गोरखा नगरपालिका–७ मान्द्रेढुंगाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । उनीहरूले तीजको दर भन्दै भदौ ३ गते शुक्रबार भोज खाएका थिए । त्यही दिन साँझदेखि नै भोजमा सामेल सबै जना बिरामी परेका हुन् । गाउँले नै बिरामी परेपछि स्वास्थ्यकर्मी लगेर उपचार गरिएको वडाध्यक्ष विष्णु श्रेष्ठले जनाएका छन् । अहेब भूमिका श्रेष्ठका अनुसार बुधबारसम्म पनि केहीलाई घरमै स्लाइनपानी दिएर राखिएको छ । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जोरो आउने र पखाला लाग्ने समस्या देखिएको थियो ।
विषाक्त खानेकुराका कारण यो समस्या देखिएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । तिज तथा चाडवाडका बेला विषाक्त खानेकुराका कारण बिरामी हुने गरेको घटना यो नया“ होइन । यस्ता समाचार विगतमा पनि आउने गरेका थिए । पहिलो कुरा त गर्मी मौसममा पकाइसकेको खानेकुरा तीन÷चार घण्टाभन्दा बढी राखेपछि आफैँ विषाक्त हुँदै जान्छ । पछिल्ला वर्षहरूमा तिजको दरका नाममा मांस–मदिरा सहितको भोज गर्ने प्रचलन सुरु भएको छ । नाचगान गर्ने भन्दै बिहानैदेखि भोजको आयोजना गर्ने र बिहानै पकाएको खानेकुरा बेलुकासम्म ग्रहण गर्ने प्रवृत्ति बढ्दो छ । दोस्रो कुरा शरीरले पचाउन सक्ने क्षमताभन्दा बढी भोजन पनि मन्द विष हो भन्ने जनचेतनाको अभाव देखिएको छ ।
तीजको अवसरमा निराहर व्रत बस्ने र व्रतालुहरूलाई अप्ठेरो नहोस् भनेर अघिल्लो दिन मध्यरात्रीतिर सात्विक भोजन गर्ने अनादीकालदेखिको परम्परा छ । यही सात्विक भोजनलाई दर भनिन्छ । तर, पछिल्ला वर्षहरूमा दर र मांस–मदिरा सहितको भोजलाई एकअर्काका पर्यायजस्तो ठान्न थालिएको छ । तिज सुरु हुनुभन्दा एक महिना अघिदेखि नै मांसमदिरा सहितको भोजको आयोजना गर्ने र त्यही भोजलाई दर भन्ने चलन बढेको छ ।
यस्तो चलन बढ्नुमा विशेष कारणहरू पनि छन् । तीजलाई नेपालकै कुनै समुदायका महिलाहरूले भगवान् भक्ति तथा पूजा आराधानाका साथ मनाउने र कुनै समुदायका महिलाहरूले नितान्त मनोरञ्जनात्मक चाडका रूपमा मनाउने चलन पुरानै हो । पछिल्लो समयमा सहरीकरण बढेको र मान्छेको आर्थिक स्तर पनि बढेका कारण चाडपर्वहरूमा भक्ति तथा पूजा आराधनाको पाटोलाई मनोरञ्जनको पाटोले पूरा ओझेलमा पार्दै लगेको छ । नेपाली महिलाहरूको महान चाड तिजको मौलिकता पनि यसरी नै ओझेलमा पर्दै गएको छ । दर खाने मौलिकतालाई भोजले किच्दै लगेको छ ।
युग परिवर्तनसँगै सांस्कृतिक चाडपर्व मनाउने शैली परिवर्तन हुँदै जानु स्वभाविकै हो । यति हुँदाहुँदै पनि चाडपर्वको मौलिकतालाई जोगाउनुपर्छ । मौलिकता जोगिनु भनेको सभ्यता जोगिनु हो । यो दायित्व समाजका अगुवा, जान्नेसुन्ने तथा पढेलेखेकाहरूको हो । किनकी यो वर्गकालाई समाजले पत्याउँछ, यो वर्गका मान्छेको शैली नयाँ पुस्ताले अनुसरण गर्छ । तर, तीजको मामिलामा हेर्ने हो भने समाजका अगुवा, जान्ने सुन्ने तथा पढेलेखेका महिलाहरूले नै लत्तो छाड्दै गएको देखिन्छ । दरखाने भन्दै मांस–मदिरा सहितको भोज आयोजना गर्ने र त्यही भोज कार्यक्रमलाई समाजिक संजालमा पोस्ट गर्ने प्रवृत्ति बढेर गएको छ ।
जसका कारण नयाँ पुस्ताका किशोरीहरू समेत मदिरा मोहमा फस्ने खतरा बढेर गएको छ । त्यसैगरी समाजलाई बाटो देखाउने, सुसंस्कारलाई निन्तरता दिने प्रयास गर्ने मुख्य दायित्व निर्वाह गर्न सक्ने सबैभन्दा बढी हैसियत नेपालका ठूला राजनीतिकदलहरूले राख्न सक्छन् । ठूला राजनीतिकदलका नेता तथा कार्यकर्ताको प्रभाव समाजमा बलियो हुन्छ । तर दलहरूका नेता तथा कार्यकर्ताहरू कतिसम्म संवेदनहीन छन् भन्ने उदाहरण हालै नेपाली कांग्रेस पोखरा महानगर समितिले प्रदर्शन गरेको छ ।
एकातिर दिवंगत नेता प्रदीप गिरिको आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्न १३ दिनसम्म पार्टीका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र अन्तिम दिन श्रद्धाञ्जलीसभा गर्ने निर्णय कांग्रेसले गरेको छ । तर पोखरा कांग्रेसले शोक पुस्तिका र तिजको दर (भोज) कार्यक्रम सँगसँगै अघि बढाएको छ ।
प्रतिक्रिया