सार्क देशहरूको आर्थिक संकटमा भारतको भूमिका

एनपी रिजाल


विगत एक वर्षको दौरानमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य देशहरूमध्ये दुई देश अफगानिस्तान र श्रीलंकाका राष्ट्रपति देश छोडेर भाग्ने अवस्था सिर्जना भयो । गत वर्ष संयुक्त राज्य अमेरिकाले अलकायदा आतंककारीको अन्त्य गर्ने भन्दै २० वर्षसम्म अफगानिस्तानमा रहेका सेना आफ्नो देशमा फिर्ता लगेको एक हप्ता नबित्तै तालिवानले पुरै देश कब्जा गर्यो ।

तत्कालीन अफगान राष्ट्रपति असरफ गानीले सत्ता छाडेर भागे । उनी कमजोर नेतृत्व क्षमताको कारण सत्तामा टिक्न सकेनन् । त्यसको लगभग एक वर्षपछि श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे पनि आफ्नो पद त्याग नगरी छिमेकी देश माल्दिभ्सको बाटो हुँदै सिंगापुर उडे ।

देशमा चरम मूल्यवृद्धि भएको अवस्था एकातिर छ भने अर्कोतिर विदेशी परिवत्य मुद्रा (अमेरिकी डलर) को सञ्चितिमा आएको कमीले श्रीलंकामा वस्तु तथा सेवाको आयातमा ठूलो समस्या सिर्जना भएको छ । परीक्षा सञ्चालन गर्ने कागजको अभावमा विद्यालय बन्द गर्नुपर्यो भने अस्पतालमा क्यान्सरजस्ता जटिल रोगीको उपचारमा प्रयोग हुने औषधिको अभाव देखियो ।

आमजनता राष्ट्रपतिको विरोधमा सडकमा मात्र उत्रेनन् राष्ट्रपति भवन नै कब्जा गरे । कमजोर आर्थिक अवस्थाको विरोधमा उठेको जनआक्रोशको दबाब थेग्न नसकेर गोटावाया राजापाक्षे देश छोड्न बाध्य भए । तालिवान सत्तामा आएसँगै अफगानिस्तानमा राजनीतिक संकट समाधान भएको छ । स्वयं अमेरिका पनि तालिवान सरकारसँग मिलेर आर्थिक र सामाजिक रूपान्तरणको अभियानका लागेको छ ।

सार्क संगठनमा सहभागी देशहरूमा भारतको उपस्थिति केन्द्रको छ र अन्य देशहरू केन्द्रको पेरिफेरीमा छन् । तर, भारतले आफूले अन्य ससाना भूभाग र कमजोर आर्थिक अवस्था भएका देशहरूले आफूलाई घेराबन्दीमा पारेको अनुमान गरेको छ । अझै पनि भारत त्यो मानसिकताबाट उम्कन सकेको छैन । भारतले दक्षिण एसियाली देशहरू भन्दा पनि अन्य संगठनप्रति भारतको चासो छ । अन्य देशहरूका लागि भारत दक्षिण एयिसामा ठूलो बजार पनि हो ।

एक वर्षको दौरानमा दुई वटा सार्क मुलुकमा घटेको सत्तामा नेतृत्वकर्ता देश छोड्नुपर्ने घटनाका छुट्टाछुट्टै आधार छन् । अफगानिस्तानको अस्थिरताको कारण राजनीतिक हो । भूपरिवेष्टित देश अफगानिस्तानको भू–बनोटमा विगतका विभिन्न समयमा पश्चिमा देशहरूले आफ्नो प्रभाव जमाउन खोज्दै आएको पाइन्छ । श्रीलंका बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको देश हो ।

कुनै समय दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक सूचकांक भएको टापु मुलुकको रूपमा चिनिएको श्रीलंकाले तामिल टाइगरसँगको संघर्षमा पनि यति ठूलो आर्थिक समस्या भोग्नुपरको थिएन । तामिल टाइगर्स विद्रोहीलाई घुँडा टेकाउने राजापाक्षे परिवारको उदयसँगै श्रीलंकामा पछिल्लो आर्थिक संकटको सुरुआत भएको देखिन्छ ।

