तिजको नाममा दर्शकलाई झुक्याउन पाइँदैन : सिन्धु मल्ल

गायिका सिन्धु मल्ल

झण्डै तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् गायिका सिन्धु मल्ल । उनको आवाजमा तिज गीतदेखि लोकदोहोरी क्षेत्रलगायत विभिन्न विधाका गीतहरू बजारमा चर्चित छन् । नेपाली लोकदोहोरी र तिजका गीतमा आवाज दिने लोकप्रिय र चलेका गायिकाहरूमध्येमा सिन्धुलाई पनि अग्रस्थानमा लिने गरिन्छ भने अहिलेसम्म माैलिकताको गीत पस्कने गायिकाको रूपमा पनि उनलाई चिन्ने गरिन्छ । उनले दर्जनौँ मौलिक तिजका गीतहरू बजारमा ल्याइसकेकी छन् । त्यस्तै, सांगीतिक कार्यक्रमका लागि विभिन्न देश घुमेकी गायिका मल्लले सम्मान तथा धेरै अवार्डहरूसमेत प्राप्त गर्नुका साथै धेरै रियालिटी शोमा निर्णायकको भूमिकासमेत निभाएकी छन् । लामो समयदेखि सांगीतिक बजारमा चर्चामा रहेकी उनै गायिका मल्लसँग नजिकिँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजकै अवसर पारेर सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको नजरमा के हो तिजको विशेषता र महत्व ?

परापूर्वकालदेखि मानिँदै आएको तिजको विशेषता अन्य धर्मभन्दा फरक छ । हामीले सानैदेखि सुन्दै आएअनुसार हिन्दू धार्मिक ग्रन्थलाई गहिराइबाट नियाल्ने हो भने राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । जब पार्वतीले तपस्या गरेको सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिंगको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव–पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।

सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तिजको रूपमा मनाउने चलन चल्दै आएको मानिन्छ । सोहीअनुसार तिज पर्व भनेको एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएको एक मौलिक पर्वको रूपमा महिलाको लागि विशेषता र महत्व दिनुपर्छ ।

बदलिँदो कल्चर तथा वातावरणले गर्दा पनि पुरुषले महिलाहरूलाई सघाएको हो कि । पहिले–पहिले महिलाहरूको वेदना र आआफ्ना भोगाइ गीतमार्फत प्रस्तुत गर्दथे भने अहिलेको परिस्थितिमा केही फरक भएको छ ।

तपाईं भन्नुहुन्छ तिज महिलाको पर्व, तर पछिल्लो समय पुरुषहरूले पनि तिजका गीत गाउँदै आएका छन् नि ?

हुन त अहिले यो प्रवृत्ति हावी हुँदै आएको छ । खासमा यस्तो हुनुमा समयअनुसारको माग हो कि जस्तो पनि लाग्छ । बदलिँदो कल्चर तथा वातावरणले गर्दा पनि पुरुषले महिलाहरूलाई सघाएको हो कि । पहिले–पहिले महिलाहरूको वेदना र आआफ्ना भोगाई गीतमार्फत प्रस्तुत गर्दथे भने अहिलेको परिस्थितिमा केही फरक भएको छ ।

समाजमा मौलिक पर्वमाथि हस्तक्षेप भयो, फोहोर बनाइयो भन्ने गुनासो पनि आउने गरेका छन् नि ?

मौलिक पर्वलाई बिगारेर तोडमोड गरी अन्यत्र जानु त गलत नै हो । नारीहरूको दुःख–सुखको वेदना प्रकट गर्ने, सुखमा हाँसी–हाँसी र दुःखमा रोएरै भए पनि आआफ्नो बिलौना गीतमार्फत पोख्ने परम्परा थियो । तर, पछिल्लो समय समाजमा गुनासो आउँदा मलाई पनि दुःख नै लाग्छ ।

के तिजको सिजन सुरु भएपछि विभिन्न युट्युबमा आउने सबै गीत तिज गीत नै हुन् ?

युट्युबमा आउने गीत जति सबै तिजका गीत कदापि होइनन् । तिज गीतको आफ्नै मौलिक भाका र शब्द हुन्छन् । आफ्नै पहिचान बोकेको हुन्छ । तर, पछिल्लो समय कतिपय कलाकारले अर्कै गीतलाई डलर कमाउने लोभमा गीतले अर्कै मोड लिए पनि शीर्षक ‘तिज गीत’ भनेर राख्छन् । यस्ता प्रवृत्तिको त म खुलेरै विरोध गर्छु । तिजको सिजन सुरु भएपछि तिजबाहेक अन्य विधाका गीत ल्याउन हुँदैन भन्नेमा मलाई लाग्दैन । तर, जुन विधाको गीत हो त्यही अनुसारको शीर्षक राख्नुपर्छ । दर्शक स्रोतालाई झुक्याएर मौलिक तिजको नाममा अन्य गीत राख्न पाइँदैन ।

अहिलेसम्म तपाईंको आवाजमा कति गीत बजारमा आए ?

गीत गाउन त धेरै गाएको छु, तर यति नै बजारमा आयो भन्नुभन्दा पनि ५० को हाराहारीमा तिजका मात्रै आएका छन् ।

बजारमा धेरै रुचाइएको तपाईंको तिज गीत कुन हो ?

दर्शक स्रोताहरूले रुचाउन त बजारमा आएका सबै गीत रुचाउनुभएको छ । तर, आएकामध्ये ‘चिटिक्कै भाछु रे’ सबैभन्दा धेरै रुचाइएको छ । त्यो मेरो सिंगल गीत हो । कसैसँग सहकार्य भएन ।

यस वर्षको तिजमा कुन गीत ल्याउनुभयो ?

यो वर्ष पनि तिज गीत ल्याएकी छु । ‘देवर ज्युको बिहे’ बोलको गीत छ, मेरै युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ । जुन गीत बद्री पंगेनी दाइ र मैले आवाज दिएका छौँ । जसमा हामीलाई बाल कलाकार पूजा देवकोटा बहिनी र सुप्रिम मल्ल भाइले पनि आवाजमा साथ थिएका छन् । यस गीतलाई पनि पहिलेको गीतजस्तै दर्शक स्रोताले मन पराउनुभएको छ ।

तिजमा तपाईं कत्तिको व्रत बस्नुहुन्छ ?

पहिले–पहिले त म व्रत बस्थेँ दाङतिर हुँदा । हजुरआमा र मम्मी बस्नुहुन्थ्यो, अनि मलाई पनि रहर लाग्थ्यो । तर, विस्तारै गायनमा व्यस्त हुन थालेँ, कहिले स्टेज कार्यक्रममा त कहिले गीत रेकर्डमा । आफ्नो स्वास्थ्य अवस्था र समयको अभावले पनि पहिलेभन्दा अहिले कम बस्ने गर्छु ।

व्रत कसका लागि बस्ने ? श्रीमान् या आफ्नै लागि ?

व्रत पहिले पहिले त रहरैरहरमा अन्जानमा बसियो । अहिले श्रीमान्देखि घरपरिवार र आफ्नो लागि पनि हो ।

व्रत बसेर के पाइन्छ ?

व्रत बस्ने एक हिसाबले भगवानप्रतिको आस्था पनि हो । तत्कालै केही मिल्छ भन्ने हुँदैन । पूर्वकालदेखि चल्दै र मानिँदै आएको धार्मिक परम्परालाई मान्यता दिनु हिन्दू धर्मावलम्बीहरूको पहिचान र विशेषता हो ।

तपाईंको पहिलो गायन यात्रा कहिलेबाट भयो ?

मैले पहिलो बालगीत ०५४ सालमा रेडियो नेपालमा रेकर्डिङ गराएकी थिएँ ।

आफ्नो शिक्षाबारे पनि भन्दिनु न ?

मेरो प्रारम्भिक शिक्षा त आफ्नै जन्मस्थानदाङबाटै भयो, तर बाँकी शिक्षा काठमाडौंको रत्नराज्य मावि तथा शिक्षा ललितकला क्याम्पसबाट ।

तपाईं अहिलेसम्म सांगीतिक कार्यक्रमको लागि पुगेका देश कति छन् ?

पुग्न त धेरै देशमा गुगिसकेको छु । तर, मलाई सम्झना आएका देश भने अमेरिका, जापान, बेलायत, क्यानडा, अस्ट्रेलिया, रसिया, भारतलगायत हुन् ।

तपाईंले के–के महत्वपूर्ण अवसर प्राप्त र भूमिका निभाउनुभएको छ ?

