कैलालीको मुडा बजारमा पनि शंकास्पद वस्तु भेटियाे

धनगढी । कैलालीको मुडा बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार दिउँसो बर्दगोरिया गाउँपालिका-१ मुडा बजार नजिकै पूर्व पश्चिम राजमार्गमा टिफिनको बट्टामा कालो प्लाष्टिकले बेरि तार बाहिर निकालेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उक्त शंकास्पद बस्तु डिस्पोजलका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको उनले बताए । यस अघि मंगलबार बिहान जिल्लाका दुईवटा ठाउँमा गोदावरी नगरपालिका– १ अत्तरिया चोकस्थित धनगढी जाने बाटो नजिक सेतो प्लाष्टिकले बेरेर राखेको अवस्थामा शंकास्पद र गोदावरी नगरपालिका–६ हरैया आवास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियोे । भने नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको थियोे ।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत चार पार्टीले नेपाल बन्दको आह्वान गरेका छन । बन्दको प्रभावले जिल्लामा यातायात नचलेको, स्कुल बन्द रहेको, बजार आंशिक खुला रहेको र अटो, मोटरसाइकल भने चलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया