स्कुल बसका चालक मापसेमा मस्त !

लापरवाहीको पराकाष्ठा

काठमाडौं । स्कुल बसका चालकले समेत मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्न थालेपछि ट्राफिक प्रहरीले सवारी जाँचमा थप कडाइ गरेको छ । एक साताको अवधिमा सात वटा स्कुल बसका चालकले मापसे गरेर सवारी हाँकेको अवस्थामा फेला परेका छन् । बुधबार मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सञ्चालित २ सय ६३ जना सवारी चालकलाई कारबाही गरेको छ । त्यसमध्ये पानी बोक्ने ७१, एम्बुलेन्स पाँच र अन्य १ सय ८७ वटा सवारीका चालक कारबाहीमा परेका हुन् ।

सवारी जाँचका क्रममा मापसे गरेर सवारी हाक्ने सात जना चालक भेटिएका छन् । ती मध्ये पनि दुई जना स्कुल बसका चालक हुन् । सानो भ¥याङस्थित हाइड एन्ड सिक मन्टेश्वरी स्कुलको भ्यानका चालक वीरेन्द्र तामाङ र बानियाटारस्थित फ्लोरोसेन्ट इंग्लिस हायर सेकेन्डरी स्कुलका बस चालक खिमप्रसाद पुनले मापसे गरेर सवारी चलाएको पाइएको जानकारी ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले दिए ।


एनका अनुसार स्कुल बसका चालक र साधनलाई सम्बन्धित स्कुलका प्रधानाध्यापकको जिम्मा लगाइएको छ । यसैगरी मापसे गरी सवारी हाँक्ने पानी बोक्ने गाडीका तीन जनाचालक र अन्य सवारी हाँक्ने दुई चालकलाई समेत कारबाही गरिएको छ ।

कारबाहीका क्रममा नम्बर प्लेट नै नराखी चलाएको एउटा एम्बुलेन्ससमेत नियन्त्रणमा लिइएको जानकारी भट्टले दिए । एसपी भट्टका अनुसार आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ वटा माइक्रो तथा बसका चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ ।

ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले काठमाडौं उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोहृखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकाले कारवाहीको दायरामा ल्याइएको जानकारी भट्टले दिए ।

उनले भने, ‘नियमित कारबाही जहिल्यै चल्छ तर, अहिले हामीले विशेष रूपमै चेक प्वाइन्ट राखेर सवारी जाँच गर्छौं । स्कुलका विद्यार्थी बोक्नेजस्तो संवेदनशील सवारी साधनका चालकले समेत मापसे गरेको भेटिँदा दुःख लाग्छ ।’ उनले चेक प्वाइन्टमा कारबाहीमा परेका सम्बन्धित विद्यालयका प्रशासन र अन्य स्कुललाई समेत चालकको बानी व्यहोरा र आनीबानीबारे बुझेर मात्रै सवारी हाँक्न दिन ध्यानाकर्षण गराइको बताए ।

प्रतिक्रिया