‘माटो जोगाउन सरकारले नीति बनाउन आवश्यक’

धनगढी । ‘माटो जोगाऔँ’ अभियानका अभियन्ता नवीन पुनमगरले माटो जोगाउन सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन् ।

माटो जोगाऔँ अभियानलाई देशभर लैजान ३ हजार ५ सय किलोमिटर दौडको लक्ष्य लिएर देश दौडाहमा लागेका पुनमगरले बिहीबार धनगढी पुगेर यस्तो बताएका हुन् ।

अभियन्ता पुनमगरले खेतीयोग्य जमीन मरुभूमि हुनबाट जोगाउन देशभर जनचेतना फैलाउने अभियानको उदेश्य रहेको बताउँदै माटोमा उर्भराशक्ति कम हुँदै गएकाले प्राङ्गारिक मलको प्रयोग बढाउँदै लगेर रासायनिक मलको प्रयोगलाई शून्यमा पुर्याएर मात्रै माटोको उर्भराशक्ति बढाउन सकिने बताए ।

उनले भने, ‘सरकारले अहिले पनि रासायनिक मललाई प्रसय दिइरहेको छ, प्राङगारिक मल प्रयोगमा सरकारले लगानी गर्नुपर्छ ।’ अहिलेदेखि नै माटो जोगाउनमा नलागे संसारभरीको माटोमा उर्भराशक्ति ह्रास भएर अबको ६० वर्षपछि विश्वव्यापी भोकमरीको समस्या आउने अभियन्ता पुनमगरले जिकिर गरे ।

माटो जोगाऔँ अभियान जेठ ३० गते ३ हजार ५ सय किलोमिटर दौडको लक्ष्य लिएर देशभर जनचेतना फैलाउँदै जाने उदेश्यका साथ काठमाण्डौंको टुँडिखेलबाट सुरु भएको यात्रा ६६ दिनमा २ हजार ७ सय ९९ किलोमिटर दुरी पार गर्दै धनगढी आइपुगेको उनले बताए ।

७० दिनमा यात्रा पूरा गर्ने लक्ष्य भए पनि विभिन्न कारणले ८३ दिनमा पूरा हुने उनले बताए । पर्वत जिल्लाको मोदी गाउँपालिका–२ घर भएका पुनमगर पेशाले कृषक भएको जनाइएको छ ।

प्रतिक्रिया