साउदीमा एक वर्षमा २ सय ६ को मृत्यु

वैदेशिक रोजगारीको पीडा

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका नेपालीमध्ये गत आर्थिक वर्ष (०७८/७९) मा २ सय ६ जनाको मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १ सय ८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार, आठ जनाको शव भने नेपाल पठाउन बाँकी रहेको छ ।

दूतावासका अनुसार १ सय १२ जनाको प्राकृतिक कारणले मृत्यु भएको पाइएको छ । हृदयाघातका कारण मृत्यु भएकाको तथ्यांक पनि यसैभित्र समेटिएको छ । ३४ जनाले भने आत्महत्या कारण ज्यान गुमाएका हुन् ।

यसैगरी ३१ जनाको सडक दुर्घटनामा मृत्यु भएको हो । १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको दूतावासले जनाएको छ । एक जना नेपालीको भने हत्या भएको थियो । (न्युज कारखाना)

प्रतिक्रिया