सत्तामा एउटै परिवारको हालीमुहाली हुन थालेसँगै असान्दर्भिक आर्थिक रूपान्तरणका योजना अगाडी सारिए, वैदेशिक ऋणको भार थप्दै लगियो तर त्यसको उचित प्रयोग नगर्दा भुक्तानी गर्ने रकमको अभाव हुन थाल्यो, कोराना महामारीको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्नुजस्ता कारणहरूले श्रीलंकामा अमेरिकी डलरको सञ्चितिमा कमि आउन पुग्यो ।

आर्थिक समस्या समाधान गर्न उचित निर्णय गर्न नसक्दा सिर्जना भएको समस्याको दबाब थेग्न नसक्दा गोटावाया राजपाक्षे मध्य रातमा देश छोड्नुपर्यो । पछिल्लो समयमा पाकिस्तान र नेपालको अर्थतन्त्र पनि श्रीलंकाको लयमा छ भन्ने बहस हुने गरेका छन् ।

कोरोना महामारी पछिको नेपालको अर्थव्यवस्था पनि सन्तोषजनक छैन । कोरोना कालमा आयातको आकार घटेको भए पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, विप्रेषणमा आप्रवाहमा देखिएको सुस्तता, बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या र अमेरिकी डलरको सञ्चितिमा आएको कमीलाई नियालिरहेका विश्लेषकहरू पछिल्लो समयको नेपालको आर्थिक अवस्थालाई सन्तोषजनक रूपमा लिँदैनन् ।

गाउँ सहरका ससाना चियापसलदेखि ठूला राजनीतिक दलले शीर्ष नेताहरूको पार्टी बैठकमा मात्र होइन सदनमा पनि नेपालको अर्थतन्त्र श्रीलंकाको दिशामा गइरहेको उठानले आमजनतामा त्रास छाएको छ । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास गरेको देखिँदैन । विदेशबाट आयात भइरहेका विलासी वस्तुहरूको प्रवाहमा प्रतिबन्ध लगाएको भए पनि अमेरिकी डलरको सञ्चितिमा वृद्धि गर्न त्यो भरपर्दो हतियार हुन सकेको छैन ।

सार्क देशहरूको केन्द्रमा रहेको भारत निकट भविष्यमा विश्वको ठूलो जनसंख्या भएको देश बन्दै छ । आर्थिक विकासको पाटोमा पनि तीव्रता दिइरहेको भारत र उत्तरमा रहेको चीनको भीमकाय अर्थतन्त्रको बीचमा रहेको नेपालले त्यसबाट फाइदा लिन सक्नुपर्छ । तर पछिल्लो समयमा सार्क देशहरूमा सिर्जना भएको आर्थिक संकटलाई सही दिशा दिनका लागि भारतले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

भारतीय मुद्रामा कारोबार

श्रीलंकामा देखिएको आर्थिक संटकका कारण भारत लगायतका अन्य सार्क मुलुकमा श्रीलंकाली शरणार्थी समस्या नदेखिए पनि अफगानिस्तानबाट नेपालसम्म शरणार्थी आएका छन् । बंगलादेशबाट रोहिंग्याहरू काठमाडौंसम्म आएका छन् । नेपाल र भारतबीचको मुद्रा विनिमय दर स्थिर भए पनि नेपालले भारतबाट वस्तु तथा सेवाको आयात गर्न अमेरिकी डलरमा नै भुक्तान गर्नुपर्ने बाध्यता छ ।

आर्थिक संकट बेहोर्दै आएको श्रीलंकासँग विदेशबाट वस्तु आयात गर्नका लागि अमेरिकी डलरको समस्या भोग्दै आएको छ । भारतसँग सिमाना जोडिएका नेपाल, बंगलादेश, भुटान, श्रींलका भारतका नजिकका व्यापारिक साझेदार हुन् ।

