मनाङ । मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये सात वटा चौरी एकैसाथ मरे । समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ ।
यहाँ पालिएका याक र चौरीमा धेरै ¥याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने र श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छा गुरुङले बताए ।
मनाङ ङिस्याङ–२ घ्यारुस्थित चार हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये तीन वटा याक र तीन वटा चौरी मरे । यही समयमा मनाङ ङिस्याङ–५ भ्राकामा पर्ने चार हजार पाँच सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका तीन वटा चौरी र एउटा याक मरे ।
धमाधम याक र चौरी मर्न थालेपछि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए र सिरम स्याम्पल लिइएको थियो ।
मृत्यु भएका याक र चौरीबाट भने टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमूना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा आठ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा सात सय २२ वटा याक र चौरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।
पशु प्राविधिकले विस्तृत रूपमा भेटनेरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । पशुमा भ्यागुते रोग लागेको आशंका गरिएको छ ।
भदौ ७ गते पहिलो पटक नमून पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमून संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले बताए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमूनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।
प्रतिक्रिया