यो यात्रामा लागेदेखि पाएका अवसर र मैले निभाएका भूमिका आशा लाग्दै छन् । म जाने कार्यक्रममा आयोजकहरूले प्रायः सम्मान गर्नुहुन्छ । हजुरले सोधेका प्रश्नको जवाफमा भन्नुपर्दा हालसम्म सयको हाराहारीमा सम्मानित भएकी छु । त्यस्तै, आठ वटा अवार्ड र १२ भन्दा बढी रियालिटी सोहरूमा निर्णायकको भूमिका निभाएको छु ।

तपाईंलाई त भर्सटाइल गायिक पनि भन्ने गर्छन् नि ? हालसम्म कुनकुन विधाका गीत गाउनुभएको छ ?

भर्सटाइल भन्ने गर्नुहुन्छ दर्शक स्रोताहरूले तर मलाई त्यस्तो त लाग्दैन । अझै आफूलाई यस क्षेत्रमा विद्यार्थीकै रूपमा लिएको छु । वास्तवमा भन्नुपर्दा अहिलेसम्म लोकगीत, लोकदोहोरी, आधुनिक, चलचित्र, शास्त्रीय, पप, कल्चरल र देउडालगायत गीतहरूमा आवाज दिएकी छु ।

लोकदोहोरीमा सबैभन्दा बढी रुचाइएको र तपाईंलाई चिनाउने गीत कुन हो ?

लोकदोहोरी गीतमा दर्शक स्रोताहरूले प्रायः सबै नै गीत रुचाउनु नै भएको छ । तर, तीमध्यमा पनि मलाई चिनाउने र रुचाइएको गीत पश्चिमेलीमा ‘ससुरालीमा’ र पूर्वेलीमा ‘काफल गेडी कुटुक्कै’ जस्तो लाग्छ । ‘ससुरालीमा’ मेरो लोकदोहोरीको पहिलो हो ।

ससुरालीमा बोलको गीत रुचाइन पनि निक्कै रुचाइयो । तर, गायक बद्री पंगेनी र सिन्धु मल्लको माया प्रेम बस्यो भन्ने हल्ला पनि थियो नि त्यो समय ?

गीत गाउँदैमा माया प्रेम भइहाल्ने होइन । हाम्रो गीत सुनेर हामीलाई माया गर्ने दर्शक स्रोताले शंका मान्नुभयो होला, त्यसमा मलाई केही लाग्दैन । त्यस बेलाको वातावरण र समाज नै त्यस्तै थियो । यद्यपि हाम्रो त्यस्तो सम्बन्ध भए त विवाह हुन्थ्यो होला नि ? हाम्रो दाजु र बहिनीको सम्बन्ध थियो त्यो समय । अहिले पनि त्यही सम्बन्ध कायम नै छ । बद्री दाइले मलाई बहिनी भनेर माया गर्नुहुन्छ, मैले दाइ भनेर सम्मान गर्छु । उहाँको आफ्नै श्रीमती र छोरी अनि मेरो भाउजु र भतिजी हुनुहुन्छ, मेरो पनि अर्कै श्रीमान् र छोरा छन् ।

गायक बद्री पंगेनीसँग भेट कसरी भयो ?

दाइ र मेरो भेट गीत गाउने क्रममा नै भएको हो । त्यो समय मेरो धेरै चर्चा नभए पनि नारायण रायामाझी अंकलको रिमा रेकर्डिङ स्टुडियोमा म गीत गाउन गइरहन्थेँ, स्टेप बिस्तारै बढ्दै थियो । बद्री दाई पनि नयाँ हुनुहुन्थ्यो, एउटा राम्रो गीतको तयारी गर्दै हुनुहुँदो रहेछ कठमाडौं डिजिटल स्टुडियोमा, कसैले दाइलाई भन्यो होला सिन्धु मल्लले पनि राम्रो गीत गाउँछिन्, त्यो समयमा अहिलेजस्तो धेरै कलाकार पनि थिएनन् । सायद दाइलाई आफ्नो साथमा नयाँ गायिका चाहिएको थियो होला तर मलाई थाहा थिएन । अनि गीत गाएर बिचार गरौँ न त भन्नुभयो, मैले गाएँ अनि गीत राम्रो भयो र चल्यो पनि । यही नै हो भेट ।

आफ्नो श्रीमान्को बारेमा पनि केही भन्ने कि ?

