नेपालको दलीय राजनीति अहिले पनि कांग्रेस र कम्युनिस्ट दुई कित्ताको सेरोफेरोमै घुमिरहेको छ । राणाशासन हटाई प्रजातान्त्रिक शासन व्यवस्था स्थापनाको लक्ष राख्दै २००६ सालमा नेपाली कांग्रेस जन्म्यो । नेपाली कांग्रेसको स्थापना भएको केही महिनापछि जनवादी गणतन्त्र स्थापनाको लक्ष राख्दै नेपाल कम्युनिस्ट पार्टीको जन्म भयो । त्यस यताको ७४ वर्षको अवधिमा कांग्रेस र कम्युनिस्टबाहेक धेरै पार्टी खुले तर टिक्न सकेनन् । नेपाली जनताको भरोषा अहिले पनि कांग्रेस र कम्युनिस्टप्रति नै छ भन्ने कुरा यो अवधिमा भएका विभिन्न निर्वाचनले समेत पुष्टि गरेको छ । यतिबेलासम्म आइपुग्दा कांग्रेस र कम्युनिस्टबीच विगतको जस्तो धेरै ठूलो सैद्धान्तिक मतभिन्नता छैन । सुरुआती चरणमा एकअर्कामा पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र कम्युनिस्ट पछिल्लो समयमा मुलुकका जल्दाबल्दा मुद्दामा एक ठाउँमा उभिएको पनि देखिएको छ । जसलाई जनताले सकारात्मक रूपमा लिएका छन् ।
०४८ साल यताका चुनावी परिणामलाई हेर्ने हो भने जनताले कांग्रेस पार्टीको विकल्प कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको विकल्प कांग्रेस पार्टी ठानेको अवस्था छ । तर, कम्युनिस्ट पार्टी विभाजन हुँदा हुँदा विभिन्न चिरामा विभक्त भएकोले शासन सत्ता सञ्चालन गर्ने धेरैजसो अवसर नेपाली कांग्रेसले पाएको छ । यतिसम्म भएको छ कि बहुसंख्यक जनताले कम्युनिस्ट पार्टीलाई भोट दिने तर शासन सत्ता सञ्चालन गर्ने अवसर भने नेपाली कांग्रेसले पाउने अवस्था बनेको छ । जसका कारण पनि मलुकको लोकतन्त्र संस्थागत हुन सकिरहेको छैन ।
कम्युनिस्ट दर्शनप्रति आस्था राख्ने जनसंख्याको बहुमत नेपालमा छ, तर शासन सत्ता प्रायःजसो कम्युनिस्टको हातमा छैन । नेपालको राजनीतिक यथार्थता यही नै हो । यसको मूल कारण हो, कम्युनिस्ट पार्टीका नेताहरू एउटै संगठनभित्र अटाउन नसक्नु । सामान्य विवाद हुनासाथ अलग पार्टी खोली हाल्ने र जनमतलाई विभाजन गरिदिने चरित्र नेपालका कम्युनिस्ट नेताहरूको मुख्य कमजोरी हो । अझ ठूलो विडम्वना त के भने गलत कदममा प्रायः एक हुन्छन् तर सही कदममा मत विभाजन मात्रै होइन पार्टीसमेत विभाजन गरिदिन्छन् । यतिसम्मकी चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङकी कान्छी श्रीमतीलाई हेर्ने दृष्टिकोण नमिल्दा नेपालका कम्युनिस्ट पार्टीहरू विभाजित भएको र यही दृष्टिकोणका कारण एकआपसमा हिलो छ्यापाछ्याप गरेर वर्षाैं सम्म बेमेलको अवस्था रहेको र कांग्रेसले एक ठाउँमा ल्याइदिनुपरेको पनि देखिएको छ । टाढा जानै पर्दैन, मुख्य मुख्य कम्युनिस्ट पार्टीहरू एकठाउँमा उभिने हो भने चुनावी परिणाम कस्तो आउँछ भन्ने कुरा ०७४ सालको आमनिर्वाचनले समेत पुष्टि गरिसकेको छ ।
अनेकौँ आरोह–अवरोह तथा धु्रवीकरण एवं एकताको वषौंको प्रयासपछि ०७५ सालमा दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । यसमा ससाना दर्जनौँ कम्युनिस्ट घटकहरू पनि मिसिए । कम्युनिस्ट आन्दोलनले स्थापनाकालको जस्तै करिब करिब सिंगो आकार ग्रहण गर्यो । तर यो आकार धेरै समय टिक्न सकेन । तीन वर्ष बित्दा नबित्दै पुनर्गठित नेकपा विभाजित भएर स्पष्ट रुपमा तीन टुक्रा र अस्पष्ट रुपमा पाँच टुक्रा भएको छ । यसरी नेकपा टुक्रँदा कस्तो असर पर्यो ? भन्ने कुरा हालै सम्पन्न स्थानीयतहको निर्वाचनले समेत पुष्टि गरेको छ । नेकपा तीन टुक्रा नबनेको भए ८० प्रतिशत पालिकाहरूमा चुनाव जित्ने रहेछ भन्ने कुरा मत परिणामले स्पष्ट पारेको छ । तै पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जितेका पालिकाहरूको संख्या अहिले पनि ५० प्रतिशतभन्दा बढी छ ।
फुटेर चुनाव लड्दा पनि कम्युनिस्ट पार्टीहरूले ५० प्रतिशत भन्दा बढी स्थान जित्ने हैसियत राखेका छन् । एक भएर चुनाव लड्ने हो भने कम्युनिस्ट पार्टीलाई कसैले चुनौती दिन सक्ने अवस्था छैन । अझै पनि जनताले कम्युनिस्ट पार्टीहरूलाई ज्यादै विश्वास गरिरहेका छन् । तर नेताहरूको स्वार्थका कारण जनताको विश्वासमाथि पटकपटक घात भइरहेको छ । भर्खर सम्पन्न स्थानीय निर्वाचनको परिणामपछि तीन वटा ठूला कम्युनिस्ट पार्टीहरूलाई फेरी एक ठाउँमा उभ्याउने पहल भएको समाचार मिडियामा आएको छ । यो पहललाई सकारात्मक रूपमा लिनुपर्छ । तर नेताहरूको सत्ता स्वार्थका लागि एकताको आवश्यकता हो या देश र जनताको हितका लागि एकताको पहल गरिएको हो ? भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । हिजोको जस्तो निश्चित नेताको सत्ता स्वार्थका लागि एकताको पहल गरिएको हो भने यस्तो एकता झन् घातक हुन सक्छ । किनकी ०७५ सालमा भएको एकताले झण्डै झण्डै लोकतन्त्र नै डुबाउने गरी घातक परिणाम दिएको जनताले बिर्सेका छैनन् । अब एकता हुने हो भने नेतृत्व पनि बिल्कुल नयाँ हुनुपर्छ । वर्तमान नेतृत्वले एकीकरणको मर्म आत्मसात गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ ।
प्रतिक्रिया