च्यासल मैदानमा बाढी

काठमाडौं । मंगलबार रातिको भारी वर्षापछि मनोहरा खोलामा आएको बाढीले पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको च्यासल रंगशालाको मैदानमा ठूलो क्षति गरेको छ । रंगशालाको मुख्य प्रदेशद्वारबाटै छिरेको बाढीले हराभरा मैदान हिलाम्य भएको छ । पूर्वपट्टी रहेको मुख्य द्वारबाट छिरेको बाढीको निकास पश्चिमपट्टीबाट निकास हुन नपाउँदा मैदानमा हिलो र फोहोरसहितको पानी जमेर घाँसमा क्षति पुगेको च्यासलका बासिन्दा तथा च्यासल फुटबल क्लबका सचिव शंकर व्यन्जनकारले बताए ।

च्यासल मैदानमा गत वर्ष भदौ २१ गते आएको बाढीले पनि क्षति पुगेको थियो । व्यन्जनकारका अनुसार यसपल्ट पानीको बहाव अघिल्लो वर्षको तुलनामा धेरै थियो । ‘खोलाबाट ओभरफ्लो भएको पानी मुख्य गेट भत्काएर छिरेको हो । मुख्य गेट, पश्चिमपट्टीको पर्खाल र दक्षिणपट्टीको गेटमा क्षति पुगेको छ,’ व्यन्जनकारले भने, ‘मैदानमा हिलो र फोहोर थुप्रिएको छ ।’

मैदानमा गत वर्षको असारमा बर्मुडा ग्रास (फुटबल मैदानका लागि उच्चस्तरीय घाँस) रोपिएको थियो । पाँगो माटोले घाँसलाई फाइदा हुने भए पनि बाढीमा बगेर आएका अन्य अनावश्यक घाँसले मैदानको आवश्यक घाँसलाई अतिक्रमण गर्नसक्ने चिन्ता बढेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भदौ अन्तिममा नेपालमा आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपमा अभ्यास केन्द्रका रुपमा यो मैदानलाई प्रयोग गर्ने योजना बनाएको थियो । बाढीले मैदानमा क्षति पुगेपछि एन्फाले विकल्प खोज्नुपर्ने हुनसक्छ ।

२०५९ सालमा एन्फाले च्यासल टेक्निकल सेन्टरको नामबाट निर्माण सुरु गरेको यो मैदान पाँच वर्षदेखि पुनर्निर्माणको प्रक्रियामा छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बजेटमा २०७४ सालदेखि रंगशालाको स्वरुप बनाएर स्तरोन्नत्ति सुरु भएको हो ।

तीन वर्षदेखि च्यासल रंगशालाको साइट हेरिरहेका राखेप इन्जिनियर पूर्ण सुन्दासले निर्माण सम्पन्न भएपछि हस्तान्तरणको अन्तिम प्रक्रियामा रहेको रंगशालाको मैदान बाढीले पुनः क्षति पु¥याएको बताए । ‘विहान म गएको थिएँ । भित्र छिर्न सकिन बाहिरबाटै हेरेर फर्किएँ । पोहोरको तुलनामा यसपाली धेरै ठूलो बाढी पसेको रहेछ,’ उनले भने ।

उनका अनुसार रंगशाला निर्माणको काम लगभग सम्पन्न भएको छ । मैदान निर्माणको काम सम्पन्न भएपछि प्राविधिकले दुई साताअघि मात्र हस्तान्तरण गरेका थिए । सुन्दासले भने, ‘काम सबै सकिएको थियो । तर, केहि समयअघि विजुलीको सामान तोडफोड र चोरी भयो । अब त्यही काम बाँकी हो ।’

अघिल्लो वर्षको बाढी छिरेपछि खोलापट्टीको क्षेत्रमा तीन मिटर ग्याभिन राखेर तटबन्धनको निर्माण गरिएको थियो । ‘त्यो नभएको भए त जमिन नै कटान हुने रहेछ,’ सुन्दासले भने । च्यासल रंगशाला निर्माणका लागि डाँफे–प्रेरणा प्रतिष्ठा जेभीले ३३ करोड रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । मनोहरा करिडोरको मापदण्डका कारण संरचनाको नक्सा परिवर्तन गर्नुपरेको र हरेक वर्ष आउने मनोहराको बाढीले असर गरेको बहानामा ठेकेदार कम्पनीले निर्धारित समयपछि ६–६ महिनाको दरले ६ पल्ट म्याद थप गरिसकेको छ । निर्माण सम्पन्न भएपछि हिसावकिताव फर–फारकका लागि भन्दै पछिल्लोपल्ट थपिएको म्याद भदौमा सकिँदैछ ।

च्यासल रंगशालामा मनोहरा खोलातर्फबाहेक तीन पट्टी प्यारापिट बनाइएको छ । पूर्व र पश्चिमपट्टी तीन तला र दक्षिणपट्टी दुई तलाको प्यारापिट छ । सबै ब्लकमा दुई शौचालय बनाइएको छ । दक्षिणतर्फको प्यारापिटमूनी चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टर निर्माण गरिएको छ ।

प्रतिक्रिया