सप्तकोसीको वितण्डा

सप्तकोसी नदीले बुधबार बिहानैदेखि फेरि वितण्डा मच्चाएको छ । सप्तकोसीको पश्चिम भंगालो उदयपुरको बेलका नगरपालिकाको मुख्य बस्तीमा पसेको छ । जसका कारण करिब १० हजार मानिस विस्थापित भइसकेका छन् । थप १० हजारलाई सुरक्षित स्थानतर्फ सार्ने काम धमाधम भइरहेको छ । सप्तकोसीको पश्चिम तटबन्ध क्षति भएको सूचना समयमै प्राप्त भएकोले मानवीय क्षति खासै हुन पाएन, तर पशु चौपाय, घरको अन्नपात तथा बालीनालीको क्षति भने अकल्पनीय छ । बेलका नगरपालिकाको मात्रै धानबाली लगाइएको करिब दुई हजार हेक्टर जमिन बगरमा परिणत भएको छ । विगतमा जस्तो भारी वर्षा नहु“दा पनि यसपटक सप्तकोसीले ठूलो क्षति पुर्याउनुको मुख्य कारण लापरबाही हो । लापरबाही सबै क्षेत्रबाट भएको छ ।


पहिलो कुरा त अहिले जुन क्षेत्रमा सप्तकोसीको पश्चिम भंगालो पसेको छ, त्यो क्षेत्रमा ०४५ सालअघि पनि यसरी नै सप्तकोसी बग्थ्यो । ०४५ सालको भूकम्पपछि सप्तकोसीको पश्चिम भंगालो पूर्वतर्फ मोडिएर मूलधारमा मिसियो । यसरी नदीले छाडेको जमिनमा सामान्य तटबन्ध गरी बसोबासको व्यवस्था मिलाइयो । बस्ती विकसित हुँदै जाँदा सानोतिनो सहरमा परिणत भयो । तर, सप्तकोसी कुनै पनि बेला पहिलेकै ठाउँमा आउनसक्छ भन्ने मामिलामा गम्भीरता अपनाइएन । सामान्य तटबन्धको भर परियो । अहिलेको वितण्डा त्यही लापरबाहीको उपज हो । तटबन्ध एक्कासि फुटेको पनि होइन । यस वर्षको मनसुन सुरु भएदेखि नै सप्तकोसी नदी क्रमशः पश्चिमतर्फ च्यापिन थालेको थियो ।

बर्सेनि पिँधमा जम्मा हुने बालुवाका कारण आसपासको जमिनको सतहभन्दा अग्लो हुनु सप्तकोसी नदीको विशेषता नै हो । गत असारको पहिलो सातादेखि पश्चिम तटबन्ध कटान हुन थालेको समाचार मिडियामा आएको थियो । बेलका नगरपालिकाका प्रमुख अशोक कार्की स्वयंले समाचार प्रवाह गरेका थिए । नगरप्रमुख कार्कीले यो खतराका विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रदेश–१ को सरकार तथा संघीय सरकारलाई समेत तटबन्धको कटान सुरु भइसकेको जानकारी गत असार १५ गतेभित्रै दिएका थिए ।

गत असार २२ गते मूलधारमा सबै राष्ट्रिय मिडियाहरूले सप्तकोसी नदी ०४५ सालअघिकै ठाउ“बाट बग्ने तरखर गरेकोले ठूलो क्षति हुने विषयमा समाचार प्रवाह गरेका थिए । तर न त बेलैमा तटबन्ध मर्मतको काम सुरु गरियो, न त स्थानीय बासिन्दालाई बेलैमा सुरक्षित स्थानतर्फ सार्ने प्रयास गरियो । खतराको जानकारी आउनासाथ बेलैमा तटबन्ध मर्मत गरिएको भए यो क्षति बेहोर्नुपर्ने थिएन । स्थानीय बासिन्दालाई बेलैमा सुरक्षित स्थानमा सार्ने पहल सुरु गरिएको भए, भा“डाकु“डा, लत्ताकपडा, पशुचौपायहरू छाडेर अचानक भाग्नुपर्ने अवस्था सिर्जना हुने थिएनन् । देख्नलाई मुलुकमा तीन तहका सरकारहरू छन्, तर बेलका क्षेत्रका सप्तकोसी बाढीपीडितहरूले मुलुकमा सरकार रहेको महसुस गर्न पाएनन् ।


नदी हिँड्ने परम्परागत क्षेत्रमा बस्ती बसाएपछि यस्तै हुन्छ भन्ने तर्कका साथ अधिकांश मिडियाहरूले यो समाचार प्रवाह गरेका छन् । झट्ट हेर्दा हो पनि । तर, सप्तकोसी नदीको हकमा यो तर्क गर्नु बास्तविकता नबुझ्नु हो । नेपालका अन्य नदी र सप्तकोसी नदीको विशेषतामा धेरै फरक छ । समथर भूभागमा आउनासाथ धार परिवर्तन गरिरहनु सप्तकोसी नदीको विशेषता हो कुनै बेला करिब एक सय किलोमिटर पूर्व अर्थात मोरङ र झापाको सीमा हुँदै सप्तकोसी नदी बग्ने गरेको तथ्यांक छ । तर, अहिले त्यस क्षेत्रमा घना आवादी छ । सप्तकोसी नदीले धार परिर्वतन गर्दै जानको मुख्य कारण हो नदीसँगै बगेर आउने माटो तथा गेग्रयान । सप्तकोसीका प्रायः सबै सहायक नदीहरू तिब्बत क्षेत्रबाट मुख्य हिमाली खोँच छिचोलेर ठाडै बगेर आएका छन् ।

त्यस क्षेत्रको जमिन अत्यन्त कमलो छ, त्यसमाथि पनि नदीहरू ठाडा छन् । त्यसैले यी नदीहरूले द्रुत गतिले ठूलो परिमाणमा माटो तथा गेग्रयान बोकेर ल्याउ“छन् । समथर क्षेत्रमा आइसकेपछि माटो र गेग्रयान नदीको पिँधमा जम्मा हुन थाल्छ, अनि पानीको धार दायाँ तथा बायाँ जहाँ होचो छ त्यतैतर्फ बग्न थाल्छ । यो सिलसिला हजारौँ वर्षदेखि चलिरहेको छ । करिब ६ दशकअघि नेपाल–भारत सीमा क्षेत्रमा सप्तकोसी व्यारेज बनेको छ । ब्यारेजले बनाएको जलाशयको पिँधमा माटो तथा गेग्रयान जम्मा हुने क्रम झन् बढेको छ । कोसी ब्यारेज भन्दा उत्तरतर्फको जलाशयको पिँध आसपासको जमिनभन्दा दुई मिटर अग्लो भइसकेको विज्ञहरूले जनाएका छन् । यदि त्यो माटो तथा गेग्यानको व्यवस्थापन समयमै नगर्ने हो भने कुनै पनि दिन सप्तकोसीले अकल्पनीय क्षति पुर्याउने अनुमान गर्न गारो छैन । त्यसैले सरकार समयमै गम्भीर बन्नु जरुरी छ ।

प्रतिक्रिया