स्थानीयलाई आईपीओ निष्कासन गर्दै भोजपुरकाे इष्टर्न हाइड्रोपावर

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले ७ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त सार्वजनिक निष्कासनमा आयेजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन् ।

जिल्लाका इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा २१ भदौ र उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ५ असोजसम्म लम्बिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन कक्मपनीको आहृवानपत्रमा उल्लेख छ । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावटा लागत करीब २६ करोड ११ लाख ७५ हजार रहेको छ भने कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार रहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

प्रतिक्रिया