अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी–प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल कुवेतमा रहेका अल्मुताइरीलाई पत्र पठाएको थियो ।

बिहीबार अल्मुताइरीले पत्रको जवाफ पठाएको एन्फा महासचिव किरण राईले जानकारी दिए । अहिले एन्फाले पत्रको बारेमा अध्ययन गरिरहेको छ । ‘उहाँको पत्र प्राप्त भएको छ । अब यस विषयमा आन्तरिक छलफल गरेर फेरि पत्र पठाउनेछौं’, राईले पत्रमा के उल्लेख गरिएको छ भन्ने खुलाएनन् ।

राईले फेरि पत्र पठाउने भनेका कारण अल्मुताइरीले पठाएको जवाफ पत्रको आशय एन्फा नेतृत्वलाई चित्त बुझ्दो नभएको देखिन्छ । छानबिन समितिले एसियन कप छनोट पछि अल्मुताइरीको विकल्प खोज्ने सुझावसहितको प्रतिवेदन एन्फामा बुझाएको थियो । त्यसै अनुसार एन्फा कार्यसमिति बैठकले महासचिव राईलाई नै अल्मुताइरीको विषयमा निर्णय गर्न जिम्मा दिएको छ ।

अब फेरि अल्मुताइरीलाई पत्र पठाउने र त्यसपछि यस विषयमा अन्तिम निर्णय लिने योजनामा एन्फा रहेको छ । २६ साउनको कार्यसमिति बैठकमै अल्मुताइरीबारे अन्तिम निर्णय गर्ने तयारीमा एन्फा थियो । तर त्यसअघि एन्फाले अल्मुताइरीलाई पठाएको भनिएको पत्र अल्मुताइरीसम्म नपुगेपछि एन्फाले फेरि अल्मुताइरीलाई प्रतिवेदनको विषयमा धारणा माग गर्दै पत्र पठाएको थियो ।

त्यसअघि अल्मुताइरीले मैत्रीपूर्ण खेलका लागि एन्फामा २६ खेलाडीको सुची पठाएका थिए । तर एन्फाले अल्मुताइरीले पठाएको सूची खारेज गर्दै नयाँ कार्यवाहक प्रशिक्षक हुमागाईँको सिफारिसमा ४० खेलाडीलाई बंगलादेशसँग हुने खेलका लागि प्रशिक्षणमा बोलाएको छ । हुमागाईँले बिहीबारदेखि नै प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रतिक्रिया