काठमाडौं महानगरपालिकाले सुधारको संकेत देखाएको छ । सवारी साधन पार्किङका लागि बनाइएका संरचनाहरु अर्कै प्रयोजनमा प्रयेग गर्ने प्रवृत्ति रोक्ने अभियान महानगरपालिकाले सुरु गरेको छ । सार्वजनिक स्थलहरु व्याक्तिगत रुपमा प्रयोग गर्ने प्रवृत्ति रोक्ने अभियान पनि काठमाडौं महानगरपालिकाले सुरु गरेको छ । कानुनी प्रावधान कार्यान्वयन नहुँदा र मिचाह प्रवृत्ति बढ्दै जाँदा काठमाडौं महानगरपालिकामा विकृतिका चाङ छन् । विकृतिका तिनै चाङमध्येको एउटा हो –‘ सडकमा पैदल यात्रु तथा सवारी साधन गुडाउन समस्या ।’ सवारी साधन सडकमै पार्किङ गरिदिने , सडक ओगटेर पसल राखिदिने समस्या काठमाडौंको निकै पुरानो समस्या हो । यो समस्या समाधानका लागि विभिन्न मापदण्ड तोकेर कानुनी प्रावधान बनाईको छ । तर ती मापदण्ड तथा कानूनी प्रावधान बषौंदेखि कार्यान्यनमा छैनन् । अहिले यतिबेला काठमाडौं महानगरपालिका यिनै मापदण्ड तथा कानूनी प्रावधान कार्यान्वयनमा जुटेको छ ।
सार्वजनिक जग्गा ओगटेर बनाइएको संरचना भत्काउने, सवारी साधन पार्किङका लागि बनाइएका संरचनालाई अरु नै प्रयोजनको व्यापार व्यवसायमा लगाउने विकृति विरुद्ध महानगरपालिका जुटेको छ । यस्ता संरचना भत्काउने अभियान भदौको पहिलो सतादेखि सुरु गरेको छ । महानगर पालिकाको यो कदमलाई लिएर धेरैले मेयर बालेन्द्र शाहको प्रसंसा गरेका छन् । बालेन्द्र शाहले मेयर पदका लागि महानगरबासी सँग मत माग्दै गर्दा धेरै ठूला आश्वसन दिएका थिएनन् । सरसफाई र सार्वजनिक यातायातलाई चुस्त बनाउने मुख्य एजेण्डा उनले अघि सारेका थिए ।
डेढ महिना अघि मकै पोलेर जिविकोपार्जन गर्ने गरिव गुरुवाहरुलाई लखेटेर आफ्नो अभियान सुरु गर्दा मेयर शाहको निकै आलोचना भएको थियो । तर अहिले सुरु गरेको अभियानलाई भने धेरैले स्वभाविक मानेका छन् । यो अभियान कुनै हालतमा पनि टुंगोमा पुग्नुपर्ने माग राजधानीबासीको छ । विगतमा पनि यस्ता अभियान नभएका होइनन् । तर बीचमै तुहिएका छन् । कतै यो अभियानले पनि विगतका जस्तै नियति बेहोर्नु पर्ने त होइन ? भन्ने आशंका जिवितै छ । किनभने अहिले काठमाडौं महानगरपालिका जुन बर्गका अतिक्रमणकारी विरुद्ध जुटेको छ , यी वर्गका अतिक्रमणकारीहरु सडकमा मकै पोलेर बस्ने निरिह गरिव जस्ता होइनन्, राज्य सत्तामा यिनहरुको पहँुच निकै माथि छ ।
प्रमुख दलका शीर्ष नेताहरु सँग, प्रधानमन्त्री तथा मन्त्रीहरु सँग, सबै तहका न्यायधिशहरु सँग यो बर्गका अतिक्रमणकारीहरुको सिधै पहुँच छ । कतिपय अतिक्रमणकारीहरु त आँफै कानुन बनाउने र आँफै कार्यान्वयन गर्ने हैसियतका समेत छन् ।
यो अभियान मेयर बालेन्द्र शाहका निम्ति ठूलो खड्गो हो । यो खड्गो पार गरे भने बालेन्द्र शाह कहिल्यै हार्नु पर्दैन । यदी यो खड्को पर गरेनन् भने अब बाँकी कार्यकाल जसो तसो गुजार्ने बाहेक उनको कुनै औचित्य रहँदैन । महानगरपालिकामा नक्शा पास नै नगरी संघीय सरकार आँफैले अरबौं रुपैंया खर्च गरेर भवन बनाएको छ ।
नेपाली सेनाले पनि त्यसै गरेको छ । अदालतले समेत त्यसै गरेको समाचार आएको छ । त्यतिमात्रै होइन नर्भिक अस्पतालले अतिक्रमण गरेका सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई अदालतले अन्तरिम आदेश गरेर रोकेको समाचार आएको छ । नयाँ बानेश्वर चोक नजिक अल्फाविटा कम्प्लेक्स अतिक्रमण गरेको सडक पन्छाउन जाँदा एमालेका युवा नेता महेश बस्नेत र नेपाली कांग्रेसका युवा नेता मीनबहादुर विश्वकर्माले बाङ्गा टेडा कुरा गरेको समाचार पनि आएको छ । कसैले गरेको अतिक्रमण भत्काउने , कसैले गरेको अतिक्रमण टुलुटुलु हेरेर बस्न मिल्ने अवस्था कुनै पनि हालतमा आउनु हुन्न । विगतमा डा. बाबुराम भट्टराईले प्रधानमन्त्री छँदा पनि यस्तै अभियान सुरु गरेका थिए । तर अदालत र राजनीतिकदलहरु बाधक बनेका कारण उनको अभियान थाति रह्यो ।
मेयर बालेन्द्र शाहको हकमा विश्लेषण गर्ने हो भने अलि सहज छ । पहिलो कुरा त बालेन्द्रलाई काठमाडौंकै जनताले प्रत्यक्ष मत दिएर यही कामका लागि चुनाव जिताएका हुन् । दोस्रो कुरा बालेन्द्रको दायित्व तत्कालिन प्रधानमन्त्री डा. भट्टराईको जस्तो चारै तिर छरिएको छैन । तेस्रो कुरा बालेन्द्रको मेयर पद आगामी स्थानीय निर्वाचनसम्मका लागि स्थायी हो । ९–९ महिनामा प्रधानमन्त्री फेरे जस्तो मेयर फेर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।
मेयर शाह स्वतन्त्र छन्, उनलाई नाजायज आदेश दिनसक्ने शक्ति केन्द्र छैन । जनता बाहेक आफ्ना लागि अर्को आश्रय छैन भन्ने यर्थाथता मेयर शाहले बुझेकै हुनुपर्छ । यो अभियान मेयर शाहको व्याक्तिगत नभएर देश र जनताका लागि हो भन्ने यर्थाथता सबैले आत्मासाथ गर्नुपर्छ ।
प्रतिक्रिया