब बाँचिएन भन्ने लागेको थियो’, स्थानीय पीडित पवित्रा केसीले भनिन्, ‘दिउँसै भएकाले भागाभाग गरियो, रातमा पहिरो खसेको भए त होसहवास उड्ने थियो ।’

घर छाडेर अर्कैको घरमा बसेको भए पनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाइन् । ‘अहिले ठूलो पानी परेको छैन, ठूलो पानी पर्यो भने हाम्रा घर राख्दैन होला’, उनले भनिन्, ‘हामी पीडित भयौँ, कहीँकतै सुरक्षित ठाउँमा व्यवस्था गरिदिए हुने ।’

यहाँ खसेको पहिरोका कारण रायडाँडामा सात परिवार र जैमिनी नगरपालिकाको वडा नं १ कुश्मीशेरा, वडारमा चार परिवार विस्थापित भइसकेका छन् । विद्युत्, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।

बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ ।

घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।

‘पहिरो खस्नुको कारणका विषयमा खोजी र पीडितको उचित व्यवस्थापनका लागि हामीले अध्ययन गरिरहेका छौँ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, ‘थप क्षति हुन नदिनका लागि सजगता अपनाउन जरुरी देखिन्छ ।’– तारानाथ आचार्य रासस

प्रतिक्रिया