काठमाडौं । पोखरामा ६ महानगरपालिकाका मेयरहरुको बैठक सम्पन्न भएको छ । संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै पोखरामा आयोजित महानगरपालिकाका मेयरहरुको बैठक सम्पन्न भएको हो । बैठकले संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं,’ पोखरा घोषणापत्रमा उल्लेख छ ।
यसबाट संघ र प्रदेश सरकारहरुसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सहज बन्ने महानगरपालिकाका मेयरहरुको निष्कर्ष छ । महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने प्रण पनि मेयरहरुले गरेका छन् ।
महानगरका छिमेकी पालिकाहरुसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरुसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ । संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरुले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया