जात्रा र पर्व : केही जानकारी

मोहनप्रसाद सापकोटा

नेपालको कला र संस्कृति भन्नु नै मेरा विचारमा नेवारी कला र संस्कृति हो । म पनि छु, म पनि छु भन्दै अर्काको कला र संस्कृतिभित्र छिरेर तहसतहसन बनाउने हामीजस्ताले नाक फुलाउनु बेकार छ नेवारहरू जहाँ जहाँ गए र अहिले देशविदेशमा जहा जहाँ छन् त्यहाँ त्यहाँ तिनले आफ्ना कला र संस्कृति जोगाएर बसेका छन् । त्यसैले गाईजात्रा वा इन्द्रजात्रा जस्ता कुरा विश्वभर मनाइएका र मनाउने गरिएका समाचार सुन्न र देख्न पइन्छ । म यो समुदायलाई आजका दिन नमन गर्दछु र हामीजस्ता अवसरवादीबाट सदा जोगिन सक्नुहोस् भनी भगवानसँग प्रार्थना गर्दछु ।

गाईजात्रा/गाईयात्रा

गाइयात्राको प्रचलन प्रसंग अध्ययन गर्दा यसका दुई÷तीन वटा कारणहरू देखिन्छन् । ‘मृत्यु स्वभाविक हो र यसले कसैलाई पनि पक्षपात नगरी एकदिन लैजान्छ’ भन्ने सन्देश प्रवाह गर्नु, परिवार एवं समाजलाई शोकबाट व्यवहारिकतातिर पुनः फर्काउन सहयोग गर्नु र सहरभित्र एकवर्षमा भएका मृत्युसंख्या गणना गर्नु । मृतकको मोक्षका लागि पनि यस दिन गरिने कर्महरू सम्बन्धित हुन्छन् ।

इतिहास एवं वंशावलीहरूले राजा प्रताप मल्लकी पुत्रशोकबाट विक्षिप्त जस्तै बनेकी रानीलाई पुत्रशोकबाट बाहिर लेराउन र हँसाउन एकथरी यात्राको प्रचलन चलाइएको कुरा उल्लेख गरिएको छ । तर, त्यहाँ गाईको प्रसंग पाइन्न । मानिसलाई शोक पर्ने कुरा प्रताप मल्लका पालादेखि मात्र पर्ने भन्ने हुँदैन । त्यसभन्दा अगाडि पनि नेवारी समुदायका मृतक परिवारले सहरका चोकचोकमा दीपदान गर्दै र दान दिँदै घुम्ने चलन रहेको विभिन्न प्रसंगबाट पुष्टि हुन्छ । त्यसैले रूप परिवर्तन गरी गाईयात्रा गर्ने चलनचाहिँ उनकै पालादेखि चलेको भन्न सकिन्छ । गाईयात्रा प्रकारान्तरको मृत्यु–संस्कार हो, यसैले शुभकामना आदानप्रदान गर्नु मेरा विचारमा उपयुक्त हुन्न ।

गाईयात्राका कुरापछि अब गरौँ गाईजात्राका कुरा । मक्किएर थोत्रो भएको पहिरनलाई टाल्न खोजेजस्तो एकातिर टाल्न खोज्यो अर्कातिर कुयेंत्रो लाग्ने, त्यहाँ टाल्यो फेरी अर्कोतिर च्यातिने खालको घरघरमा गाईजात्रा भएपछि व्यंग र प्रहसनप्रधान गाईजात्राको मूल मर्म नै ओझेलमा पर्दो रहेछ । नाट्यशास्त्रमा प्रहसनको व्याख्या गरिएको छ र भनिएको छ ‘प्रहसन त्यो विधा हो जसले मानिसका सबै खालका पीडालाई एकछिनका लागि बिर्साइदिन्छ र उन्मुक्त हाँसो निकालीदिन्छ ।’ आजभोलिका प्रहसन प्रायः परपीडामा मनोरञ्जन लिने खालका र व्यावसायिक हुन्छन् । चोरलाई आमन्त्रण गरेर अगाडि राखी ‘तँ चोर होस्’ भन्दै जबरजस्ती हँसाइन्छ र हाँसिन्छ । हामी चोर र सज्जनमा फरक नछुट्टिने खालको बाटोबाट कपोलकल्पित समाजवादसम्म पुग्ने सपना बोकेर यात्रा गरिरहेका छौँ । यसैले प्रहसनहरू र हाँसोसमेत गाईजात्रे बन्न पुगेको छ । उन्मुक्त हाँसो कस्तो हुन्छ ? अब त त्यो पनि विदेशीबाट सिक्नुपर्ने भएको छ ।

