नेकपा एकीकृत समाजवादीमा उम्मेदवार चयनको मापदण्ड तयार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड तयार पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने भएको छ । निर्वाचन लक्षित औपचारिक गतिविधि अघि बढाउनेमा एकीकृत समाजवादी अग्रपंक्तिमा देखिएको छ । केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि आठ बुँदे मापदण्ड तयार पारेको जानकारी बिहीबार पार्टीका महासचिव वेदुराम भुसालले दिए ।

एकीकृत समाजवादीले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यक्ष र समानुपातिकमा उठाइने उम्मेदवारको सिफारिस एवं छनोट गर्न ठोस मापदण्ड तयार पारेको हो । उक्त पार्टीले भदौ २० गतेभित्र उम्मेदवार चयन गरिसक्ने गरी मापदण्ड बनाइएको छ ।

आठ बुँदे मापदण्डको पहिलो नम्बरमा उम्मेदवार चयन गर्दा ‘पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको’ व्यक्ति हुनुपर्ने उल्लेख छ । दोस्रो नम्बरमा ‘विद्रोहमा सक्रिय भूमिका खेलेको र पार्टी निर्माणमा योगदान गरेको’ र तेस्रो नम्बरमा ‘पार्टी र क्रान्तिप्रतिको निष्टा र अनुशासनमा दृढ हुनुपर्ने’ उल्लेख गरिएको छ ।

यसैगरी चौथो नम्बरमा ‘आर्थिक एवं नैतिक आचरण राम्रो रहेको’, पाँचौँ नम्बरमा ‘जनतामा स्थापित एवं लोकप्रिय’, छैटौँ नम्बरमा ‘स्वच्छ छवि भएको र सुशासनको पक्षपाति’ तथा सातौँ नम्बरमा ‘कार्यक्षमता राम्रो भएको र सक्रिय’ व्यक्ति हुनुपर्ने उल्लेख छ । आठौँ नम्बरमा भने आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘समावेशीताको सिद्धान्त विपरीत’ हुनु नहुने उल्लेख गरिएको छ ।

यसैगरी एकीकृत समाजवादीले आगामी निर्वाचनका लागि उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रकृयाको विषयमा पनि टुंगो लगाएको छ । जसअनुसार, प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ ।

त्यसपछि जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नु पर्नेछ । जिल्ला कमिटीले पठाएको तीन जनाको नामको विषयमा प्रदेश कमिटीले आफ्नो धारणासहित केन्द्रमा पठाउनुपर्नेछ । त्यसपछि केन्द्रीय कमिटीले मातहतका कमिटीहरूबाट सिफारिस भएर आएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन अन्तिम निर्णय गर्नेछ ।

यसैगरी प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्पm उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्नेछ । जिल्ला कमिटीले ती चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने ।

त्यसपछि प्रदेश कमिटीले ती तीन जनाप्रतिको आफ्नो धारणासहितको प्रतिवेदन केन्द्रमा पठाउनेछ । केन्द्रीय कमिटीले मातहत कमिटीहरूबाट सिफारिस भएर आएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन अन्तिम निर्णय गर्नेछ ।

यसैगरी एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भने जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्नेछ । यदि कुनै जिल्लामा निर्वान क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक साताभित्र त्यस्तो कमिटी गठन गरी सिफारिससम्बन्धी काम अगाडि बढाउने निर्णय पनि पार्टीले गरेको छ ।

विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्नेछन् । केद्रीय कमिटीले मातहत कमिटीहरूबाट सिफारिस भई आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट सम्भावित उम्मेदवार छनोट गरी बन्दसूची तयार गर्नेछ ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने र पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने निर्णय पनि पार्टीले गरेको छ । यदि कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले त्यसउपर छानविन गरी फैसला गर्नेछ ।

यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिकाको विषयमा पनि पार्टीले निर्णय गरेको छ । जसअनुसार, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नु पर्नेछ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नु पर्नेछ । त्यसपछि प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्नुपर्नेछ । केन्द्रीय कमिटीले भने भदौ २० गतेभित्र अन्तिम निर्णय गरिसक्ने बताइएको छ ।

प्रतिक्रिया