धीरेन्द्रकी छोरीदेखि निहारिका राजपुतसम्म

अञ्जु कार्की

नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली राजा हुन्, ‘महेन्द्र शाह ।’ उनकी नातिनी नै नेपालको नागरिकता प्रमाणपत्रबाट वञ्चित भइन् । महेन्द्र आफैँले रोपेको निरंकुश शासन व्यवस्थाको वीजबाट उनकै नातिनी अनागरिक बनिन् । जनताले दुःख पाउनुमा मुख्य दोष शासन सत्ताकै हुन्छ, यद्यपि मुलुकमा गणतन्त्र आउँदासमेत यो समस्या जीवितै छ । बाबुले मेरो सन्तान हो भनिदिए मात्र नागरिक अधिकार पाइने अन्यथा अनागरिक भएर बाँच्नुपर्ने विडम्वना ०४६ सालसम्म विद्यमान थियो ।

निहारिका राजपुत प्रकरणले यतिबेला नेपालको समाज र कानुनलाई गिज्याएको छ । कतिपयले हालै अगाडि बढाइएको नागरिकता विधेयक तथा निहारिकाको आन्दोलनलाई जोडेर हेरेका छन् । यो संयोग मात्रै पनि हुन सक्छ, तर पितृ सत्तात्मक हाम्रो समाजमा यो प्रश्न निकै पेचिलो छ ।
आफ्नै साथीको दाजु शिवराज श्रेष्ठले गरेको बलत्कारबाट आफू गर्भवति भएको दावी निहारिका राजपूतको छ । यो प्रकरण विगत दुई वर्षदेखि विशेष चर्चामा छ । उनले जन्म दिएको छोरासमेत २१ महिना पुगिसकेका छन् । तर उनले न्याय पाएकी छैनन् । जिल्ला अदालत धनुषाले बलात्कारको दावी नपुग्ने फैसला गरेपछि उनले पुनरावेदन अदालत जनकपुरमा रिट निवेदन दायर गरिन्, तर अदालतले सुनवाइ गर्न ढिलाइ गरेपछि हारगुहार गर्दै राजधानी काठमाडौं आएकी छिन् । गत माघदेखि उनले सत्याग्रहको आन्दोलन सुरु गरेकी छन् । गत जेठमा गृहमन्त्रालयसँग भएको पाँच बुँदे संझौतापछि उनले आन्दोलन स्थगित गरेकी थिइन् । संझौताको मुख्य बुँदा थियो, ‘उनले जन्माएको छोराको डिएनए परीक्षण गर्ने ।’ तर संझौता कार्यान्वयन नभएपछि साउनको तेस्रो सातादेखि फेरि आमरण अनशन सुरु गरिन् । तर आमरण अनशसनका क्रममा प्रहरीले उल्टै दुःख दिएको भन्दै गत शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरिन् ।

पाँच बुँदे संझौतापछि गत जेठमा गृहमन्त्री बालकृष्ण खाणले जुस पिलाएर अनशन तोडाउँदै गर्दा मधेसवादी नेतृ सरिता गिरिले सामाजिक संजालमा लेखेकी थिइन्, ‘पीडित किशोरी निहारिका राजपुतले न्याय पाउँदिनन्, किनकी उनी मधेसी हुन्, पीडक पहाडी हुन् ।’ आखिर भयो त्यस्तै । उनी आमरण अनशनभन्दा पनि अझै अघि बढेर आत्मदाह गर्नसमेत तयार भइन् । धेरै नै ठूलो चोट नपरी मान्छे आत्मदाह गर्न तयार हुँदैन । जतासुकैबाट आश मरेपछि मात्रै मान्छे आत्मदाह गर्न तयार हुने हो । यो प्रकरण खासै जटिल छैन । उनी अभियुक्तबाट बलात्कृत भएकी हुन् कि ? सहमतिमै करणी लेनदेन भएको हो ? भन्ने कुरा आफ्नो ठाउँमा छ । तर उनले गर्भधारण गरेर बच्चा जन्माएको कुरा साँचो हो ।

अभियुक्त शिवराज श्रेष्ठ बच्चाको बाबु हुन् वा होइनन् ? भन्ने प्रमाणित हुने भनेको डिएनए परीक्षणले हो । उनले राखेको मुख्य माग पनि यही हो । बच्चाको डिएनए परीक्षण गर्ने संझौता सरकारले गरेको पनि हो । डिएनए परीक्षणविना यो मुद्दा टुंगोमा पुग्न सक्दैन भन्ने कुरा सरकारमा रहनेहरूलाई थाहा पनि छ, तर संझौता कार्यान्वयन भइरहेको छैन । राज्य भनेको सबै जनताको अभिभावक हो । राज्य संयन्त्रमा रहनेहरूले आफ्नो न्यूनतम कर्तव्य निर्वाह गर्नुपर्छ ।

पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकता प्रमाणपत्र पाउन नसकेको समाचारले पनि केही वर्षअघि धेरैलाई आश्चर्यमा पारेको थियो । लामो समयदेखि आमा जयाराज्यलक्ष्मी शाहसँग अमेरिकामा बस्दै आएकी श्रेया पाँच वर्षअघि नागरिकता लिन नेपाल आइन् । श्रेया नागरिकताका लागि सिफारिस लिन काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा पुगिन । बडा कार्यालयले बाबुआमाको विवाह दर्ताको प्रमाणपत्र माग्यो । श्रेयाले त्यतिबेला विवाह तथा जन्मदर्ताको प्रचलन नभएको कुरा बताइन् । त्यसपछि बाबुलाई साथमा ल्याउन भनियो । उनले आफ्नो परिचय दिँदै भनिन्, ‘मेरा बुवा तत्कालीन अधिराजकुमार धीरेन्द्र २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिनुभयो ।’ विवाह दर्ता र जन्मदर्ता नभएको र बाबु पनि नभएको अवस्थामा वडाध्यक्षले सिफारिस गर्नुपर्ने कर्मचारीहरूले बताएपछि उनले वडाध्यक्ष दीपक केसीलाई भेटिन् । सिफारिसका लागि वडाध्यक्ष केसी पनि तयार भएनन् । श्रेयाले धेरै प्रयास गरिन् तर कतै केही नलागेपछि उनी अमेरिका फर्किन् जहाँ उनको ग्रिनकार्ड छ ।

नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली राजा हुन्, ‘महेन्द्र शाह ।’ उनकी नातिनी नै नेपालको नागरिकता प्रमाणपत्रबाट वञ्चित भइन् । महेन्द्र आफैँले रोपेको निरंकुश शासन व्यवस्थाको वीजबाट उनकै नातिनी अनागरिक बनिन् । जनताले दुःख पाउनुमा मुख्य दोष शासन सत्ताकै हुन्छ, यद्यपि मुलुकमा गणतन्त्र आउँदासमेत यो समस्या जीवितै छ । बाबुले मेरो सन्तान हो भनिदिए मात्र नागरिक अधिकार पाइने अन्यथा अनागरिक भएर बाँच्नुपर्ने विडम्वना ०४६ सालसम्म विद्यमान थियो । ०४६ सालको परिवर्तनपछि विवाह र जन्मदर्ताको अनिवार्य प्रावधान राखियो । विवाह र जन्मदर्ता भएको अवस्थामा कागजात आफैँ बोल्ने भएकाले नागरिकताको प्रमाणपत्र लिन समस्या परेन । यदि धीरेन्द्रकी श्रीमती जयाले ०४६ सालको परिवर्तन लगत्तै आफ्नो विवाह तथा छोरीको जन्मदर्ता गरेको भए अहिले उनकी छोरीले यो समस्या भोग्नुपर्ने थिएन । पढेलेखेकी तथा जाने बुझेकी जया शाहले समेत बेलामा होस पु¥याइनन् ।

विवाह तथा जन्मदर्ता गर्नुपर्छ भन्ने हेक्का अहिले पनि धेरैजसो महिलामा छैन । समयमै विवाह तथा जन्मदर्ता नगर्दा भविष्यमा आउनसक्ने भयानक सास्तीका सम्बन्धमा पनि धेरै महिला सुसूचित छैनन् । सम्भ्रान्त परिवारकी भएका कारण श्रेयाले नेपाली नागरिकता प्रमाणपत्र नपाउँदैमा आकाश खसेर थिचिहाल्ने अवस्था छैन, उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन्, पढेलेखेकी छिन्, आफ्नै खुट्टामा उभिन सक्छिन् । यद्यपि यस्तै समस्यामा परेका सामान्य नेपालीहरूको अवस्था के होला ?

नौ महिनासम्म गर्भमा राखेर सन्तान जन्माउने तथा हुर्काउने काम प्रकृतिले नै आमालाई दिएको छ । यसमा केही क्षणको गर्भाधान कर्मबाहेक बाबुको खासै भूमिका हुँदैन । सन्तानको पहिचान बाबुकै नामबाट हुने, आमाको खासै भूमिका नहुने अवस्था अहिले पनि विद्यमान छ । आमाको नामबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था कानुनले गरे पनि कार्यान्वयन प्रक्रियामा निकै ठूलो झन्झट छ । बाबुको पहिचान नखुलेका कारण वा बाबुले आफ्नो सन्तान हो भनेर स्वीकार नगरिदिएका कारण नागरिकता प्राप्त गर्न नसकेका अथवा जन्मदर्ता नै हुन नसकेका घटना निकै छन् । एकातिर विवाह नगरे पनि महिलाले सन्तान जन्माउन सक्ने कानुनी व्यवस्था छ । अन्नपूर्ण राणाको मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतको फैसलामा भनिएको छ, ‘विवाह नगरे पनि महिलाले सन्तान जन्माउन सक्छन् ।’ तर सन्तानको जन्मदर्ताका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य छ । विवाह दर्ताको प्रमाणपत्र नभएका कारण जन्मदर्ता हुन नसकेको र जन्मदर्ताको प्रमाणपत्र नभएका कारण विद्यालयमा भर्ना गर्दा सास्ती बेहोर्नुपरेका उदाहरण पनि उत्तिकै छन् । यो समस्यामा परेका कतिपय बालबालिकाले मनोवैज्ञानिक दबाबसमेत भोगेका छन् ।

