सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सकियो

धनगढी । सुदूरपश्चिम प्रदेशमा करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय दिपायलका अनुसार मध्ये असारसम्म प्रदेशमा ४५ प्रतिशत मात्रै रोपाइँ भएको हो ।

गत वर्ष यो अवधिमा सुदूरपश्चिमभर ५५ भन्दा बढी रोपाइँ भइसकेको थियो । कुल १ लाख ७८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान लगाउने गरेकोमा प्रदेशमा हालसम्म ७६ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ टेकेन्द्रसिंह ऐरले जानकारी दिए ।

वर्षा ढिलो गरी सुरु भएका कारण रोपाइँमा ढिलाइ भएको उनले बताए । कृषि विकास निर्देशनालयकाका अनुसार कैलालीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६७ हजार हेक्टर रहेकोमा २३ हजार ६ सय हेक्टरमा,कञ्चनपुरमा ४८ हजार हेक्टरमध्ये १९ हजार हेक्टरमा र बैतडीमा ९ हजार हेक्टरमध्ये ७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी डोटीमा ६ हजार हेक्टरमध्ये १ हजार ६ सय हेक्टरमा, डडेल्धुरामा ६ हजार हेक्टरमध्ये ४ हजार हेक्टरमा, अछाममा १६ हजार ५ सय हेक्टरमध्ये ९ हजार ९ सय हेक्टरमा, बाजुरामा ६ हजार ९ सय हेक्टरमध्ये २ हजार ४ सय हेक्टरमा रोपाइँ सम्पन्न निर्देशनालयको तथ्यांक छ ।

त्यस्तै बझाङमा १२ हजार ७ सय हेक्टरमध्ये ६ हजार ३ सय हेक्टरमा र दार्चलामा ४ हजार ४ सय हेक्टरमध्ये १ हजार ७ सय हेक्टरमा रोपाइँ सम्पन्न भएको जनाइएको छ ।

कैलालीमा ३५, कञ्चनपुरमा ४०, बैतडीमा सबैभन्दा बढी ८०, डोटीमा सबैभन्दा कम २५ र डडेल्धुरामा ७० प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी अछाममा ६०,बाजुरामा ३५,बझाङमा ५० र दार्चलामा ४० प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

प्रतिक्रिया