कावासोतीका सबै सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्दै दाहाल

जनविकास विद्याश्रम आधारभूत विद्यालयमा पनि अक्षयकोषको स्थापना

नवलपुर । जनविकास विद्याश्रम आधारभूत विद्यालय कावासोती ३ अठ्ठाईस बिगाहामा देबिलाल/रमादेवी स्मृति छात्रवृत्ति अक्षयकोषको स्थापना भएको छ । सिद्धार्थ आवासीय माध्यमिक विद्यालय कावासोती ३ का संस्थापक प्रिन्सिपल भोजराज दाहालले सो अक्षयकोषको स्थापना गरेका हुन् । दाहालले आफ्ना स्वर्गीय बुवा देवीलाल दाहाल र आमा रमादेवी दाहालको स्मृतिमा अक्षयकोषको स्थापना गरेकाे विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिए ।

विद्यालयमा शनिबार आयोजित एक समारोहमा दाहालले अक्षयकोष स्थापनाका लागि १ लाख १ हजार १ रुपैयाको चेक विद्यालयलाई हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर पुन, सल्लाहकार समितिका संयोजक ज्ञानेन्द्र न्यौपाने विद्यालय व्यवस्थापन समिति तथा सल्लाहकार समितिका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो ।

कावासोती नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने अभियान अन्तरगत जनविकास विद्याश्रम आधारभूत विद्यालयमा अक्षयकोषको स्थापना गरिएको अक्षयकोषदाता दाहालले बताए । यो अभियान अन्तरगत दाहालले हालसम्म कावासोती नगरपालिका अन्तरगतका १७ ओटा विद्यालयहरुमा अक्षयकोषको स्थापना गरिसकेका छन् ।

यसअघि गत शनिबार विद्यालयको सल्लाहकार समितिका संयोजक ज्ञानेन्द्र न्यौपानेले विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया