एसईईको नतिजा साउन दोस्रो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।

उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरण रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । ‘विगतमा नतिजा सार्वजनिक भएपछि केही न केही त्रुटी देखिन्थ्यो । त्यसैले नतिजा सार्वजनिक भएपछि त्रुटी सच्याउन आउनेको भिड लाग्थ्यो । त्यसैले यसपटक कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ’, उनले भने ।

उनले सबै विवरण रुजु गरेर अन्तिमपटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । स्थानीय तहको निर्वाचनका कारण केही दिन नतिजा पर धकेलिएको उनले बताए ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उनको भनाइ छ ।

‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन । हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ । आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ’, उनले भने ।

एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गरिने बताए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी परीक्षणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको बताए ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी कुल ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएको जानकारी परीक्षा नियन्त्रक रायमाझीले दिए ।

प्रतिक्रिया