स्वास्थ्यमन्त्री खापुङलाई गगन थापाका तीन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएका छन् । थापाले बिहीबार मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री खापुङसँग भेटवार्ता गरी स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि तीन सुझाव दिएका हुन् ।

सचिवालयका अनुसार भेटमा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भयो । तर‚ महामन्त्री थापाले भेटमा स्वास्थ्यमन्त्री खापुङलाई तीन सुझाव दिएको सार्वजनिक गरेका छन् । थापाले स्वास्थ्यमन्त्री खापुङलाई स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएको बताएका छन् । उनले सेवालाई सहज र गुणस्तरीय बनाउन र जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन गर्न समेत सुझाव दिएको बताए ।

‘स्वास्थ्य बीमाको सन्दर्भमा आज स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख रुपैयाँको बनाउन, सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयनलगायत विषय राखेको छु । विश्वास छ, मन्त्रीज्यूको सकारात्मक पहल लिनुहुनेछ,’ महामन्त्री थापाले सामाजिक सन्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया