तिजको सांस्कृतिक महत्व

—ई.प्रकाश काफ्ले

‘जेलैमा हो जेलैमा चरी जेलैमा’ बाह्रैमास सुन्न–हेर्न नपाइने यस्ता नेपाली गीत–संगीत नारी विशेष पर्व हरितालिका तिजमा सुन्न र गाउन पाइन्छ । चाडपर्वले भरिपूर्ण हाम्रो देश कला र संस्कृतिमा एकदमै धनी छ, जसको महत्व विश्वव्यापी रुपमै रहेको पाइन्छ । त्यसैको एउटा उपज हो तिज । नेपाली हिन्दु नारी र दक्षिणी भारतमा समेत मनाइने तिजका विभिन्न प्रकारहरु (हरियाली, हरितालिका, काजरी आदि) छन् ।

मनपरेको वर पाउन जंगल गई १० वर्षसम्म तपस्या गर्दा पनि पार्वतीले फल नपाएपछि शिवलिङको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । यसबाट भगवान शिव प्रकट भई आर्शिवाद दिएपछि पार्वतीको बिहे भएको थियो भन्ने किवंदन्ती छ । यही व्रत बसेको दिन भाद्र शुक्ल तृतीया नै हरितालिका तिजको दिन हुन पुग्यो । यो पौराणिककालदेखि चलेको परम्परा हो ।

तिजको अघिल्लो दिन राती दर खाने र भोलिपल्ट निराहार व्रत बस्ने चलन छ । व्रतको समयमा तिजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाइ दान गर्ने गरिन्छ । भगवान् शिवले पार्वतीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले भनेको कथा नै व्रतकथा हो । यसैले तिज शिवको आराधना गरी स्वतन्त्र, मनोरञ्जनात्मक, उल्लासपूर्ण वातावरणमा मनाइने चाड हो । नयाँ लुगा, गरगहना, शृंगार यस चाडको अर्को विशेषता हो ।

वसन्त ऋतुसँगै हरियाली बोकेर आउने, माना रोपेर मुरि उब्जाउने वर्षात्सँगकोे थकान मेटाउने समयमा यस पर्व पर्ने गर्दछ । कामको फुर्सद र वर्षात् पनि हट्दै जाने भएर होला यो पर्व भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने गरिन्छ । वर्षाको समय भए पनि केही छैन महिलाहरु वर्षेभेल तर्न तयार छन् । हिलाम्मे आँगनमा छमछमको जमघट गराउँछन् । अनि मादलको घिनताङ, छनछन चुराको झँकार, पाउँजुको छमछम मधुरताले बच्चाबच्चीदेखि बुढाबुढी सबैलाई तानी एक ठाउँमा ल्याउँछ ।

भाँचिएला कम्मर, सुनिएला खुट्टा, बस्ला स्वर तर ज्यानभन्दा प्यारो छ, तिज नारीलाई । हुन पनि किन नहोस् चाडको विशेषताको मौका छोप्दै वर्षभरिका आफ्ना वेदना धोको फेरेर पोख्न पाउँछन् । तिज माइत जाने र परिवारसँग खाने, बस्ने रमाउने र उनीहरुका लागि मनका कुरा धित मर्ने गरी खोल्न पाउनु एउटा मौकाको वातावरण बनेको छ ।

अघिपछि दैनिकी दुःख बाँड्नलाई मुख फोर्न गाह्रो हुने नारीलाई ‘गीतको बाहना, मनको चाहना’ भएको छ । यो पनि नगण्य हो तर पनि विवश छन् हाम्रा दिदीबहिनी पुरुषप्रधान समाजसँग सामना गर्न, केही छैन २–४ दिनको सदुपयोग हुन्छ मज्जाले ।

