पसल फोरेर सामान चोरी गर्ने पक्राउ

महोत्तरी । पसलको भवन फोरेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु ७ लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो ।

चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्लाका बर्दिबास र गौशाला बजारमा पसल चोरी हुने क्रम बाक्लिएको जनाइएको छ । यसअघि साउन चौथो सातामा मोटरसाइकल चोर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सो गिरोहबाट प्रहरीले हालसम्म चार चोरीका मोटरसाइकल बरामद गरिसकेको छ ।

प्रतिक्रिया