रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा

झापा । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

शुक्रबार आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।

राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा भएको एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिए ।

खेलकुदको हबका रुपमा रहेको झापामा आयोजना हुने यो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा हुनेछ भने राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ ।

प्रतियोगिताका लागि आवश्यक पर्ने खेलस्थल, प्राविधिक पक्ष, व्यवस्थापन लगायतका तयारीहरु पूरा भएको संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन् । उनका अनुसार प्रतियागितामा २१ जना खेलाडीले सहभागिता जनाउने छन् ।

विभिन्न छवटा विधामा खेलाडीलाई पुरस्कृत प्रतियोगितामा पूर्वी नेपालमा पहिलोपटक हुन लागेको हो । प्रतियोगिताका लागि १६ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने महासचिव लाखेले बताए ।

प्रतिक्रिया