ओझेलमा भानु जन्मस्थल

हरेक वर्षको असार २९ गते सरकारी स्तरमा नै भानु जयन्ती मनाउन थालिएको ७० वर्ष नाघिसकेको छ । यस वर्ष पनि २०९औँ भानु जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य १८७१ असार २९ मा तनहुँ जिल्लाको चुँदी रम्घा स्थिति पुरान्डीही गाउँमा जन्मिएका थिए । बोलीचालीमा मात्रै सीमित रहेको नेपाली भाषालाई साहित्यको माध्यमबाट प्रवर्धन गर्ने श्रेय भानुभक्त आचार्यलाई जान्छ । भानुभक्तभन्दा अगाडि पनि नेपाली भाषामा गीत कविताहरू रचना नगरिएका होइनन् । नवौं शताव्दीमै लिखित इतिहास रहेको नेपाली भाषा त्यसभन्दा धेरै अगाडिदेखि नै नेपालको मुख्य सम्पर्क भाषा थियो भन्ने कुरामा दुईमत छैन । तर, साहित्यिक तथा धार्मिक ग्रन्थ लेखनका सन्दर्भमा भने नेपाली भाषा हेपाइमा परेको थियो । संस्कृत भाषामा साहित्य तथा धार्मिक ग्रन्थहरू लेख्ने प्रचलन थियो । नेपाली भाषालाई खस कुरा भनिन्थ्यो । एकातिर संस्कृत भाषामा पढेलेखेका ब्राह्मण पुरुषहरूको मात्रै पहुँच हुनु र अर्कातिर धेरैजसो नेपालीको जनजिब्रोमा आइसकेको र सबैजसो नेपालीहरूको सम्पर्क भाषा बनिसकेको ‘खस कुरा’लाई भाषाका रूपमा विकास गर्ने अभियानको अगुवाई गरेका कारण भानुभक्तलाई आदिकवि भनिएको हो ।

राष्ट्रनिर्माणका लागि भूगोलको जति महत्व छ, त्योभन्दा बढी महत्व भाषा संस्कृतिको छ । नेपाली भाषा तथा संस्कृतिको एकीकरण भानुभक्तकै अगुवाईमा भएको हो । यस हिसाबले भानुभक्तलाई राष्ट्रनिर्माताको कोटीमा राख्न कन्जुस्याईं गरिनु हुन्न । भानुभक्तले नेपाली भाषाको एकीकरण तथा प्रवर्धन सानो त्यागले गरेका होइनन् । भानुभक्त आर्थिक रूपले सम्पन्न परिवारका होइनन् । त्यतिबेला ब्राह्मणले शिक्षादीक्षा बाहेकको जागिर खानु तल्लो स्तरको काम मानिन्थ्यो, तै पनि भानुभक्तले जागिर खाएका थिए । आर्थिक अभावका बीच पनि भानुभक्तले थुप्रै साहित्यिक कीर्तिहरू रचना गरे । धार्मिक गन्थ रामायणलाई संस्कृत भाषा पढेका ब्राह्मण पुरुष वर्गको मात्रै पहुँचबाट बाहिर ल्याउन उनले नेपाली भाषामा रचना गरे । त्यो समयको सामाजिक क्रान्ति नै थियो यो । आफ्नो जीवनकालमा भानुभक्तका रचना पुस्तकको रूपमा छापिएनन्, तर जनजिब्रोमा भने सुरक्षित भयो । वर्षौंसम्म जनजिब्रोमै जीवित रहने साहित्यको रचनालाई सामान्य भन्न मिल्दैन ।

भानुभक्त को हुन् ? र उनको योगदान के कति छ ? भन्ने सन्दर्भमा राज्यस्तर तथा जनस्तरबाट भएका पहललाई नजर्अन्दाज गर्न मिल्दैन । विश्वमा जहाँजहाँ नेपालीहरू छन्, त्यहाँ त्यहाँ भानुभक्तलाई स्मरण गर्ने गरिन्छ, भानु जयन्ती मनाउने गरिन्छ । मुलुक भित्रका भन्दा मुलुक बाहिरका रैथाने नेपालीहरूले भानुभक्तलाई बढी श्रद्धा गरेको देखिन्छ । यसको उदाहरण सिक्किम तथा दार्जिलिङ हो । नेपाली मातृभाषा हुनेले भन्दा नेपाली मातृ भाषा नहुनेहरूले भानुभक्तलाई बढी स्मरण गरेको पाइन्छ, यसका उदाहरणहरू धेरै छन् । जसलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । तर विडम्वना के छ भने भानुभक्त जुन ठाउरूमा जन्मेका हुन्, त्यो ठाउँले भने अपेक्षित रूपमा संझेको देखिन्न । उदाहरणका लागि भानुभक्त जन्मेको प्रदेश हो गण्डकी । तर, गण्डकी प्रदेशमा रहनेहरूले मुलुकमा खासै योगदान नभएका आफ्ना बाबुआमाका नाममा ट्रस्ट बनाएर राज्यको ढुकुटीबाट करोडौँ रकम विनियोजन गरेका छन्, तर भानुभक्तको जन्मस्थल विकासका लागि एक रुपैयाँ विनियोजन गरेको देखिँदैन ।

तनहुँ जिल्लाको एउटा नगरपालिका त भानुभक्तको नाम राखेरै स्थापना गरिएको छ । भानु जन्मस्थल पुरानडिही त्यही पालिकाअन्तर्गत पर्छ । तर पलिकाले अहिलेसम्म भानु जन्मस्थलको पहिचान हुने गरी निशानी राख्न सकेको छैन । अझ अर्को विडम्वना के छ भने भानुभक्तका खलक हौँ भन्ने चुँदी रम्घाका आचार्यहरूको संख्या निकै ठूलो छ । उनीहरू सबैदृष्टिले पहु“चमा छन् । तर भानु जन्मस्थललाई ओझेलमा पार्ने मुख्य काम उनीहरूबाटै भएको छ । आफूहरू भानुभक्तका बाजे श्रीकृष्ण आचार्यका सन्तान दरसन्तान भएको डंका पिट्ने तर भानुजन्मस्थलमा पाइला टेक्ने फुर्सद नपाउनेहरूको संख्या उल्लेख्य छ ।

खासै अपायक पनि छैन भानु जन्मस्थल पुरानडिही । पृथ्वीराजमार्गको डुम्र्रे बजारबाट जम्मा १२ किलोमटिर दुरीमा छ । त्यहाँसम्म पक्की सडक निर्माण गरेर साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न खासै समस्या छैन । यति काम त भानुभक्तका बंशज हौँ भन्नेहरूले नै गर्न सक्छन् । नभए स्थानीय पालिकाले मात्रै पनि गर्नसक्छ । प्रदेश सरकारले पनि गर्न सक्छ । संघीय सरकारमा पनि तनहुँ जिल्लाबाट अटुट रूपमा मन्त्री भइरहेका छन् । तर, भानु जन्मस्थलको विकासका लागि सिन्को भाँचेका छैनन् ।

प्रतिक्रिया