नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्न समेत क्रान्तिकारीले माग गरेको छ । २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दसौँपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरूको माग रहेको छ ।

सामुदायिक शिक्षादेखि व्यवसायीक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरूको भनाइ छ । शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको अखिल क्रान्तिकारीको माग पत्रमा उल्लेख छ उल्लेख छ ।

प्रतिक्रिया