अब त गाईयात्रामा पनि समावेशिता देखिन थालेको छ । परम्परागत संस्कृति कुलोमा र छाडा संस्कृति खहरेमा उर्लेर बहन थालेको छ । संस्कृतिमा समावेशिता वा हस्तक्षेप भएपछि मौलिकतामा ह्रास आउँदो रहेछ र लोप हुने स्थितिमा पुग्दोरहेछ । नेपालभरका नेवारी वस्तीले यी कुरा बुझेरै आफ्ना मौलिकता जोगाइरहेका छन् । बाढीले अनेक वस्तु वा जीव बगाएर लेराउँदा पनि गंगाको महत्व कम नभए जस्तै अनेक थरी विकृति मिसिँदा पनि तिनका आफ्नै शैलीका संस्कृति र परम्पराहरूको महत्वमा कमी आएको छैन ।

‘जन्मपछि मृत्यु अनिवार्य छ’ भन्ने कुरा हरेक शोकसन्तप्त परिवारले बुझुन् र शोकबाट बाहिर निस्किन सकुन्, गाईयात्राले दिइरहेको मूल सन्देश यही नै हो । उसो त काठमाडौं उपत्यका अझ त्यसमा पनि टुँडिखेल र त्यस वरपरको क्षेत्र रंगमञ्चको एउटा खुल्ला मञ्चजस्तो बन्दै गएको छ । देभरका हरेक जात र धर्मका संस्कृति एवं परम्परा त्यही पर्दामा गएर सीमित हुन थालेका छन् । देउडा नाच होस् वा साकेला वा अरू कसैका कुनै पर्व वा संस्कृतिहरू जोगाइदिने अभिभारा आजभोली टुँडिखेलले पाएको छ । मनको टुँडिखेल मरुभूमी बन्दै गएको छ, स्थानीय जात्रा, संस्कृति, चाडपर्वको दैनिक जीवनसँगको सम्बन्ध ओझेलमा पर्दै गएको छ र संस्कृति जोगाउने नाममा कृत्रिम र भद्दा संस्कृतिहरू टुँडिखेल वरपर फस्टाइरहेका छन् । मनलाई खुसी पार्न वा सुमधुर सामाजिक बनोटलाई निरन्तरता दिन भन्दा पनि अरूलाई देखाउन वा अरूले दिएको सहयोग पचाउनमा संस्कृति मनाइदिने वातावरण बढिरहेको छ ।

व्यंग पोख्ने अवसरका रूपमा यसलाई तन्काउन पनि अब त मन लाग्न छोड्यो । राजादेखि रंकसम्म सबै गाईजात्रे भएको परिस्थितिमा गाईलाई प्रयोग गरेर गाईजात्रे बन्न उपयुक्त हुन्छ जस्तो पनि लाग्दैन । कुनै दिन नेपालले नेपालीका लागि भनी बनाउन लागेका रेलमा र विमानस्थलमा विदेशी सैनिक टनाटन भएको मन दुख्ने गाईजात्रा देख्न नपरे हुन्थ्योजस्तो लाग्छ, तर होनहार दैव नटार, रोक्न सक्ने हैसियत मेरो देशसँग छैन । विदेशका अनेकौँ छद्म संघसंगठनहरूले पूरै देशलाई गाईजात्रे देश बनाइरहेको अवस्थामा देशभित्रका गाईजात्रा वा गाईयात्रा गौण बन्न पुग्दा रहेछन् ।

जनैपूर्णिमा वा ऋषितर्पणी वा रक्षाबन्धन

अधिकांश तागाधारी वर्गमा गणना हुनेहरूले जनै भिर्न छोडे । ब्राह्मण ब्राह्मणत्वमा, क्षत्रीय क्षत्रीयत्वमा र वैश्य वैश्यत्वमा बस्न नसक्ने भएकाले पनि सबैलाई चौथो वर्ण प्रिय लागेको हुनु पर्दछ । आफैँ चौथो वर्णमा पुगिसकेपछि पनि जन्मका आधारमा दम्भ र विवाद अनि विभेदचाहिँ किन ऊ छोड्न सक्दैन, मलाई यस कुरामा बढी अचम्म लागिरहने गर्दछ ।

काँधमा जनै सधैँ भिर्दैन भने ऊ चार वर्णमध्येको पछिल्लो वर्णमा गणना हुन्छ । उसले त्यही वर्णले गर्ने सबै धर्मकर्म गरे पुग्दछ । तैपनि ऊ अरूलाई देखाउन ब्राह्मण, क्षत्रीय वा वैश्य बनिरहेको हुन्छ । लाशलाई दाग बत्ती दिने बेलामा मागेर जनै लगाउँदछ तर ऊ चिता पिण्ड दिई टोपल्दछ । तपाईं हामीबाट यस्तो विरोधाभाषपूर्ण चरित्र किन छाड्न नसकिएको होला ?

धर्मकर्म, संस्कार आदिमा सबैभन्दा बढी छुट चौथो वर्णलाई छ । हामी पूरै चौथो वर्णमा समाहित हुन किन सकिरहेका छैनाँै ? न रहेका बाँस न बझेगा बाँसुरी ? चौथो वर्ण पनि हिन्दू नै हो नि होइन र ? हामीले अंगीकार गरिरहेको द्वैध चरित्रले ‘सनातन धर्म जोगाउने’ वा ‘धर्म र संस्कारले गर्दा हुन नसकेको विकास क्रान्तिकारी परिवर्तन गरेर गर्ने’ यी दुबै थरी सोचलाई धराशायी बनाइरहेछ ।

संकलनमा रहेका ऋषितर्पणीसम्बन्धी केही गहकिला कुरा सेयर गरौँ कि जस्तो लागेको थियो । तर, स्खलित वंशानुगत परम्परा देखेपछि, भोगेपछि र आफू स्वयं त्यसमा असफल भएपछि यी कुरा असान्दर्भिक जस्ता लागेन र लेख्न चाहिनँ । चाहे जे होस् जनै फेर्ने र एकदिन÷एकछिन जनै लगाउने अनि तस्बिर सामाजिक सञ्जालमा हालेर जात जोगाउन खोज्ने तथा जनै लगाएर पदोन्नति भएको ठान्ने तपाइँहामी सबैलाई ‘जनै पूर्णिमाको शुभकामना’ ।

यसबेला पण्डितहरू पनि रमाइलोसँग परिवर्तन भएका छन् । आय घट्दछ त्यसैले जजमानले चाहे अनुसार लचकदार हुन्छन् र तिनले जे भने पनि ‘हस्’ र ‘हुन्छ’ भनी दिन्छन् । यस्ता कलियुगका क्रान्तिकारी महापण्डित जनलाई पनि ऋषितर्पणीको शुभकामना । यस्ता पण्डित छन् त्यसैले त म आजसम्म बाहुन बनिरहेको छु, नत्र….।