खासगरी यस्ता समस्या चार प्रकारका छन् । पहिलो हो– एकल महिलाबाट जन्मिएका सन्तान । सन्तान जन्माउने अधिकार महिलाको प्रकृति प्रदत्त अधिकार हो, अर्थात् मौलिक अधिकार हो । सन्तान जन्माउँछु तर एकल नै रहन्छु भन्ने अधिकार महिलालाई हुनुपर्छ । अहिले नेपालमा पनि आंशिक रूपमा छ । कानुनले पनि यो बाटो खोलेको छ । सन्तानको जन्मदर्ताका लागि बाबुआमाको विवाह दर्ता प्रमाणपत्र अनिवार्य गरिदिँदा कानुनले दिएको यो अधिकार कार्यान्वयनमा समस्या छ ।

दोस्रो कारण हो, ‘पहिलो विवाह बदर नभएसम्म दोस्रो विवाह दर्ता नहुने कानुनी व्यवस्था ।’ महिला अधिकारकै लागि यो व्यवस्था गरिएको हो । तर कुनै पुरुषले श्रीमती हुँदाहुँदै अर्की महिलालाई गर्भाधान गरायो भने ती महिलाबाट जन्मिएका सन्तान अनागरिक हुने समस्या छ । कानुनी रूपमा सम्बन्धविच्छेद गरिनसक्दै अर्को पुरुष तथा महिलाको संसर्गबाट जन्मने सन्तानले पनि यस्तो समस्या भोग्नुपर्ने अवस्था छ । माथि उल्लेख गरिएकी धीरेन्द्र शाहकी छोरी श्रेया राज्यलक्ष्मीको समस्या पनि यही समस्यासँग मिल्दोजुल्दो छ । निहारिका राजपुतको समस्या पनि यही हो ।

तेस्रो हो, ‘सडकका महिलाबाट जन्मिएका सन्तानको समस्या ।’ वास्तवमा यो समस्या निकै पेचिलो छ । बेलुकी ९ बजेपछि जब काठमाडौं उपत्यकामा सवारी तथा मानिसको चाप पातलिँदै जान्छ, तब पोका बोकेका अर्धनघ्न महिला तथा पुरुष सडकमा देखापर्छन् । उनीहरूले देखाउने क्रियाकलाप हेर्दा मानसिक सन्तुलन बिग्रिएको सजिलै ठम्याउन सकिन्छ । रक्सीले मातेका आवारा केटाहरूले मानसिक सन्तुलन गुमाएका यस्ता महिलालाई पछ्याइरहेको पाइन्छ । रात छिप्पिँदै जाँदा उनीहरूबीच सडक बत्तीमुनि नै निर्धक्कसाथ यौनजन्य त्रियाकलाप भइरहेको देखिनु सामान्य हो । मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिइरहेका महिलाहरूले यस्तो यौनसम्पर्कबाट बच्चासमेत जन्माउने गरेका छन् ।

घटना केही वर्ष अघिको हो, राती ११ बजेतिर ललितपुरको सुमेरु अस्पतालबाट आफ्नो घर पेप्सीकोला फर्कने क्रममा यो पंक्तिकारको आँखा सडकको पेटीमा सुतिरहेकी एक महिलामाथि प¥यो । उनी मस्त निदाएकी जस्ती देखिन्थिन् । नजिकै करिब १० महिनाको निकै हँसिलो बच्चा खेलिरहेको थियो । सायद ऊ आफ्नी आमाको दूध खाने तरखरमा थियो । केही दिनपछि ती महिला एक्लै देखिन थालिन् । सम्भवतः त्यो हँसिलो बच्चालाई कसैले लग्यो । स्थानीय तथा यस क्षेत्रमा काम गरेका संस्थाहरूसँग बुझ्दा काठमाडौंमा मात्र सडकमै गर्भधारण गरी सडकमै बच्चा जन्माउने महिलाको संख्या डेढ सयभन्दा बढी छ । यसरी जन्मने बच्चामध्ये थोरै मात्र सडकमा हुर्कन्छन् । बाँकी कहाँ पुग्छन् ? कसैलाई चासो छैन । यो समस्या राजधानी काठमाडौंमा मात्र होइन, के तराई, के पहाड, के गाउँ, के सहर, मुलुकका सबै क्षेत्रमा व्याप्त छ ।

चौथो हो, ‘बलात्कारबाट जन्मिएका सन्तान ।’ बलात्कारका कारण गर्भधारण गर्न बाध्य महिलाहरूको समस्या पनि कम विकराल छैन । बलात्कार आफैँमा जघन्य अपराध हो । त्यही बलात्कारीलाई नै आफ्ना सन्तानको बाबु मान्नुपर्ने बाध्यता महिलामाथि थोपरिनु भनेको पनि अपराध नै हो । आफ्नो सन्तानको बाबु भन्नु परेपछि श्रीमान् पनि मान्नैप¥यो । कति ठूलो बाध्यता ?

प्रतिक्रिया