नेपाली समाजमा कामको चटारो र परम्परावादी सोचाइले विवाहित महिला माइती जान चाडपर्व नै कुर्नुपर्ने अवस्था अझै पनि नभएको होइन । तैपनि कमसेकम वार्षिक एकपटक माइती जाने भाग्य जुराउँछ तिजले । दिदीबहिनी, छोरीसँग जस्तोसुकै सम्बन्ध भए पनि कुलको अगाडि झुक्नैपर्छ पुरुषहरु अनि भित्र्याउनै पर्छ, आफ्ना चेलीलाई घरआँगनमा ।

नारी विशेष भनिएता पनि पछिल्लो समयमा नारी पुरुष दुवैबिच झक्काझक्की चल्ने यो समय नेपाली महिला दिदीबहीनी विशेषतः विवाहित महिलाका लागि सुनौलो अवसर बन्ने गरेको छ । विशेष त सासु, बुहारी, नन्द, देवर, जेठानी, देउरानीको गुनासाले धेरै स्थान पाउने गरेको तिजमा अहिले आएर श्रीमान, श्रीमती, मायाप्रेम, राजनीति लगायतका अन्य समयसापेक्ष विषयवस्तुले राम्रै अड्डा जमाउने गरेका छन् ।

हुनत् अविवाहित महिलाले राम्रो वर पाउन र विवाहित महिलाले आफ्नो स्वामीको दीर्घायूको लागि व्रत बसेर यो चाड मान्ने गरेको पाइन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने कारण तिजको अघिल्लो दिन माइतीघर वा जन्मघरमा राती ढिला गरेर दर खाने चलन छ । फलफूल, दुधका परिकार, खिरलगायत अन्य मिठा–मिठा परिकारहरु बाआमा दाजुभाईसँग बसी बल्लतल्ल माइत आएकी चेलीलाई, नमिठै भए पनि केही छैन माइतीको भनेपछि, ‘माइत जाम्ला, सल्लबल्ल खाम्ला’ भन्छन् ।

तर, आजकल आधुनिकताको नाममा तिज भड्किलो बन्दै गएको छ । २–४ दिन मनाउनुपर्ने तिज महिनौसम्म खर्चिलो तरिकाले मनाइन थालिएको छ । यस्तो नकारात्मक परिवर्तनले गरिब र धनीबिचको भिन्नता छुटिन थालेको छ । चलन–चलन हो अझ परापूर्वकालदेखिको चलन जसले यति मिठासपूर्ण मिलन गराएको कसले भुल्ला र ? तिजको पर्सिपल्ट अर्थात् भाद्र शुक्लपञ्चमी–ऋषिपञ्चमीको दिन दतिवन लगायतका जडिबुटीहरु खाएर हरितालिका तिज समाप्त गरिन्छ ।

यसरी तिज समाप्त गर्ने ३६५ वटा दतिवन टोकेर खोलामा बगाउने, माटो तथा गाईको गोबर लगाएर नुहाउने लगायत अन्य केही थप विधि छन् । यो खाएपछि वर्षभरिको रजस्वलाबाट हुने पाप मोक्ष हुन्छ भन्ने परम्परा चलिआएको छ । अनि घरबाट पाएको बिदाले छोट्याउँछ माइती बसाइका दिन, फर्काउँछ त्यो मुलुक जहाँबाट उम्कन कतिलाई फेरी चाडपर्व नै कुर्नुपर्ने बाध्यता हुन्छ ।

नारी विशेष भनिएता पनि पछिल्लो समयमा नारी पुरुष दुवैबिच झक्काझक्की चल्ने यो समय नेपाली महिला दिदीबहीनी विशेषतः विवाहित महिलाका लागि सुनौलो अवसर बन्ने गरेको छ । विशेष त सासु, बुहारी, नन्द, देवर, जेठानी, देउरानीको गुनासाले धेरै स्थान पाउने गरेको तिजमा अहिले आएर श्रीमान, श्रीमती, मायाप्रेम, राजनीति लगायतका अन्य समयसापेक्ष विषयवस्तुले राम्रै अड्डा जमाउने गरेका छन् ।

कसैलाई खोली तरेर माइत जानुपर्ने बाध्यता छ ‘माझी दाई’ । कोहीको जिन्दगीसँग गुनासो छ ‘सोचे झैं जिन्दगी रै न छ’ । यस्तै यस्तै वेदनालाई गायकले यथार्थमा पोखिदिन्छन् । रुढिवादी परम्परा र चेतनाको कमीलाई पनि गीतमार्फत सन्देश दिन खोजिएको छ, छोरा जन्माउनकै लागि अर्की बुहारी खोज्ने परिवारको कथा ‘छोरी’ ।

कसैले फेरी दिदीबहिनी नहुनुमा आमासँग दुःखेसो पोख्छन् ‘छोरी पाइनौ किन ?’ बैसालु मनको छुट्टै कथा हुन्छ ‘मायालुले आउ भन्छ बेलुका, जाउ कि नजाउ म’, ‘बेइमानीले भर काट्यो बैस वितारा,’ ‘डुबाउँला सानीलाई लाली जोवनले’ । सुन्दै मार्मिक लाग्ने विदेशिने युवाहरुको व्यथा र यथार्थपरक रचनाको पनि कमी छैन ‘चिल गाडी’ । नेपालीको प्रायः घरमा हुने पारिवारिक बिमेललाई पनि प्रस्टाउन खोजिएको पाइन्छ गीत ‘घरझगडा’ मा ।

लोग्ने स्वास्नी रिसाउँदाको पीडा छुट्टै छ ‘ओई पोई’ । परिवारलाई त प¥यो झटारो बाँकी छैनन् नेताहरु पनि ‘बेसार’ । केही ‘चरी जेलैमा’ जस्ता गीतसँगको व्यवहार नमिलेको हो कि भन्ने पनि कुराकानीमा सुनिन्छ । सायद, जेलमा हुने चरीहरुले गीत नै नसुनेका होलान् तर गीत गाएर नाच्नेहरु जेलमा हैन कि रेलमा झै लाग्छ ।

पुराना गीतहरुको पनि आफ्नै महत्व छ ‘हम्काइलो’, ‘तिज आयो बरिलै’, ‘वेदनाको पोको’ । मन हलुका बनाउन र समाजसँग संवादको वातावरण बनेको छ यो । वर्षभरि कापेका ओठहरु निर्धक्क हुन्छन् अनि खोल्छन् यथार्थता जसबाट आफूहरु पिल्सिरहेका छन् ।

कसैलाई राम्रो नहुँदाको दुखेसो छ ‘मै राम्रो छैन’ भने कोही सिर्जनाले जीव जनावरलाई गीतमा ल्याएर पनि मिठास थपेका छन् ‘मौरीले टोक्यो’ । कम छैनन् अविवाहितहरु पनि बाबुआमासँग प्वाक्कै मुख फोरेर बिहे गर्देउ त कसरी भन्ने ? छोरी भएर, मौका छोपे तिजको ‘पोइला जान पाम शिव’ । जता पनि गुनासै गुनासो । वर पाइसकेकालाई मन नमिल्नुको व्यथा त छँदैछ अझ बहुविवाहको कहानी पनि समावेश छन् ‘नक्कले पोई’ । यस्ता संगीत जुन सुन्दा ठट्यौली भए पनि बिरहको भाव बोकेका हुन्छन् ।

यसरी वर्षभरिको पोको छताछुल्ल हुन्छ र अर्को सालको लागि खाली बन्छ ठाउँ फेरी सजिलो होस यस्तै यस्तै । अपसोच आधुनिकताको नाममा कतिपय गीत संगीतमा केही छाडापन पनि देखिने गरेको छ । तिज भनिन्छ तर दिदीबहिनीसँगै बसेर सुन्न–हेर्न अप्ठेरो हुने खालका गीतहरुसमेत बजारमा भित्राइन्छ । यसमा सबैको ध्यान जाओस्, भविष्यमा यस्ता गीत संगीतमाथि सेन्सर लगाइयोस् ।

सामाजिक सद्भावनामा खलल पु¥याउने र नियतबस दुईअर्थी अपाच्य शब्दहरु प्रयोग गरी तिजका गीतहरु बजारमा ल्याउने गरेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले २०७७ सालमा ‘विकृति विसंगति न्युनीकरण कार्यदल’ गठन गरेको भए पनि खासै उपलब्धि भएको महशुस हुन सकेको छैन । यस पटक पनि प्रतिष्ठानले सुरुमै त्यस्ता प्रकृतिका गीतहरु बजारमा नल्याउन आग्रह गरेको थियो ।

यो वर्ष भने विगतका वर्षहरुमा झै त्यति अपाच्य गीतहरु त आएनन् तर अछुतो नै रहन भने सकेन, त्यसको उदाहरण हो पेटिकोट गीतको नामले परिचित ‘पापाकी रानी’ को बिहेको कल्पना । वास्तवमा कलाकार आफैं सजक हुनुहोस्, यसैमा कलाकारिता र हाम्रो संस्कृतिको भलाई हुनेछ । अनि सबैले निर्धक्क भएर भन्न सक्नेछन् ‘जय गीत, जय संगीत, जय संस्कृति’ ।

दुर्भाग्यवश भन्नुपर्छ योभन्दा अगाडिको तिजमा अर्को विषयवस्तु पनि समावेश हुन पुगेको थियो, ‘कोरोना’ अनि यथार्थमाथि सन्देशमुलुक गीतहरु पनि आए ‘बाटैमा भाइरस’ । छड्के पनि हानियो ‘थाहा छैन, कोरोना ला छैन’ । विगतका तिजभन्दा गतसालको तिजमा महामारीले राम्रै बजार लिएको थियो ।

सन्देशमूलक सिर्जना ‘तिज महामारी काण्ड’ देखि कोरोनाले गाउँ फर्कदा निम्ताएको पारिवारिक कलह ‘ओइ देउरानी–जेठानी’ समेतका विषयवस्तुहरु गीतमा उजागर गरेको पाइन्थ्यो । कोरोनाका गीतले लोभीमाथि व्यंग्यसमेत हान्न भ्याएका थिए ‘लोभी दाई’ भने घरमै नाच्ने, गाउनेसमेत सूचनाप्रवाह गरिएको थियो ‘नाच घरैमा’ । हामी प्रार्थना गर्छौ, अब उप्रान्त यस्ता विषयलाई स्थान दिनुपर्ने वातावरण सिर्जना नहोस् ।

अब कुरा रह्यो गीत कि भावना–वेदना, मनको मर्म बुझिदियोस् भन्ने इच्छा कसलाई हुँदैन र ? म पनि यही भन्न चाहन्छु । एउटा चाड धेरै धेरै उमंग र समर्पण । तिर जता सोजाएको हो, उसैको ध्यानाकर्षण होस् । रमाइलोपन र वास्तविकतालाई मनन गरी आत्मालोचनासहित कमजोरीहरु सच्चाइयोस् अनि नारीपुरुषको तथा नारी–नारीबिचको सम्बन्ध प्रगाढ बन्दै जाओस् ।

सम्पूर्ण नेपालीको आवाज समेटिएको संघीयता चाँडै संस्थागत होस र देशले विकास निर्माणमा फड्को मारोस् । भाइचारा र जातीयता नखल्बलियोेस् साथै सेलाउँदै गएको कोरोनाले निम्ताएका पीडामा छिट्टै मलम लागोस् । विश्व नै शिघ्र स्वथ्य बनोस् । यस महामारी तथा कुनै पनि कारणबाट ज्यान गुमाउने सम्पूर्ण नेपालीको आत्माले चिरशान्ति पाओस् ।

जय नारी ! जय तिज !!

(लेखकः नेपाल विद्युत प्राधिकरण, बागलुङ वितरण केन्द्र, बागलुङमा कार्यरत छन् ।)

प्रतिक्रिया