सहकारी संस्थाद्वारा कृषकहरुलाई कृषि सामग्री वितरण

दोलखा । जिल्लाको मेलुङ गाउँपालिका– ६ मा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ । उक्त संस्थाले कृषकहरुलाई हाते ट्याक्टर, स्प्रे मेसिन, पाइपलगायत विभिन्न कृषि सामग्री वितरण गरेको हो ।

संस्थाले आलु विस्तार कार्यक्रमअन्तर्गत १ सयभन्दा बढी व्यक्तिलाई बिउ, सामुहिक प्रयोग हुने गरि १८ वटा हाते ट्याक्टर, ८० जना कृषकहरुले विषादी प्रयोग गर्ने १५ वटा स्प्रे मेसिन, सिँचाइको लागि २ हजार मिटर पाइप वितरण गरिएको संस्थाका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।

यसै वर्ष संस्थाको पहलमा सितली मेलुङ सडक मर्मत भइरहेको र जोगिगाउँ खानेपानी आयोजना सम्पन्न भएको अध्यक्ष पोखरेलले बताए । संस्थाले पुरै अनुदानमा युवा किसानलाई मिल थ्रेसर सामान वितरण गरेको अध्यक्षको भनाइ छ।

केही महिना अगाडि संस्थाले मेलुङमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मेलुङमा विशेष बजेट बिनियोजन गर्ने आश्वासन दिएका थिए । सोहीअनुसार गाउँपालिकामा प्रदेशबाट १२ भन्दा बढी योजनामा बजेट बिनियोजन भएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया