बर्दिवास अस्पतालको हालत : उपकरण छ, प्रयोग छैन

महोत्तरी । जिल्लाको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । बर्सेनि सर्पदंशका गम्भीर प्रकृतिका बिरामीलाई सघन उपचार गर्नपर्ने भएपछि सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले अन्यत्र रेफर गर्ने गरेको र बिरामीको बाटैमा मृत्यु हुने गरेका घटना बर्दिवास भेगमा बाक्लै हुने गरेका छन् ।

बढ्दो जनअसन्तोषको सम्बोधनका लागि गए साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट बर्दिवास अस्पतालले आइसियु भेन्टिलेटर उपकरण प्राप्त गरेको छ । यद्यपि भेन्टिलेटर प्रयोगमा नल्याइँदा यो सेवा प्रारम्भ हुन सकेको छैन । बर्दिवास अस्पतालले यसपालि प्राप्त गरेको भेन्टिलेटर पहिलोे भने होइन । यसअघि गत वर्ष कोभिड–१९ संक्रमण निकै बढेका बेला विभिन्न संस्थाले प्रदान गरेका भेन्टिलेटर दक्ष प्राविधिकको अभाव तत्सम्बन्धी व्यवस्थापनको बेवास्ताले बर्दिवास अस्पतालमा त्यत्तिकै थन्केर रहेका छन् ।

बर्दिवास अस्पतालमा तीन भेन्टिलेटर भएका छन् । साधन थपिँदै गए पनि त्यसको प्रयोगमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन नगरिँदा आमसर्वसाधारणका लागि ती उपयोगविहिन बनेका बर्दिबास–१४ का बासिन्दा हरि दाहाल बताउँछन् । ‘उपकरण प्रयोगमा ल्याउन तत्काल स्थानीय सरकारले पहलकदमी लिन प¥यो ।’ तीन भेन्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीनभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच नर्स आवश्यक पर्ने बर्दिवास अस्पतालका चिकित्सक बताउँछन् । यसको समुचित प्रयोगका लागि एनेस्थेसिया (बेहोस बनाउने विधि) को विज्ञ टोली नै चाहिने डा. किशोर अधिकारी बताउँछन् । भेन्टिलेटर प्रयोगमा ल्याउन प्रयोगशालाको स्तरोन्नतिदेखि अनेकौँ आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने चिकित्सक बताउँछन् ।

सघन उपचार प्रारम्भ गर्न आवश्यक प्रबन्धबारे बर्दिवास नगरपालिका नेतृत्वसँग संवाद भइरहेको बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मा बताउँछन् । ‘यो उपचार सेवा प्रारम्भ गर्न के के आवश्यक छ ? हामी विज्ञसँग सल्लाहमा छौँ’, शर्मा भन्छन्, ‘यथासक्य चाँडो स्रोतसाधन जुटाएर सेवा प्रारम्भ गरिनेछ ।’ यसैबीच बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षत्रीले पनि जनस्वास्थ्य सरोकारका विषय प्राथमिकतामा रहेको बताएका छन् । ‘हामीसँग भेन्टिलेटर थिएनन् । अब त्यो प्रबन्ध भएको छ’, क्षत्री भन्नुहुन्छ, ‘अब यो सेवा सञ्चालनका लागि अन्य आवश्यक चाँजो मिलाइनुपर्छ, स्थानीय तहले कति गर्न सक्छ त्यो गरिनेछ र प्रादेशिक र संघीय सरकारसँग पनि समन्वय गरिन्छ ।’

प्रतिक्रिया