मेरो श्रीमान् सुदाम थापा पनि राम्रो संगीतकार नै हुनुहुन्छ । उहाँको घर डडेलधुरा हो ।

तपाईं दाङको अनि श्रीमान् डडेलधुरा, दाङ र डडेलधुरा दुरीमा त धेरै टाढा पर्छ नि ? भेट कसरी भयो ?

उहाँसँग पनि गीत संगीतको क्रममा नै भेट भएको हो । उहाँ संगीतकार अनि म गायिका, उहाँले फोन गरेर गीत गाउन बोलाउनुभएको थियो । म गएँ अनि भेट भयो ।

विवाह मागी हो या भागी ?

हाम्रो विवाह भागी नै हो । सुरुमा गीत रेकर्ड भयो, दुई/तीन महिनापछि फेरि गीत गाउनै बोलाउनुभयो, उहाँले मलाई मन पराउनुभएको रैछ । त्यसपछि आफैँले विवाहको प्रस्ताव गर्नुभयो र हामी भागीहाल्यौँ ।

घरमा बुबाआमाको सल्लाह लिनुभएन ?

बुबाआमाले त अझै केही वर्ष पढेर मात्रै विवाह गरिदिने सोचमा हुनुहुन्थ्यो । तर, हामी दुवै जनाको मन परापर भइसकेको थियो । लामो समयसम्म फेरि सम्बन्ध बिग्रने हो कि भन्ने लागेर भागियो ।

अहिले बुबाआमाको कत्तिको माया पाउनुभएको छ त ?

बुबाआमाको माया त भइहाल्छ नि । माया गर्नुहुन्छ, त्यो बेला पो आफ्नो छोरी केही पढोस् भनेर मेरै लागि भलाइ चिताउनुभएको थियो ।

विवाह हुनुअघि अन्य कसैसँग प्रेम थियो कि ?

त्यस्तो केही थिएन, सिधै उहाँ (श्रीमान् सुदाम थापा) सँग मात्रै प्रेम भएर विवाह भयो ।

गीतसंगीतमा श्रीमान्ले कत्तिको साथ–सहयोग गर्नुहुन्छ ?

धेरै साथ छ उहाँको । उहाँको साथले त म अहिलेसम्म सांगीतिक क्षेत्रमा टिकेको छु ।

कलाकार राष्ट्रको गहना भन्ने गरिन्छ नि ?

भन्ने गरिन्छ, किनकी गहना भनेको अमूल्य चिज हो र त भनिन्छ । कलाकारले मनोरञ्जन दिएर त हरेक मानिसले समय व्यतित गर्दछन् ।

कलाकारले समाजमा कस्ता सन्देश दिनुपर्छ ?

समाजमा हुने गरेका सबै विषयवस्तु गीतमार्फत प्रस्तुत गर्नुपर्छ । देशको मौलिकपन र पहिचान विदेशसम्म पु¥याउन कलाकारको भूमिका हुनुपर्छ । विकृतितर्फ कलाकार जानु हुँदैन ।

विकृति त आइरहन्छ नि यो क्षेत्रमा ? के तपाईंको आवाजले यस्ता कार्य नियन्त्रण गर्नुमा मद्दत होला ?

मेरो आवाजले मात्रै पुग्दैन । कलाकार आफैँ सचेत हुनुपर्छ र बल्ल नियन्त्रण होला । तर, यसमा मिडियाले पनि सञ्चारमार्फत समाचार सम्प्रेषण गरेर भूमिका खेल्नुपर्छ ।

तिजलगायत दोहोरीसम्मका गीतमा छाडापन ल्याउने कलाकारलाई तपाईंको सुझाव के छ ?

छाडापन ल्याएर आफ्नो देश एवं आफ्नै गरी खने क्षेत्र बर्बाद गर्न हुँदैन । त्यस्तो गर्नेको सांगीतिक माहौलमा टिकाउ हुँदैन । केही क्षणिकका लागि मात्रै सीमित हो । दुर्घटनातर्फ आफूलाई लैजानु मुर्खता हो ।

अन्त्यमाः आगामी दिनको सोच के छ ?

अन्य व्यवसाय गर्नेबारे केही सोच छैन । यति लामो समय त सांगीतिक क्षेत्रमै बित्यो भने अब आएर किन यो यात्रा तोड्नु ? छुट्टै पेसा गर्नु त फेरि जिरो लेबलबाट सुरु गर्नुपर्छ । अहिले जुन क्षेत्रमा छु यसैमा अझै सशक्त भएर लाग्नेछु ।

प्रतिक्रिया