उपनिषद् ज्ञान : जनै

(१) हरेक प्राणीका हृदयमा सम्पूर्ण देवताको बास हुन्छ, (२) यही हृदयमा प्राण रहेको हुन्छ र (३) प्रकाश पनि त्यही हृदयमा रहेको हुन्छ । यी तीन वटै परमात्माका स्वरूप हुन् । यो ज्ञानको प्रतीककारूपमा जनैमा तीन डोरा हुन्छ ।

अन्धकारलाई चिरेर प्रकाशित हुनु भनेकै ज्ञान हुनु हो । हृदयमै अन्धकारले छोपिएका परमात्मालाई प्रकाशित गर्न सक्नु वा देख्न सक्नु भनेकै ज्ञानी हुनु हो । जसरी सूत्र (धागो) मा मोती आदिका दाना उनिएको हुन्छ त्यसरी ने विश्व ब्रह्मरूपी सूत्रमा उनिएको हुन्छ । यो मूल हो । यसको ज्ञान भइरहोस् भनेर नै जनैलाई ब्रह्मसूत्र भनिएको हो ।

जस्तो अग्निको शिखा (टुपी) हुन्छ र त्यो प्रज्वलित हुँदा मात्र देखिन्छ । अर्थात आगोको ज्वाला नबली देखिन्न । त्यसरी नै ज्ञानको ज्वाला (शिखा वा टुपी) पनि ज्ञान प्राप्त नगरी देखिन्न । माथि उल्लिखित तीन कुराको ज्ञान हासिल गरी त्यसलाई प्रकाशित गर भन्ने कुरा सम्झाउन नै जनैमा शिखा (गाँठो) पारिएको हुन्छ । जब ज्ञान प्राप्त हुन्छ तब बाहिरी शिखा (टुपी आदि) को वा जनै आदिको आवश्यकता हुँदैन ।

दूधमा घिउ हुन्छ, तर देखिन्न यो परम सत्य हो । यसैगरी हृदयमा ईश्वर हुन्छन् तर देखिन्न यो पनि परम सत्य हो । जसरी दूधमा भएको घिउ देखिन विभिन्न प्रक्रिया पूरा हुनुपर्दछ त्यसरी नै हृदयमा रहेका परमात्मा देखिन विभिन्न साधनारूपी प्रक्रिया पूरा हुनुपर्दछ । ‘यि म पनि द्विज हुँ’ भन्दै खोतलेर जनै देखाउँदैमा वा टोपी फुकालेर टुपी देखाउँदैमा उ द्विज हुँदैन । जुन ज्ञान आर्जन गरोस् र बाँडोस् भनेर उसलाई द्विज बनाइएको हो त्यो ज्ञान नै ऊ आर्जन गर्न प्रयाश गर्दैन भने उ द्विज होइन, शूद्र हो ।

विदेशबाट आयातीत र यहीँ कारखानामा बनाइएका अनेक थरी जनै बजारमा पाइन्छन् । हातैले जनै बाट्ने र त्यसलाई मन्त्रले जगाउने बाहुन अब सिला खोज्नुपर्ने भइसकेको छ । जे होस् साँच्चिकै तागाधारी भए पनि वा नाम मात्रको तागाधारी भए पनि वा तागाधारीको सिको गर्ने भए पनि धेरै द्विजले यसदिन जनै फेर्दछन् वा एकछिन भए पनि लगाइदिन्छन् । म पनि जसोतसो त्यही हुलमा मिसिने गर्दछु । रक्षाबन्धनको अर्थ र महत्व हराए पनि राखीबन्धनको व्यवसाय खूब फस्टाएको छ । दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाइलाई विशेष किसिमले पूजा गर्ने आफ्नै मौलिक संस्कृति (भाइटीका) भए पनि विदेशी संस्कृतिले मलाई धपक्कै ढाकेको छ । महँगा राखी मेरा हातमा पनि बाँधिइन थालेका छन् ।

जनै लगाउन वा फेर्न एवं डोरो बाँध्न कुलपुरोहितलाई नै लगाइनुपर्दछ । कुनै कारणले यसो गर्न असम्भव भए सगोत्री बाहेकका र आनीबानी थाहा भएका वास्तविक बाहुनमार्फत यी कुरा गरिनु पर्दछ । यो दिनको अर्को छुटाउनै नहुने कार्य भनेको तर्पण हो । बाउ जीवित हुनेले पितृबाहेक अरुलाई र नहुनेले पितृ समेतलाई तर्पण दिनैपर्ने कुरा लेखिएका छन् । चाह हुनेले खोजीनीति गरेर गर्दा राम्रै हुन्छ ।

कुमारी रथ यात्रा

कुमारी रथ यात्राको प्रसंग त्रेतायुगसँग जोडिएको पाइन्छ । तलेजू भवानीको मूर्तिलाई विशेष विधिले पूजा गरी विशेष यन्त्र चलाएपछि उनले मानवको रूप लिन्थिन् । त्यो विधि र यन्त्र रामचन्द्र भगवान्का पालादेखि प्रयोगमा लेराइएको प्रसंग वंशावलीहरूमा पाइन्छ । तुलजा भवानीलाई काठमाडौं उपत्यका लेराउँदा सो यन्त्र र मन्त्र सहितको विशेष बाकस पनि यहाँ लेराइएको थियो । यसैको सहायतामा निश्चित नियम र परिधिभित्र रही मल्ल राजाहरू तुलजा भवानीलाई मानवीय रूपमा प्रकट गराई उनीसँग पासा खेल्दथे, राजकाजका विषयमा विविध सल्लाह लिन्थे । उपत्यकाका तीन राज्यका बीचमा यो यन्त्रलाई लिएर बेलाबेलामा युद्धहरूसमेत भएका थिए ।

पछि नियम मिचेपछि (कथा लामो भएकोले उल्लेख गरिएन) तुलजा प्रकट हुन छोडिन् र चिन्ताले खानसमेत छाडेका राजालाई ‘निश्चित समुदायकी निश्चित विधानकी कन्याका शरीरमा म वर्षको एकपटक प्रवेश गर्दछु, त्यही बेला तिमीले मेरो दर्शन पाउनेछौ’ भनी सपनामा भनेकी थिइन् । सोही अनुसार तुलजा भवानीको रूपमा कुमारीको पूजा गर्ने र रथ घुमाउने चलन चलाइएको हो । कुमारीको रथसँगै गणेश र भैरवको रथलाई समेत नगर परिव्रmमा गराइन्छ । यी तीन वटै रथमा मानव राखिएका हुन्छन् । यो चाडसँग जोडिएका इन्द्रपूजा, लाखेनाच आदिका पनि कथाहरू छन् ।

आजभोली त सबै कुरा व्यवसाय बनाइए । तुलजाको हारसमेत अमेरिकाको संग्रहालयमा राखिएका समाचार भर्खरै पढ्न पाइएको छ । अधिकार बेचेर कला र संस्कृति किन्नेहरूको होडबाजी चलेको पनि एक युग भइसकेको छ ।

घोडेजात्रा

वर्षैपिच्छे काठमाडौंको टुँडिखेल वरपर घोडेजात्राको रौनक हुन्छ । यस विषयमा केही लेख्नुअघि पिशाच चतुर्दशीका विषयमा जानकारी नदिए घोडेजात्रासम्बन्धी जानकारी अधुरो रहन्छ । घोडेजात्राको अघिल्लो दिन मनाइने उपत्यका भित्रको संस्कृति कस्तो छ त ? संक्षेपमा केही लेख्न चाहेँ । हरेक वर्ष यो दिन महादेव पिशाचको रूप लिएर आउँछन् भन्ने मान्यता छ । यो पर्व मनाउन अष्टमीका दिनबाट नै सुरु हुन्छ ।

अष्टमीका दिन पशुपतिबाट एउटा सानो शिवलिंगलाई खटमा राखी बाजागाजासहित लगेर ब्रह्मटोलमा रहेको फोहोर फाल्ने ठाउँमा लुकाएर राखिन्छ । यसैलाई शिवको पिशाचरूप मानिन्छ । नेवारी भाषामा यिनलाई ‘लुकुमाहाद्यो’ भनिन्छ । पछि चतुर्दशीका दिन त्यो शिवलिंगलाई झिकेर नुहाइन्छ, पूजाआजा र भोग चढाइन्छ । पालामा बत्ती बालिन्छ । यही बत्तीको गाजल बनाएर ससाना बालबालिकाको आँखामा लगाइन्छ । यो लगाउनाले ती भूत, प्रेत आदिबाट जोगिन्छन् भन्ने विश्वास गरिन्छ ।

अर्को कथामा शिव र भष्मासुरलाई जोडिएर लेखिएको पाइन्छ । भष्मासुरको डरले शिव रछ्यानमा लुकेर बसे र मांसाहारी भई पिशाच भएका वृत्तान्त पनि लेखिएका छन् । कथाकै प्रसंगमा ललितपुरका गुप्तेश्वर महादेव भनेका भष्मासुरबाट बच्न लुकेका महादेव हुन् भनेर पनि लेखिएको पाइन्छ । शंकरको रक्षार्थ त्यहाँ पुगेका वटुक रूप लिएका विष्णु नै विशंखु नारायण हुन् भनेर पनि बताइएको छ ।

पिशाच चतुर्दशीका दिन फोहोरमा लुकेर बसेका महादेवलाई आफ्नै घरआँगनमा नेवार समुदायले मूला र रायोको फूल चढाउने गर्दछन् । ओमबहालको बीच सडकमा लुकुवा महादेव छन् । यो दिन यिनलाई खनेर निकालिन्छ । यी महादेवलाई बच्चा महादेव पनि भनिन्छ । यस्ता लुकुवा महादेव टोलटोलमा हुन्छन् भन्ने मान्यतामा ‘पाहाँचह्रे’ पर्व चलेको पाइन्छ । त्यसैले यतिखेर घर र त्यस वरपर सबै सफा गर्ने, धारा, इनार आदि सफा गर्ने गरिन्छ । जाँड, रक्सी, लसुन, अदुवा मासु आदिपिशाचरूप महादेवलाई चढाइन्छ र प्रसादकारूपमा ग्रहण गरिन्छ । भनिन्छ महादेवले पार्वतीको अनुरोधमा तोरी फुलेको खेतमा मूलाको बोटमुनि लुकेर मासु खानुभएको थियो । महादेवको त्यही पिशाचरुपको पूजा नै यो पर्वको विशेषता हो । यो पर्व काठमाडौंका आठ वटी देवीको कथासँग पनि गाँसिएको पाइन्छ ।

त्यसपछि भोलिपल्ट घोडेजात्रा मनाइन्छ । पहिले एउटा मात्र घोडालाई जाँड खुवाएर मत्ताएर दौडाइन्थ्यो । वसन्तपुर दरबारबाट राजा घोडाचढी लावालश्करसहित टुँडिखेलको बीच भाग हुँदै भद्रकाली (लुमडी) को दर्शन गर्न जाने परम्परा थियो, अहिले प्रतीकका रूपमा गइन्छ । कतै प्रमाणितरूपमा उल्लेख नभए पनि आधुनिक किसिमले प्रतियोगितात्मकरूपमा धेरै घोडा दौडाउने चलन भने जुद्ध शमशेरका पालादेखि मात्र चलेको हो ।


किंवदन्तीअनुसार टुंडी नामको राक्षसलाई जनताले समाएर जिउँदै गाडिएको स्थान नै अहिलेको टुँडिखेल हो । राक्षस मरेको छैन, फेरी बाहिर आउँछ र बदला लिन्छ भन्ने मान्यतामा वर्षिनै तर्साई जमिनमाथि आउन नदिन घोडा दौडाउने गरिएको हो । यससम्बन्धी अनेक किम्वदन्ती र भनाइ लेखिएका छन् । श्रोतः विभिन्न वंशावलीहरू, नेपालका चाडपर्वहरू (किरण पन्थी), नेवारी कल्चर (विकी) आदि ।

होली

श्रीमद्भागवत लयागतका पुराणहरूमा दानव राजा हिरण्यकशिपुको आफ्नै सिद्धान्त र पुराण नमानेका आफ्ना पुत्र प्रह्लादलाई मार्न उनकै फुपू होलिकालाई प्रयोग गरिएको कथा उल्लेख भएको पाइन्छ । होलिकालाई आगोले नपोल्ने वरदान प्राप्त थियो । त्यसैले उनी प्रह्लादलाई लिएर आगोमा बसिन् । विधिको खेल ः होलिका जलिन् तर प्रह्लादलाई केही भएन । दानवीय प्रवृत्तिको एक प्रतीक जलेर खरानी भइन् । लोकले यसलाई खुसियालीका रूपमा मनाए, मनाउन थाले ।

तर, होली यो कथा प्रसंगमा मात्र सीमित छैन । अन्य विभिन्न ग्रन्थमा होलीलाई वसन्त ऋतुको स्वागत–महोत्सवका रूपमा लिने गरिएको विवरण पाइन्छ । यसमा होली शब्दको प्रयोग त भेटिन्न तर आफन्त र मन मिल्ने मानिस जम्मा भई विभिन्न सात थरी रंग (इन्द्रेनी रंग) खेल्दै, नाच्दै र गाउँदै वसन्तको स्वागत गर्नू भनिएको पाइन्छ ।

वसन्त ऋतु हरेक जीव र वनस्पतिको लागि नयाँ जीवन दिने र वंश निरन्तरामा सहयोग गर्ने ऋतु हो भनिएको छ । उजाड प्रकृति वसन्त ऋतुकै कारण हराभरा हुन थाल्दछ । यसैबेला प्रमुख अनाज रोप्न थालिन्छन् । रतिराग जगाउने ऋतु पनि यही वसन्त ऋतु हो ।

एक फरक प्रसंगमा होली

सत्ययुगमा राजा रघुको पालामा भगवान् शिवबाट बरदान पाएकी ढौंढा नाककी एक राक्षसनीले बालबालिकालाई दिनुसम्म दुःख दिन थाली । केही गर्दा पनि उसको दुष्कर्म रोकिएन । त्यसपछि राजगुरु वसिष्ठले यसको उपाय बताउँदै भने, ‘यो समय शीतकाल सकिएर गर्मी लाग्ने समय हो । बालबालिका हातमा लौरा लिएर पिट्न निक्ले जसरी हाँस्दै, रमाउँदै घरघरबाट बाहिर निस्कनु । कुनै योग्यस्थानमा जम्मा भई ती लौराहरू बाल्नु, अनिष्टनाशक मन्त्रले होम हाली तीन फेर त्यो अग्नी घुमी पुनः हाँसख्याल, रमाइलो गर्दै घर फर्कनु । यसो गर्नाले त्यो राक्षसनी मर्दछे ।’ फाल्गुन पूर्णिमामा ब्राह्मणहरू सबै खाले दुष्टता र रोग नाश होस् भनेर होम गर्दछन् त्यसैले यो दिनलाई होलिका भनिन्छ ।

यो दिन साँझमा बालबालिकालाई विशेष सतर्कतापूर्वक रक्षा गर्नुपर्दछ । समयसँगै होलीमा गरिने मनोरञ्जनमा पनि परिवर्तन भएको छ । केही विकृतिले पनि प्रवेश पाएका छन् । चोकचोकमा अग्लो स्थानमा राखिएका रंग, आदि हालिएका माटाका घैला फोर्ने प्रचलन कतै यसैको परिवर्तित रूप त होइन ?

ऋषिपञ्चमी र दतिवन

दतिवनलाई संस्कृतमा अपामार्ग पनि भनिन्छ । यसको अर्थ यस्तो हुन्छ ‘अपामृज्यते रोगो दूरीक्रियते अनेन अपामार्ग’ रोगलाई टाढा भगाउँदछ त्यसैले यसलाई अपामार्ग भनिन्छ । दतिवनको जरा, गेडा, पात र डाँठ समेत ओखती हुन्छ भनिएको छ । दतिवनले दाँत माझ्ने चलन थियो । शास्त्रमा जनैपूर्णिमाका दिन पुरुषहरूले पनि दतिवनको प्रयोग गरी शरीर शुद्ध पार्नुपर्ने विधि लेखिएका छन् । ऋषिपञ्चमीमा हिन्दू सनातनी नारीहरूले शरीर शुद्धिका लागि यसको प्रयोग गर्दछन् । यसको अन्तरसम्बन्धका बारेमा अझ स्पष्ट हुन खोज्दैछु । स्पष्ट भएपछि यहाँहरूमाझ अवश्य सेयर गर्नेछु ।


हिन्दू नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी व्रतसमेत बस्ने दिन हो ऋषिपञ्चमी । यस विषयमा पुराणहरूमा वर्णन भएका कथाहरू समान खालका छन् । यी कथामा तथा व्रतपूजा विधिमा नारीको मासिकधर्म नै प्रमुखरूपमा समावेश भएको पाइन्छ । सरसर्ती हेर्दा यो व्रत एक वर्षभर रजस्वला भएको अवधिमा जानेर वा नजानेर गरिने शास्त्रले निषेध गरिएका कुराहरूबाट हुने पापको प्रायश्चित–व्रत जस्तो देखिन्छ ।

आयुर्वेदमा व्रतको विधान पाइन्न तर रजस्वला बार्नुको कारण बताइएको छ । आयुर्वेद अनुसार सुत्केरी हुँदाका बखतमा जस्तै जस्तै रजस्वला हुँदा पनि नारीको शरीर कमजोर हुन्छ त्यसैले शारीरिक एवं मानसिक रूपमा उनलाई आराम गर्न दिने उद्देश्यले रजस्वला बार्ने नियम चलाइएको देखिन्छ । समयको अन्तरालमा यसलाई आरामतिर ध्यान नदिई छुवाछुततिर बढी लगियो । काम सदाझैं गरिरहन हुने तर छुन नहुने गरी अर्थ लगाउन थालियो ।


अहिले रजस्वला बार्न नहुने वा नपर्ने तर्कका पछाडि पनि नारीकै शोषण भइरहेको छ । उनको भलाइका लागि नभई पुरुषको भलाइका लागि तर्कहरू गरिएका पाइन्छन् । नारीहरू आफू ठगिएको महसुस गर्नुको साटो तिनै कुरामा सहमति जनाउँदै आँखा चिम्लेर पुरुषभन्दा पनि तीन हात माथि उफ्रिरहेका हुन्छन् । रजस्वला हुँदा शरीरमा कमजोरी महसुस हुन्छ हुँदैन नारीहरूकै अन्तरमनले थाहा पाउने कुरा हो । ‘म बलियो नै छु’ भन्नु वा भनाइनु र साँच्चिकै बलियो हुनुमा आकाश जमिनको फरक हुन्छ ।

विस्तृत व्याख्या नगरी सकेसम्म छोटो बनाएर केही जानकारी सेयर गरेँ । स्वर्ग र नरकको कल्पना नगरी धर्म भनेको स्वस्थता र पाप भनेको रोग हो भन्ने मूल सूत्र दिमागमा राखेर हेर्ने गर्नुहोस् सबै व्रत, उपवास आदिको रहस्य आपैmँ बुझ्न थाल्नु हुनेछ । ‘नारकीय जीवन’ भनिन्छ, अर्थ खुलाउन पर्ला र ?

प्रतिक्रिया