तरकारी किन्न गएका युवक मृत भेटिए

सिरहा । तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका– २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका– ९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो ।

बुधबार अपरान्ह घरबाट प्र २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ ।

प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुन सक्ने अनुमान गरेको छ । तर, घटना संकास्पद रहेकाले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

घटनाको प्रकृतिअनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंका गर्ने ठाउँ रहेको उनले बताए ।

घरबाट हिँजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएका छन् । उनको मोटरसाइकलमा तरकारीसहितको झोला समेत भेटिएको छ ।

प्रतिक्रिया