ओलीद्वारा गल्ती स्वीकार

पूर्वप्रधाननमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धी गर्दा गल्ती भएको स्वीकार गरेका छन् । राजधानी काठमाडौंमा आयोजित पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले महाकाली सन्धीका क्रममा भएको गल्ती स्वीकार गरेका हुन् । कार्यक्रममा बोल्दै ओलीले भने, ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे ।’ तर महाकालीको मुहान कुन हो भन्ने कुरा सन्धीमा उल्लेख नगरिँदा उत्पन्न समस्याका विषयमा भने एमाले अध्यक्ष ओलीले मुख खोल्न चाहेनन् ।

महाकाली नदीको उद्गम स्थलका सन्दर्भमा सन्धीमा केही कुरा उल्लेख नगरिएका कारण भारतले लिम्पियाधुरादेखि कालापानी सम्मको ठूलो क्षेत्रफल आफ्नो भएको दावी मात्रै गरेको छैन, सेनासमेत तैनाथ गरी उपभोग गरिरहेको छ । महाकाली सन्धीका क्रममा भएका दुई मुख्य गल्तीहरूमध्ये पहिलो गल्ती नदीको मुहानको विषयमा उल्लेख नहुनु हो भने दोस्रो गल्ती यसअघि उपभोग भएको पानीको बाँडफाँड यथावत रहने प्रावधान हो । सन्धीमा भएका यी दुई गल्तीका कारण महाकाली नदीको साविकको पानीमा नेपालको हक गुमेको छ भने कालापानी तथा लिम्पियाधुरासम्मको विशाल नेपाली भूमीमा भारतीय अतिक्रमणलाई बल पुगेको छ ।

महाकाली सन्धी अघि बढ्दादेखि नै विज्ञहरूले यी दुई वटा मुद्दामा कुरा उठाउँदै आएका थिए । मुख्य राजनीतिक दलहरू कांग्रेस र एमालेभित्र पनि फरक दृष्टिकोण प्रकट भएको थियो । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसमा शैलजा आचार्य समूहले विरोध जनाएको थियो भने प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र बामदेव गौतम समूहले विरोध जनाएको थियो । यसका बाबजुद संसद्बाट दुईतिहाइ बहुमतले सन्धी अनुमोदन गराउन ओलीले निर्णायक भूमिका खेलेका थिए । यति सम्मकी संसदीय मर्यादा, बहुदलीय व्यवस्थाको मर्म विपरीत एमालेका तत्कालीन नेता ओली नेपाली कांग्रेस संसदीयदलको बैठकमा भाषण गर्न पुगेको थिए । उनले महाकाली सन्धी यस कारण पास गर्नुपर्छ भन्दै नेपाली कांग्रेसको संसदीय दलको बैठकमा डेढ घण्टा भाषण गरेका थिए । ओलीको भाषणपछि नेपाली कांग्रेसका सांसदहरू महाकाली सन्धीको पक्षमा एक ढिक्का भएका थिए, तर नेकपा एमालेका करिब आधा सांसदहरूले भने विद्रोह गरे ।

महाकाली सन्धीको विपक्षमा मत हाल्ने र मतदान बहिष्कार गर्ने सांसदहरूले एमाले विभाजन गरे । त्यतिबेला ओलीको भनाइ थियो, ‘महाकाली सन्धी पारित भएपछि नेपालले भारतमा बिजुली बिक्री गरेर वार्षिक १ खर्ब २० अर्ब रुपैया“ आम्दानी गर्नेछ, तर महाकाली सन्धी पारित भएको केही वर्षपछि नै नेपालमा लोडसेडिङ सुरु भयो । दैनिक १८ घण्टासम्म नेपालले लोडसेडिङ बेहो¥यो । महकाली सन्धी भएको साढे दुई दशक बित्दासमेत महाकाली पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण अघि बढ्ने सुरसार छैन । यथास्थितिमा यो आयोजना अघि बढ्ने संभावना पनि छैन । किनकी महाकाली सन्धीको एउटा प्रावधानअनुसार नदीको सबै पानीमा भारतको अग्राधिकार कायम भइसकेको छ । पुरै पानी भारतले निर्वाध रूपमा प्रयोग गरिरहेको छ । त्यसैले आयोजना निर्माणको काम अघि सारेर थप टाउको दुखाउन भारत तयार छैन ।

ढिलै भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेका छन् । तर अर्का मुख्य पात्र शेरबहादुर देउवाले महाकाली सन्धीलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलव्धी भन्न छाडेका छैनन् । त्यस यता नेपाली कांग्रेसले जारी गरेका हरेक चुनावी घोषणापत्रमा महाकाली सन्धीलाई आफ्नो पार्टीको सरकारद्वारा भएको मुख्य उपलव्धी भनेर उल्लेख गर्ने गरेको छ । राष्ट्रघातलाई उपलव्धी मान्ने पार्टीलाई जनताले आँखा चिम्लेर भोट हाल्ने र त्यही पात्र प्रायःजसो प्रधानमन्त्री भइरहने विडम्वनाबाट हाम्रो मुलुक गुज्रेको छ । जसरी सिक्किमका लेण्डुप दोर्जेले जीवनको उत्तरार्धतिर आएर गल्ती स्वीकार गरेका थिए, त्यसरी नै ओलीले पनि गल्ती स्वीकारेका छन् । प्रधानमन्त्री बन्ने पालो पुगेपछि देउवाले पनि गल्ती स्वीकार्लान् तर महकाली फिर्ता हुने अवस्था छैन । जसरी लेण्डुपले गल्ती स्वीकार्दैमा सिक्किम फिर्ता भएन त्यसरी नै ओली या देउवाले गल्ती स्वीकार्दैमा महाकाली फिर्ता हुने छैन ।

प्रतिक्रिया