आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार जबेगूलाई


इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा फोनिज इलामले जबेगूलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई र इलाम नगरका प्रमुख केदार थापाले पत्रकार जवेगूलाई दोसल्ला, सम्मानपत्र र १० हजार रुपैयाँको चेक प्रदान गरे ।

विगत अढाई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् इलाम शाखाका पूर्व अध्यक्ष हुन् । हाल इलामबाट प्रकाशित इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगू फोनिज इलामका सल्लाहकार समेत हुन् ।

फोनिज इलामले स्थापना गरेको सो पुरस्कार पहिलो पटक वितरण गरेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको हो ।

पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाकोसाधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।


दुई जनप्रतिनिधि र दुई निजामति कर्मचारीलाई सम्मान


यसैबीच सोही अवसरमा फोनिज इलामले फोनिजका पूर्व अध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको छ । फोनिमा आवद्ध भई हाल जनप्रतिनिधिमा निर्वाचित दुई र निजामति सेवामा प्रवेश गरेका दुई गरी चार जना पूर्व फोनिजकर्मीहरुलाई सम्मान गरेको हो ।

इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका ५ मा वडा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गरेको हो । त्यस्तै निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरेको हो ।

फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिएका थिए । पछिल्लो समय प्रविधिको विकासँगै पत्रकारहरुका लागि सामाजिक संजाल मुख्य चुनौती रहेको उल्लेख गर्दै वक्ताहरुले सत्यतथ्य र निश्पक्ष पत्रकारितामा जोड दिएका थिए ।

कार्यक्रममा इलाम गरप्रमुख थापासहित पुरस्कृत पत्रकार जवेगू, सम्मानित जनप्रतिनिधि भुजेल, फोनिज प्रदेश सदस्य अतित योङहाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया