द्वन्द्वकालमा दाङको हापुरेमा सरकारसँग वार्ता हुँदा माओवादीले मन्त्रीहरूलाई पोलेको मकैले स्वागत गरेका थिए । हापुरेको पोलेको मकैको स्वाद आफ्नो जिब्रामा गढेको प्रतिक्रिया वार्तामा सामेल मन्त्रीहरूले काठमाडौं फर्केपछि दिएका थिए । खासमा पोलेको मकै भनेको नेपालको यस्तो मौलिक परिकार हो । सबैभन्दा धनीहरूले पनि मीठो मानी मानी खान्छन् र सबैभन्दा गरिबको पहुँचमा पनि पर्छ पोलेको हरियो मकै । पोलेको हरियो मकैलाई त फलफूलको सूचीमासमेत राख्ने गरिएको छ । खाद्य तथा पोषणविज्ञहरूले पनि अरू अन्नको तुलनामा पोलेको हरियो मकैमा ११ गुणा बढी पौष्टिक तत्व हुने बताएका छन् । स्वादिलो मात्रै होइन, सस्तो र पौष्टिक तत्व पनि धेरै भएका कारण पोलेको हरियो मकै निकै लोकप्रिय छ ।
केही दशकअघिसम्म वर्षा सिजनमा मात्रै हरियो मकै उपलव्ध हुन्थ्यो । तर अहिले वर्षका ३ सय ६५ दिन नै हरियो मकै उपलव्ध हुन्छ । हरियो मकै पोलेर बेच्ने व्यवसाय सहरी क्षेत्रमा फस्टाउँदै गएको छ । यसबाट हजारौंको जीविकोपार्जन भइरहेको छ । मकै पोल्ने व्यवसायले समाजको तल्लो तप्कालाई रोजगारी दिएको छ । पहिलो कुरा त मकै पोल्न खासै ठूलो सीप चाहिएन । दोस्रो कुरा सटर भाडामा लिनु परेन । मकै पोल्ने व्यवसाय चल्ने भनेको खुला ठाउँमा हो । कोठाभित्र या सटरभित्र मकै पोल्न संभव हुँदैन । किनकी मकै पोल्न दाउराको आगो नै चाहिन्छ । भरभराउँदो कोइलामा पोलिएको मकै मात्रै स्वादिलो हुन्छ ।
मकै पोल्ने व्यवसायले तल्लो वर्गलाई दिएको आर्थिक टेवा सानो छैन । पहिलो कुरा त किसानले सुकेको मकैभन्दा हरियो मकै बेच्दा दोब्बर मूल्य पाउँछन् । बोटबाटै हरियो मकै बेच्न पाएपछि किसानलाई भण्डारणको झन्झट भएन । दोस्रो कुरा अन्य बस्तु ढुवानीभन्दा हरियो मकै ढुवानी सहज छ । ढुवानीकर्ता तथा थोक व्यापारीमा संलग्नहरूले सहज रोजगारी पाएका छन् । तेस्रो कुरा सहरमा मकै पोलेर बेच्नेहरूले पनि राम्रो मुनाफा पाएका छन् । जसरी एउटा घोगा मकैलाई १० रुपैयाँमा बेच्न पाउँदा किसान खुसी भएका छन्, त्यसरी नै एउटा घोगा पोलेको मकैलाई २५ रुपैंयामा किनेर खान पाउँदा सहरी क्षेत्रका उपभोक्ताहरू पनि खुसी छन् । अरू खाजा खाँदा एक सय रुपैयाँ नभई छेउ पनि हुँदैन, तर २५ रुपैयाँको एउटा घोगा मकैले पेट भरिने भयो । एकातिर सहरको पैसा गाउँमा प्रवाह हुने, अर्कातिर सहरी क्षेत्रका उपभोक्तालाई ज्यादै सस्तो पर्ने, त्यसैगरी केहीले रोजगारी पनि पाउने भएका कारण पोलेको मकैको अर्थतन्त्र नेपालमा फष्टाउन थालेको छ ।
तर पोलेको मकैको व्यवसायलाई स्थिर र दीर्घकालीन बनाउन चुनौती भने खडा भएको छ । किनकी हरियो मकै पोलेर बिक्री गर्न खुला ठाउ“मा मात्रै संभव छ । सटरभित्र संभव छैन । दाउरा नै बाल्नुपर्छ । बिजुली तथा ग्यास लगायतका अरू इन्धनमा संभव छैन । त्यसैले सहरी क्षेत्रका सडक, फुटपाथ तथा खुल्ला ठाउँहरू मकै पोलेर बेच्नेहरूले फोहर बनाए भन्ने गुनासो रहँदै आएको छ । काठमाडौं महानगरपालिकाले बेलाबेलामा मकै पोल्नेहरूलाई लखेट्ने गरेको छ । गत शुक्रबार भएको यस्तै घटनाले ठूलो बहस सिर्जना गरेको छ । काठमाडौंमा हुने गरेको फोहोरमध्ये मकै पोल्नेहरूको हिस्सा कति छ ? भन्ने अनुसन्धान हुन भने बाँकी छ । काठमाडौंका फुटपाथ ओगट्नेमध्ये मकै पोल्नेहरूको हिस्सा कति छ ? भन्ने अनुसन्धान हुन बाँकी छ । यदि काठमाडौं सहर फोहोर हुनुमा मकै पोल्नेहरूको हिस्सा सबैभन्दा बढी छ भने, काठमाडौं महानगरपालिकाद्वारा गत शुक्रबार भएको घटनाको विरोध गर्नु मनासिव हुँदैन । तर सरसर्ती हेर्दा त्यस्तो देखिँदैन । मकै पोल्नेहरूले भन्दा गाडी तथा मोटरसाइकल पार्किङ गर्नेहरूले बढी फुटपाथ ओगटेको नांगो आँखाले हेर्दा पनि देखिन्छ ।
मकै पोल्नेहरूले भन्दा निर्माण सामग्रीका व्यापारीहरू तथा अन्य खुद्रे तथा व्यापारीहरूले बढी फुटपाथ ओगटेको देखिन्छ । हात हेराउने नाममा फुटपाथ ओगटेर बसेका भारतीय ठगलाई देखेको नदेखै गर्ने तर मकै पोल्नेहरूलाई खेदीखेदी कुट्ने जुन प्रवृत्ति काठमाडौं महानगरपालिकाले देखाएको छ, त्यसको त जति निन्दा गरे पनि पुग्दैन । फुटपाथको अवरोध हटाउनै पर्छ, तर यसको सुरुआत मकै पोल्नेहरूबाट गर्ने कि ? ठग्नका लागि फुटपाथ ओगटेकाहरूबाट गर्ने ? यति सुझबुझ त काठमाडौं महानगरपालिकाले राख्नै पर्छ ।
प्रतिक्रिया