विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट ४ हजारभन्दा बढीले लिए सेवा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट ४ हजार २ सय ८१ जनाले स्वास्थ्य सेवा लिएका छन् । गएको साउन महिनामा उपमहानगरपालिकाका १९ वटै वडाका सो संख्याका सेवाग्राहीहरुले सेवा लिएका हुन् ।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन भएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट सो एक महिनाको अवधीमा जनरल फिजिसियनबाट १ हजार ८ सय ३३ जना महिला, १ हजार ८६ जना पुरुष गरी २ हजार ९ सय १९ जनाले सेवा लिएको र स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट १ हजार ३ सय ६२ जना महिलाले सेवा लिएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए ।

४ सय ३३ जनाले प्रयोगशाला सेवा,४ सय ३ जनाले अल्ट्रासाउण्ड, २ सय ६० जना सेवाग्राहीले इसीजी सेवा लिएको उनले बताए । त्यसैगरी सेवा लिनेमा गर्भवती महिलाको संख्या ३ सय २४ र ७० बर्ष माथिका सेवाग्राही संख्या ६ सय ३४ जना रहेको जनाइएको छ ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा संलग्न जनरल फिजिसियन डा.विकास रिजालले वडा–वडामा गएर विरामीलाई सेवा दिने उपमहानगरपालिकाको काम अत्यन्त राम्रो भएको बताए । उनले भने यो पहिले नै हुनु पर्ने काम हो जस्तो लाग्छ तर अहिले भएपनि सञ्चालन भएको छ ।

विरामीले स्वास्थ्य लाभ पनि पाउने,स्थानीय सरकार भएको जनताले महसुस पनि गर्ने भएकाले विशेषज्ञ वडास्वास्थ्य क्लिनिक प्रभावकारी भएको उनले बताए ।

सामान्य परामर्शका लागि विरामीले धनगढी,काठमाण्डौँका अस्पतालहरुमा जानुु पर्न ,औषधि छुटाउन वा खाइरहनका लागि सोध्न लाई पनि धनगढी आउनु पर्ने रहेछ, त्यो सेवा पनि अहिले वडा क्लिनिकबाट बिरामीले पाईरहेका छन्’, उनले भने, धेरै दीर्घ रोगीहरुको सुगर,प्रेसर पनि पहिचान भएको छ यसले बिरामीले उपचार गर्नमा सहज भएको छ ।’

सबैले मिलेर यो सेवाका लागि काम गरेमा स्वास्थ्यसँग जोडिएकाले यसको दुर्गामी असर एकदमै राम्रो हुने र नगरबासीले घरमै विशेषज्ञ सेवा पाउने भएकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक राम्रो काम भएको डा.रिजालले बताए । विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट प्रत्यक्ष रुपमा ग्रामीण क्षेत्रका जनताले गाउँमै सेवा पाएको नगरप्रमुख गोपाल हमालले बताए ।

उनले भने ग्रामीण क्षेत्रका मान्छेले चेकजाँच्,उपचार नगर्ने रहेछन्,अहिले धेरै बिरामीको रोगको पहिचान भएको छ,घर आँगनमै सेवा पाएकाले जनता खुशि छन् । गाउँमै सेवा पाउँदा बिरामीको भीड बढेकाले आगामी दिनमा सामान्य र जटिल बिरामी छुट्याएर सेवा दिने बताउँदै उनले छाला, दाद, घाँटीको समस्या, अर्थोका बिरामीको पहिचान भएको डाटा अनुसार सेवाका लागि कसरी अगाडि बढ्ने भनेर योजना बनाएर अघि बढ्ने बताए ।

यो सेवालाई निरन्तर अघि बढाउने बताउँदै उनले भने बिरामीको क्लस्टर छुट्याएर शिविर पनि सञ्चालन गर्ने योजना रहेको बताए । विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा जनताले स्थानीय सरकार भएको अनुभूति गरेका छन् उनले भने घरमा कुखुरा पालेको भए उपचार हुने,नभए उपचार नहुने अवस्थाबाट जनतामुक्त भएका छन् ।

धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सहज रूपमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यका साथ श्रावण १ गते वडा नं. १९ बाट एक समारोहका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट उद्घाटन गरि विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनवहादुर गुरुङले ५ बर्ष सम्मका लागि २ जना विशेषज्ञ चिकित्सकको पारश्रमिक दिने गरी यस अघि उपमहानगरपालिकासँग सम्झौता गरेका थिए ।

नगरपालिकाले नगरप्रमुख हमाललाई सुविधाका लागि दिएको गाडी विशेषज्ञ वडास्वास्थ्य क्लिनिक सञ्चालनका लागि दिएका छन् । विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य उपकरण र उपमहानगरपालिकाका औषधी व्यवसायीहरूले औषधी दिएर सहयोग गरेको नगरप्रमुख हमालले जानकारी दिए ।

प्रतिक्रिया