त्यस्ता छिमेकी साझेदारी देशहरूका लागि आर्थिक संटकको समयमा भारतीय मुद्रामा वस्तु तथा सेवाको निर्यात गर्न भारतीय पक्ष सहमत हुनसके अल्पकालीन समयमा आर्थिक संकटबाट पार पाउन सक्नेछन् ।
विगतमा सार्क देशहरूबीच एकल मुद्रा प्रयोगमा ल्याउनेबारे बहस नभएका होइनन् ।

तर, भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण सार्क सम्मेलन पनि नियमित हुन नसकेको अवस्थामा एकल मुद्राको सम्भावना छैन । छिमेकी देशहरूसँग आफ्नो आर्थिक र राजनीतिक प्रभाव खोजिरहेको भारतका लागि विश्व अर्थतन्त्रमा आफ्नो हैसियतको उपस्थिति देखाउन केही देशका लागि भारतीय मुद्रामा कारोबारलाई नियमित गर्न सक्छ ।

विश्व राजनीतिमा भारतको उपस्थितिको संकेत

दोस्रो विश्वयुद्धपछि विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका र तत्कालीन रुसबीच अन्य देशहरूलाई आफ्नो पकडमा पार्ने होडबाजी थियो । त्यसमा संयुक्त राज्य अमेरिका अगाडि आयो । सन् २०१३ देखि चीन बिआरआई अभियानमार्फत विश्व राजनीतिमा आफ्नो उपस्थिति जनाउँदै छ । विश्वको ठूलो जनसंख्या भएको भारतभित्र पनि आमगरिबी, आर्थिक विकासमा पछौटेपन, भ्रष्ट्राचार व्याप्त छ ।

पछिल्लो समयमा प्रविधि, क्षेत्रीय स्तरमा तीव्र आर्थिक विकास, अन्तरिक्षसम्म पहुँच पुग्ने क्षमताको विकास गर्न सकेको कारण भारतलाई आगामी एक–डेढ दशकमा विश्व अर्थराजनीतिमा ठूलो प्रभाव पार्ने मुलुकको रूपमा हेरिएको छ । भारतसँग व्यापारमा निर्भर रहेका छिमेकी देशहरूसँगको राम्रो सम्बन्धले विश्व राजनीतिमा भारतको प्रभावशाली उपस्थितिको विश्लेषण गर्न सकिन्छ ।

सार्क अर्थतन्त्रमा भारतलाई नै फाइदा

सार्क संगठनमा सहभागी देशहरूमा भारतको उपस्थिति केन्द्रको छ र अन्य देशहरू केन्द्रको पेरिफेरीमा छन् । तर भारतले आफूले अन्य ससाना भूभाग र कमजोर आर्थिक अवस्था भएका देशहरूले आफूलाई घेराबन्दीमा पारेको अनुमान गरेको छ । अझै पनि भारत त्यो मानसिकताबाट उम्कन सकेको छैन । भारतले दक्षिण एसियाली देशहरू भन्दा पनि अन्य संगठनप्रति भारतको चासो छ ।

अन्य देशहरूका लागि भारत दक्षिण एयिसामा ठूलो बजार पनि हो । भारतपछि पाकिस्तान र बंगलादेशको जनसंख्याको आकार अन्य देशको तुलनामा उच्च छ । सार्क देशहरूमा गरिबी व्याप्त छ तर विस्तारै मध्यम वर्गीय उपभोक्ताको संख्यामा पनि वृद्धि भइरहेको छ ।

आगामी दिनमा पश्चिमा देशहरूका लागि ठूला बजार पनि सार्क मुलुकहरू हुने त्यसमा पनि भारत ठूलो बजार हो । भारतले उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषिको क्षेत्रमा गरेको उपलब्धीको फाइदा घेरामा रहेका अन्य देशहरूले लिन सक्नेछन् ।

प्रतिक्रिया